नथिया उपन्यासमाथि चर्चा

कान्तिपुर संवाददाता

दाङ — सरस्वती प्रतीक्षाको उपन्यास ‘नथिया’ माथि सोमबार घोराहीमा चर्चा भएको छ । बादी समुदायका महिलामाथि लेखिएको उपन्यासमा बादी समुदायसँग बहस भएको हो । उनीहरूले आफ्नो समुदायको बदनाम हुनेगरी उपन्यास लेखिएको गुनासो गरे ।

‘उपन्यासमा लेखिएका कुराले हामीलाई समाजमा हेर्ने दृष्टिकोण के हुन्छ ? बादी समुदायका महिलामा अहिले धेरै परिवर्तन आइसकेको छ । समय बदलिइसकेको छ,’ तुलसीपुरकी निर्मला गुप्ता बादीले भनिन्, ‘यसले हामीलाई झनै लज्जित हुने बनाएको छ । अहिलेका बादीलाई यसले समेट्न सकेन ।’

उपन्यासले बादी महिला देहव्यापारी भएको सन्देश दिने भएकाले आफूहरूलाई समाजमा झनै अपमानबोध हुनसक्ने उनको गुनासो थियो । ‘अहिले बादी समुदायका महिला देहव्यापारमा छैनन् । बरु अरू समुदायका व्यावसायिक रूपमा यो पेसामा छन्,’ उनले भनिन्, ‘यो समुदायका महिला अहिले अन्य सिर्जनशील काममा लागिसकेका छन् । दुर्भाग्य, यसलाई चाहिँ उपन्यासमा समेटिएन ।’

बादी अधिकारकर्मी निर्मल बादीले उपन्यासमा बादी पुरुषलाई खराब र असहाय पात्रका रूपमा प्रस्तुत गरिएको बताए । ‘बादी समुदायका पुरुष नपुंसक हुन् भन्ने खालको सन्देश दिइएको छ । पुरुषलाई साह्रै राक्षसीकरण गरिएको छ । हामी त्यस्तो अवस्थामा पनि थिएनौं,’

उनले भने, ‘महिलालाई मात्रै सबथोक मानेर लेखिएको छ । पुरुषको भूमिकालाई निकै गौण बनाइयो ।’ अहिले वादी समुदायमा हक अधिकारका लागि भएका आन्दोलन र परिवर्तनलाई पनि उपन्यासमा समेट्न सकिएको भए राम्रो हुने उनको सुझाव थियो ।

युवा कवि नवीन अभिलाषीले उपन्यासमा प्रयोग भएको भाषा र परिवेशबीच तालमेल नमिलेको बताए । ‘उपन्यासमा सुदूरपश्चिमतिर बोलिने भाषा प्रयोग गरिएको छ जुन दाङमा बोलिँदैन । परिवेश दाङकै छ तर निश्चित ठाउँमा पुग्न लाग्नेभन्दा बढी समय लागेजस्ता कुरा लेखिएका छन्,’ उनले भने, ‘कतिपय पात्र र कथावस्तु बढी काल्पनिक छन् ।’

लेखक प्रतीक्षाले सबै कथा बादी समुदायका पाका महिलासँग लामो कुरा गरेर लेखिएको र यसमा उनीहरूकै पीडा ओकलिएको बताइन् । ०४५ सालअघिका कथा उपन्यासमा समेटिएको उनले स्पष्ट गरिन् । ‘मैले कुनै समयका बादी महिलाले भोगेका कथा लेखेकी छु । अधिकांश विषयमा पात्रसँग कुरा गरेर रेकर्ड सुन्दै लेख्दै गरेकी छु,’ उनले भनिन्, ‘कमसेकम बादी महिलाको कथामाथि बहस हुन थालेको छ । मैले महिलाको लुकेको पीडा समाजमा छर्लंग पार्न खोजेकी हुँ ।’

उपन्यासमा लेखिएका भाषा पात्रका वास्तविक भाषा नै रहेको उनले दाबी गरिन् । दाङ र बर्दियाको राजापुरमा पुगेर बादी महिलासँग कुराकानी गरेर उनीहरूका यथार्थपरक कुरालाई उतारिएको उनले दाबी गरिन् ।

‘अहिलेको परिवेशका कथा होइनन् । पहिलेका कथालाई अहिले प्रस्तुत गरेँ,’ उनले भनिन्, ‘उपन्यासको अन्तमा मध्यान्तर लेखेकी छु, यसको अर्थ अझै बाँकी कथा लेख्न बाँकी छ भन्ने सन्देश हो ।’ मैले उपन्यासको भूमिकामा पनि त्यतिबेलाका बादी महिला अहिले कोही पनि देहव्यापारमा संलग्न छैनन् भनेर लेखेको उनले बताइन् ।

प्रकाशित : फाल्गुन २९, २०७४ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?