राप्ती स्वास्थ्य प्रतिष्ठानमा ‘टकराव’

मेसु र उपकुलपतिबीच शक्ति अभ्यास समस्या
दुर्गालाल केसी

दाङ — राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले गति लिन सकेको छैन । प्रतिष्ठानका पदाधिकारी र राप्ती उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) बीच जिम्मेवारीका विषयमा स्पष्टता नहुँदा समस्या भएको छ । प्रतिष्ठानका उपकुलपति प्राडा. संगीता भण्डारी र निमित्त मेसु डा. जनार्दन पन्थीबीच समन्वय नहुँदा काममा समस्या आएको हो ।

राप्ती स्वास्थ्य प्रतिष्ठानमा ‘टकराव’

यी दुईबीच समन्वय नभएकाले अस्पताल व्यवस्थापन समिति कार्यालय रहेको भवनमा प्रतिष्ठानको साइनबोर्ड टाँस्नेबाहेक अरू केही भएको छैन । एउटै भवनमा २ बोर्ड झुन्ड्याइए पनि आपसी विवादले दुवैले काम गर्न सकेका छैनन् । प्रतिष्ठान पदाधिकारीले ऐन अनुसार अस्पताल प्रतिष्ठानमा गाभिने बताइरहेका छन् । मेसुले भने आधिकारिक पत्र नआएसम्म अस्पताल हस्तान्तरण नगर्ने बताए । दुवै पक्षबीच शक्ति अभ्यासको विवादले द्वन्द्व अरू बढ्दै गएको छ ।


प्रतिष्ठान पदाधिकारीले उपक्षेत्रीय अस्पताल प्रतिष्ठानको मातहतमा आइसकेको भन्दै अबका काम आफूहरूले गर्नुपर्ने दाबी गरे । मेसु प्रतिष्ठानमा हस्तान्तरण भइनसकेकाले अस्पताल आफ्नै नेतृत्वमा चल्नुपर्ने अडानमा छन् ।


उपकुलपति भण्डारी प्रतिष्ठान ऐन जारी भइसकेकाले विकास समिति खारेज भएको र अस्पताल पनि प्रतिष्ठान मातहतमा आइसकेको बताउँछिन् । ‘प्रतिष्ठानको ऐन अनुसार काम अघि बढाउन पाउनुपर्ने हो तर अस्पतालबाट विवाद निकालिएको छ,’ उनले भनिन्, ‘मेसुले हस्तान्तरण गर्न मन्त्रालयबाट छुट्टै पत्र चाहिने बताउनुभएको छ । अहिले नयाँ मन्त्रीले जिम्मेवारी बहन गरिनसकेका कारण केही काम हुन सकेको छैन ।’ प्रतिष्ठान उद्घाटनपछि भने उनी काठमाडाैं गएकी छन् ।


मन्त्रालयमा काम हुन नसक्दा प्रतिष्ठानको काम अन्योल भइरहेको उनले बताइन् । ‘मन्त्रालयमा अझै काम सुरु हुन सकेको छैन । मन्त्रालयबाट बजेट निकासा र जिम्मेवारी विषयमा प्रष्ट निर्णय नहुँदासम्म काम अघि बढाउन समस्या छ,’ उनले भनिन्, ‘हामीले अन्य प्रशासनिक कामको तयारी गरिरहेका छौं । अब छिटै अघि बढाउँछौं ।’


जग्गा खोज्ने, भवन भाडामा लिने, विशेषज्ञ चिकित्सक र नर्सको विज्ञापन तयारी भइरहेको उनले जनाइन् । ‘जिम्मेवारी अनुसार काम भइरहेको छ । अब अस्पतालको सेवा सुविधा विस्तार हुनेगरी काम गर्दैछौं । मृगौला डायलासिसको नयाँ मेसिनसमेत ल्याउने तयारी छ,’ उनले भनिन्, ‘सिटी स्क्यान निजी क्षेत्रबाट भइरहेको छ । अब छिटै अस्पतालमै हुन्छ । प्रयोगशालाको स्तरवृद्धि पनि हुँदैछ ।’ प्रतिष्ठान भएसँगै जनताले सेवा सुविधा कसरी बढी पाउन सक्छन् भन्नेमा आफू चिन्तित रहेको भण्डारीको भनाइ छ ।


मेसु पन्थीले भने प्रतिष्ठान मातहतमा अस्पताल जाने भनिए पनि औपचारिक रूपमा हस्तान्तरण नभएकाले समस्या भएको बताए । ‘हस्तान्तरण भए म जिम्मेवारी छाड्न तयार छु । उपकुलपतिले चिठी लिएर आएपछि जिम्मेवारीमा एक दिन पनि बस्दिनँ,’ उनले भने, ‘प्रतिष्ठानको नियमावली बनाउँदा सबैको राय लिइएको छैन । यहाँका कर्मचारी व्यवस्थापनबारे केही स्पष्टता छैन ।’


उपक्षेत्रीय अस्पतालले आईसीयू र एनआईसीयू सञ्चालनका लागि स्टाफ नर्स भर्ना गर्न थालेपछि विवाद भएको छ । पदाधिकारीले प्रतिष्ठान गठन भइसकेकाले आईसीयू र एनआईसीयू सञ्चालन आफूहरूले गर्ने र सोही अनुरूप कर्मचारी व्यवस्थापन पनि आफंैले गर्ने बताएका छन् । मेसुले भने प्रतिष्ठान गठन हुनुभन्दा अघिकै निर्णय भएकाले आफूहरूले राख्न पाउनुपर्ने माग गरेका छन् । गत कात्तिक २९ मा बसेको विकास समिति बैठकले आईसीयू र एनआईसीयू सञ्चालनका लागि १० जना स्टाफ नर्स करारमा लिने निर्णय गरेको थियो ।


गत मंसिर २६ गतेको मन्त्रिपरिषद् बैठकबाट उपकुलपतिको नियुक्ति भएको हो । पुस २ गते उपकुलपति डा. भण्डारी दाङ आएकी थिइन् । माघ २२ गते काठमाडौंमा प्रतिष्ठानको सभा बसेको थियो । प्रतिष्ठानले माघ २२ पछिका निर्णय आफूहरूले कार्यान्वयन गर्नेगरी अधिकार पाएको जनाएको छ । प्रतिष्ठान सञ्चालन जिम्मेवारी पाएका पदाधिकारीलाई अझै बसोबासको व्यवस्था हुन सकेको छैन । पदाधिकारी घोराही आउँदा होटलमै बस्छन् । प्रतिष्ठानमा शिक्षाध्यक्ष डा. रतीन्द्रनाथ श्रेष्ठ, रजिस्ट्रार रामप्रसाद प्याकुरेल र डिन डा. ऋतु बराल नियुक्त भएका छन् ।


प्रतिष्ठानका लागि करिब ५ सय बिघा जग्गा आवश्यक पर्ने भएको छ । साढे ७ सय बेडको अस्पताल र ४ सयभन्दा बढी स्वास्थ्यकर्मी प्रतिष्ठानका लागि आवश्यक पर्छन् ।

प्रकाशित : फाल्गुन २४, २०७४ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?