२० वर्षे गुरुयोजना बनाइँदै

योजनाका मूल्य मान्यता र भू–उपयोगका आधारमा गाउँपालिकाको समग्र विकासका लागि कार्यक्रम बनाइने
हरि गौतम

रुकुम पूर्व — भूमे गाउँपालिकाले २० वर्षे गुरुयोजना निर्माण थालेको छ । गाउँपालिकाको समग्र विकासका लागि भन्दै एकीकृत गुरुयोजना बनाउन लागेको हो । कन्सल्टेन्सीमार्फत गुरुयोजना निर्माण थालेको गाउँपालिकाले एक साताको कार्यशाला गोष्ठीसमेत गरेको छ । उक्त कार्यक्रमबाट गुरुयोजनाका दुई मान्यता किटान गरिएको छ । 

२० वर्षे गुरुयोजना बनाइँदै

योजनाका मूल्य मान्यता र भू–उपयोगको मूल्य मान्यताका आधारमा गाउँपालिकाको समग्र विकासका लागि कार्यक्रम बनाइने अध्यक्ष रामसुर बुढामगरले बताए । उनका अनुसार योजनाका मूल्य मान्यतामा समावेशिता, सहभागितामूलक, समन्वयात्मकता, समता, नागरिक सक्रियता, स्थानीय उत्पादन, सहकारीमार्फत बजारको विकास, भौतिक पूर्वाधार अन्तर्गत उत्पादन, बजार, पर्यटन, विशेष क्षेत्र र जनघनत्व छन् । यसैगरी युवा उद्यम, स्वरोजगार, प्राकृतिक स्रोत संरक्षण, बाँझो र सार्वजनिक जग्गा उपयोग, कृषियोग्य जमिनलाई गैरकृषियोग्य बन्न नदिने, सरकारी सेवा जनमैत्री र सेवामुखी, श्रमको सम्मान गर्ने मान्यतालगायतका आधारमा योजना बनाइनेछ ।

त्यस्तै चरन क्षेत्रको संरक्षण, भौतिक पूर्वाधार निर्माणमा वन र कृषियोग्य भूमिको प्रयोग, बाँझो जग्गाको उपयोग, साना सहर व्यवस्थित बस्ती, एकीकृत बस्ती, स्मार्ट भिलेज, जनजाति बस्ती निर्माण गर्ने, औद्योगिक क्षेत्र बनाउने, स्थानीय विशेषता अनुसार भूमिको प्रयोग गर्ने मान्यताका आधारमा भू–उपयोग गर्नेगरी योजना बन्दै गरेको अध्यक्ष बुढाले बताए ।

मुख्य रूपमा दुई मूल्य मान्यता तय गरेर गुरुयोजना निर्माण थालेको गाउँपालिकाले सोही मान्यताका आधारमा आगामी कार्यक्रम तथा बजेट विनियोजन गर्नेछ । यी मान्यताका साथै ५ वर्षभित्र विभिन्न विषय तथा क्षेत्रमा ५ सय युवालाई रोजगारी दिने उल्लेख गरिएको छ । शिक्षा, स्वास्थ्य, कम्प्युटर, कृषि, सिकर्मी, डकर्मी गरी ५ वर्षे अवधिमा हरेक वर्ष एक सय युवालाई रोजगारीमा लगाइने उल्लेख गरिएको छ । गाउँपालिकालाई आवश्यक जनशक्ति गाउँपालिकामै तयार पार्ने अवधारणा अन्तर्गत यो योजना बनाइएको अध्यक्ष बुढाले बताए । पर्यटनसँग जोड्ने गरी १० हजार भेडा रहेको भेडाफार्म सञ्चालन गर्ने अर्को योजना पनि गाउँपालिकाले बनाएको छ । सरकारी अनुदान दिएर २० परिवारलाई १० हजार भेडा रहेको फार्म सञ्चालन गर्न लगाइने छ । जसबाट आम्दानीका साथै पर्यटन प्रवद्र्धन हुने अपेक्षा राखिएको छ । पर्यटनमार्फत आम्दानी बढाउने तथा प्रचारप्रसार गर्ने गरी गणतन्त्र संग्रहालय, युद्धकालमा सञ्चालित जनवादी स्कुल र पटक–पटक माओवादी लडाकु र प्रहरी–नेपाली सेनाबीच भिडन्त भएको महत जोड्न वार रुट निर्माण गरिनेछ ।

यसैगरी लुकुमखोला र चुनबाङ खोलामा गरी एक मेगावाट क्षमताको विद्युत् उत्पादन तयारीस्वरूप सम्भाव्यता अध्ययन गरिनेछ । गाउँपालिका र स्थानीयको लगानीमा उक्त विद्युत् उत्पादन अघि बढाउने गरी पनि गुरुयोजना बन्दै छ । थबाङखोलामा बहुउपयोगी कृत्रिम जलाशय बनाइनेछ । त्यसबाट विद्युत् उत्पादन, माछापालन र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ । यसका लागि प्रदेश ५ र संघीय सरकारलाई बजेट व्यवस्था गरिदिन माग गर्ने अध्यक्ष बुढाले बताए । ५ वर्षसम्म सबै क्षेत्रमा सजिलै काम गर्न यो गुरुयोजनाको भूमिका हुने उनले दाबी गरे । ‘२० वर्षसम्मको मोटामोटी र ५ वर्षको कंक्रिट इन्टिग्रेटेड मास्टर प्लान हो,’ बुढाले भने, ‘यसबाट हरेक कामकाज सजिलै हुने विश्वास छ ।’ गुरुयोजना एक महिनाभित्र पूरा हुने जनाइएको छ । पहिलो चरणको छलफल र सुझावपछि कन्सल्टेन्सी पीपलबोट रिसर्च प्रालि काठमाडौंले त्यसलाई विस्तृतीकरण गरिरहेको छ । कन्सल्टेन्सीले गरेको ड्राफ्टलाई फेरि अर्को कार्यशालाबाट अन्तिम रूप दिइनेछ । एकीकृत गुरुयोजना निर्माणमा सघाएबापत गाउँपालिकाले पीपलबोट रिसर्च प्रालिलाई १३ लाख रुपैयाँ दिने सम्झौता भएको छ ।

प्रकाशित : फाल्गुन २६, २०७४ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?