३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

छाना फेर्ने अभियान

गाउँपालिका कार्यालयबाट प्राप्त २० वटा जस्तापाताले राहत
कान्तिपुर संवाददाता

पाल्पा — स्थानीय तहले छिटो लोकप्रिय हुने कार्यक्रमलाई निरन्तरता दिएका छन् । जिल्लास्थित विभिन्न गाउँ र नगरपालिकाले खरका छाना हटाउने लोकप्रिय निर्णयलाई लागू गरिरहेका छन् ।

छाना फेर्ने अभियान

रामपुर नगरपालिका, माथागढी, बगनासकाली, रैनादेवीछहरामा यो अभियानले तीव्रता लिएको छ । खरको छानारहित घर निर्माणअन्तर्गत बगनासकाली गाउँपालिकाले अति विपन्न परिवारलाई जस्तापाता वितरण गरेको हो । गाउँपालिकाका १ देखि ९ वडासम्मका ५५ परिवारलाई जस्तापाता वितरण गरिएको प्रवक्ता लक्ष्मीप्रसाद अधिकारीले बताए । प्रतिपरिवार ३ बण्डल जस्तापाता बाडिएको हो । बाँकी केही वडाका घरलाई आगामी वर्ष क्रमश: वितरण गरेर आगामी वर्ष सिंगो गाउँपालिकालाई खरको छानारहित बनाउने योजना अधिकारीले सुनाए । अध्यक्ष कृष्णप्रसाद बस्याल, उपाध्यक्ष सरस्वती चिदी मगर, वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अर्याललगायतले विपन्न परिवारलाई जस्तापाता हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष बस्यालले खरका छाना भएका घरमा आगलागी, दैवीप्रकोपलगायत सम्भावना बढी हुने भएकाले यस प्रकारको अभियान चलाएको बताए । उता रामपुर र माथागढीले पनि खरिद प्रक्रिया अघि बढाएको जनाएको छ । रैनादेवी छहरा, ७ बल्ढेङगढी मौलाडाँडाका ओमबहादुर खड्काले नयाँ घर बनाए । उनले बनाएको घरलाई जस्तापाता वडा कार्यालयले सहयोग गरेको छ । घर बनाउँदै गरेकालाई भने २१ हजार बराबरको टिन पाउँदा धेरै राहत भयो । गाउँपालिकाले गरेको निर्णयले धेरै विपन्न र आर्थिक अवस्था कमजोर भएका खुसी छन् । गाउँपालिकाले पहिलो निर्णय नै खरका छाना भएका घरलाई अनुदान दिने निर्णय गरेको थियो । पुरानो शैलीमा निर्माण गरिएका खरका छाना बर्सेनी छाउनुपर्ने झन्झट रहेकाले पहिलो निर्णय गरिएको रैनादेवी छहरा ७ बल्ढेङ्गढीका अध्यक्ष देवेन्द्र पुन मगरले बताए ।

उनका अनुसार खरको छाना विस्थापन गर्ने लक्ष्यसाथ सबै वडाध्यक्षको उपस्थितिमा भएको निर्णय कार्यान्वयन भएको हो । गाउँपालिकाले उपभोक्ता समितिमार्फत् खरिद गरेर प्रत्येक वडामा जस्तापाता पुर्‍याइसकेको छ । गाउँपालिकाका अनुसार प्रतिपरिवारले साढे दुई बन्डल अर्थात् २० पाताका दरले पाउने गरी पठाइएको उपभोक्ता समिति अध्यक्ष दानबहादुर पौडेलले बताए । गाउँपालिकाको निर्णय कार्यान्वयनका लागि तीब्रतासाथ काम अघि बढाएको छ । ‘वडाले छनोट गरेको नामको आधारमा आफैं व्यवस्थापन गर्नेछन्,’ गाउँपालिका प्रुमख प्रशासकीय अधिकृत ठानेश्वर पराजुलीले भने, ‘यसले खरका छाना विस्थापन गरेर नयाँ घर बनाउनेलाई ठूलो राहत पुग्ने छ ।’

प्रकाशित : फाल्गुन २८, २०७४ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?