२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

बालिका जोगाउनै मुश्किल

बलात्कार र हिंसा थामिएन
अमृता अनमोल, मनोज पौडेल

बुटवल — कपिलवस्तु नगरपालिका ५ की ५ वर्षीया गत मंगलवार जबरजस्ती करणीको सिकार बनिन् । उनी बिद्यालय जाने क्रममा बलात्कृत भएकी हुन् । उनलाई आफूमाथि भएको अत्याचार पत्तै भएन ।

बालिका जोगाउनै मुश्किल

करणीपछि विद्यालय पुगिन् । कक्षामा पुगेपछि गुत्ताङगबाट रगत बगेको देखेर घटना खुल्यो ।


शिक्षिकाले प्रहरीलाई खबर गर्दासम्म आरोपी भागिसकेका थिए ।


प्रहरीले मायादेवी गाउँपालिका बलुहवाका ३० वर्षीय रामप्रसाद चमारलाई संलग्न आरोपमा पक्राउ गरेको छ । बिहान नहरछेउ करणी गरेको उनीमाथि आरोप छ । बालिकाका हजुरबुवाका अनुसार गाउँका ६ बालबालिका पढ्न खेत हुँदै गइरहेका थिए । ‘रामप्रसादले नातिनीलाई ललाई(फकाई गरे,’ उनले भने, ‘नहरको छेउ झाडीमा जबरजस्ती गरेर फरार भए ।’


एक महिनाअघि खेतमा घाँस काटन गएकी रुपन्देही कोटहीमाई ३ की १२ वर्षीया बालिका घर फर्किनन् । खोजी गर्दै गएका परिवारका सदस्यले उनको शव खेतको आलीमा फेला पारे । घटना अनुसन्धान गरिरहेको प्रहरी बालिकाको बलात्कारपछि हत्या भएको निष्कर्षमा पुग्यो ।


हत्या आरोपमा प्रहरीले गाउँकै २१ वर्षीया सन्दीपकुमार धोबीलाई पक्राउ गर्‍यो । आरोपीले बालिका एक्लै देखेपछि आवेशमा आएर करणी गरेको र पोल खुल्ने डरले हत्या गरेको स्वीकार गरेको प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए । प्रहरीले अनुसन्धान प्रक्रिया पूरा गरी जिल्ला सरकारी वकिल कार्यालयमा रायसहित मिसिल पेस गरेको छ ।


साताअघि कपिलवस्तु १० कटुवाकी ७ वर्षीयामाथि करणी प्रयास भयो । गाउँकै ७५ वर्षीयाले त्यस्तो प्रयास गरेका हुन् । ती वृद्धले चकलेट दिएर फकाउँदै घर लगेका थिए । गोठमा कपडा खोलेर शारीरिक सम्बन्ध राख्न लाग्दा एउटा केटाले देखेपछि होहल्ला भएको थियो । त्यसपछि वृद्धा फरार भए ।


साँझ गाउँलेले उनलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाए । यी घटनाका अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार बालिका र किशोरी सजिलै प्रलोभनमा पर्ने र धम्क्याउन सजिलो हुने, प्रतिकार गर्न नसक्ने र यौन हिंसाको हाउभाउ नबुझ्ने भएकाले जबरजस्ती भइरहेको छ । बाहिरी वातावरणमा घुलमिल नभएका र विद्यालय नजाने बालिका निशानामा पर्ने गरेका छन् ।


अभिभावकले छोरीमाथि हुने करणीलाई इज्जतसँग जोड्ने र भविष्यमा बिहेवारी गर्न समस्या हुने डरले लुकाउँदा अपराधीको मनोबल बढेको छ । जिल्ला प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्र प्रमुख लक्ष्मण विक सूचना प्रविधिको गलत प्रयोगले बलात्कारका घटना बढी भएको बताउँछन् ।


इन्टरनेटबाट अश्लील भिडियो हेर्ने र रातिसम्म बाहिर बस्ने तथा मादक पदार्थ सेवन गर्ने व्यक्ति बलात्कारमा बढी संलग्न रहेको उनले जनाए । जाडोभन्दा गर्मी समयमा घटना बढी हुने गर्छ । ‘यस्ता घटनामा धेरैजसो आफन्त र छिमेकी पीडक हुन्छन्,’ उनले भने,‘ ‘उनीहरूले अपराधको प्रमाण लुकाउन पीडितलाई फकाउने र धम्क्याउनेदेखि साक्षीलाई बयान फेर्न लगाउनेसम्मका हत्कण्डा प्रयोग गर्छन् ।’


विज्ञहरू सामाजिक संरचना र व्यक्ति विशेषमा बढ्दो मानसिक विकृतिले घटना बढेको मान्छन् । आफूले गरेका कर्मको असर र नतिजाबारे मान्छेले ध्यान नदिँदा बलात्कार र हिंसाका घटना बढेको मनोविज्ञानका प्राध्यापक तारा भट्टराईले बताए ।


उनका अनुसार मानसिक विकृति हटाउने सामाजिक अभियान वा जागरण ल्याउन सके यस्ता घटना स्वत: कम हुने उनको भनाइ छ । पश्चिमा छाडा र नांगो संस्कृतिको आक्रामक प्रभावले यौन उत्तेजना बढ्ने र बलात्कारका घटना निम्त्याउने गरेको विश्लेषक अर्जुन ज्ञवाली बताउँछन् । ‘खानपिन, उत्तेजक पहिरन, रेस्टुरेन्ट र बारको संस्कृतिले आफूलाई नियन्त्रणमा राख्न नसक्दा समस्या बढ्दैछ,’ उनले भने ।


रुपन्देही प्रहरीको तथ्यांकअनुसार चालू वर्षको माघ मसान्तसम्म ३३ जनाले करणीविरुद्ध उजुरी दिएका छन् । त्यसमध्ये ९ यौन दुव्र्यवहारका हुन् । उजुरी दिनेमध्ये धेरै किशोरी छन् । गत वर्ष ७३ ले बलात्कारविरुद्ध उजुरी दर्ता गराएका थिए । त्यसमध्ये ३१ यौन दुव्र्यवहारका थिए । कपिलवस्तुमा चालू आवको फागुन १५ सम्म ७ जबर्जस्ती करणी र १० करणी उद्योगको मुद्दा दर्ता भएको प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : फाल्गुन २६, २०७४ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?