२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

व्यवहारिक रुपमा संघीयता अझै कार्यान्वयनमा आएन : मुख्यमन्त्री पोखरेल

अमृता अनमोल

बुटवल — प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले वैधानिक रुपमा संघीयता आएपनि व्यवहारिक कार्यान्वयनमा अझै नआएको बताएका छन् । 

व्यवहारिक रुपमा संघीयता अझै कार्यान्वयनमा आएन : मुख्यमन्त्री पोखरेल

सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कर्मचारी समायोजन भएर केन्द्रबाट सञ्चालन भएका सरकारी निकाय प्रदेश र स्थानीय तहमा आएर उनीहरुको जिम्मेवारी रुपान्तरण नगर्दासम्म संघीयता कार्यान्वयनमा ल्याउन अफ्ठेरो रहेको बताए ।


संघले शक्ति हस्तान्तरण गरेर सेवा प्रवाहकालागि संरचना तयार नगर्दासम्म प्रदेश सरकारले ठोस काम अगाडि बढाउन समेत नसक्ने मुख्यमन्त्री पोखरेलको भनाइ थियो ।


मुख्यमन्त्री पोखरेलले पूर्वाधार बिना संघीय संरचनामा गएकाले पनि प्रदेश सरकारलाई आफ्नो सेवा प्रवाह सुरु गर्न अफ्ठेरो परेको गुनासो गरे । मन्त्रालयसंगै रहने निर्देशनालय त्यस अन्तरगतका विभाग र डिभिजनकालागि अझै पनि स्थान र कर्मचारीकै अभाव रहेको र संघसँग अनुरोध गर्नुपरेको उनको दुखेसो थियो ।


‘भौतिक पूर्वाधार जुटाउने जिम्मा स्थानीय प्रशासनलाई दिएको थियो । सिडीयो कार्यालयले प्रारम्भीक ठाउँ बताइ दिएर काम भयो भनेर बसेको छ,’ उनले भने, ‘तर हामीलाई ठाउँ नै पुगेको छैन ।’


सरकार विस्तारमा ढिलाई गरेको प्रसंगमा मुख्यमन्त्री पोखरेलले उपयुक्त भौतिक पूर्वाधार नहुँदासम्म सानो मन्त्रिपरिषदबाटै काम गर्ने बताए । फागुन ३ मा ३ सदस्यीय मन्त्रिपरिषद गठन भएको प्रदेश ५ मा अझै सरकारले पूर्णता पाउन सकेको छैन ।


एमाले र माओवादीसंगै संघीय समाजवादी फोरम र राष्ट्रिय जनमोर्चाको समेत विश्वास पाएका पोखरेलले विश्वासको मत पाएका सबै दलसितको छलफल र समन्वयपछि उपयुक्त पूर्वाधार व्यवस्थापन गरेर मात्रै सरकार विस्तार गर्ने बताए ।


प्रकाशित : फाल्गुन २८, २०७४ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?