उखुको भुक्तानी माग गर्दै मिलमा धर्ना

अघिल्लो वर्षकै पैसा पाउन बाँकी
कान्तिपुर संवाददाता

परासी — चिनी उद्योगले उखुको भुक्तानी नदिएको र तौलमा समेत ठगी गरेको भन्दै पश्चिम नवलपरासीको एक चिनी मिलमा १ सातादेखि किसानले धर्ना दिएका छन् । उखु बेचेको तीन महिना पुग्दा पनि भुक्तानी नदिएको भन्दै प्रतापपुर गाउँपालिका ८ पिपरपातीस्थित इन्दिरा सुगर मिलको गेटमा धर्ना दिँदै किसानले उत्पादन भएको चिनी बाहिर लैजान रोक लगाएका हुन् ।

उखुको भुक्तानी माग गर्दै मिलमा धर्ना

उखुको मूल्य नतोक्दा किसानले अघिल्लो वर्षकै भाउमा भुक्तानी पाउने गरी सस्तोमा बेच्दासमेत अझै भुक्तानी दिन आनाकानी गरेको छ । सबै किसानको भुक्तानी हुन बाँकी रकम प्राप्त गरेपछि मात्र धर्ना रोक्ने किसानले बताए ।

उत्पादन भएको चिनी बाहिर लैजान रोक लगाएका मिसानले भुक्तानी दिन आनाकानी गरे चिनी नै नियन्त्रणमा लिएर उद्योगमा ताला लगाउने चेतावनी दिएका छन् । ‘सुरुमा तौल केन्द्रमा क्विन्टलमा १०/२० किलो ठग्ने, उधारोमा माग्ने अनि महिनौं बित्दासमेत भुक्तानी दिन आनाकानी गर्ने उद्योगको नियत देखियो,’ स्थानीय लख्खु यादवले भने, ‘२/४ अगुवा किसानलाई फकाएर, बिपन्न किसानको ढाढ सेक्न पाइँदैन ।’

किसानको उखु मिलले उधारोमा किन्दा दिएको पुर्जी साटनका लागि आलटाल गरिएको हो । किसानहरू पुर्जी लिएर घन्टांै लाइनमा बस्दै रकमबिना घर फर्कनु परेपछि किसान धर्ना बसेका हुन् । केही दिनअघि उद्योग प्रशासनसँग साताभित्र भुक्तानी दिने सहमति भए पनि सम्झौता कार्यान्वयन नगरेर उल्टै किसानलाई उद्योग प्रशासनले धम्काउने गरेको गुनासो छ ।

मिलले यस वर्ष करिब ५ लाख क्विन्टल उखु क्रसिङ गरिसकेको छ । ६० प्रतिशत चिनी पनि बिक्री गरिसकेको छ । तर भुक्तानी नदिने मिलको नियत खराब देखिएको स्थानीय उमाशंकर यादवले बताए । इन्दिरा सुगर मिलले मात्र यो सिजन करिब ८ करोडभन्दा बढी भुक्तानी दिन बाँकी छ ।

जिल्लामा सञ्चालनमा रहेका तीन उद्योगमध्ये सञ्चालकको मृत्यु भएपछि लुम्बिनी चिनी उद्योग बन्द भएकाले उखु खपत नहुने भन्दै अन्य मिलले सस्तोमा किन्न खोज्ने र भुक्तानीसमेत रोक्ने गरेका हुन् । पीडित किसानले भुक्तानी दिलाउनका लागि स्थानीय प्रशासन, जनप्रतिनिधि र उद्योग मन्त्रालयलाई समेत आग्रह गर्दा पनि सुनुवाइ नभएको भन्दै संघर्षका कार्यक्रम अघि सार्ने चेतावनी दिए ।

बिचौलियाको बिगबिगी

पश्चिम नवलपरासीमा चिनी उद्योगले बिचौलिया परिचालन गरेर सस्तोमा उखु खरिद गरिरहेका छन् । सरकारले मूल्य निर्धारण नगरेको फाइदा उठाउँदै तौल केन्द्रमा उद्योगले बिचौलिया प्रयोग गरेर सस्तोमा उखु खरिद गरिरहेका छन् । ‘उद्योगले कहिले भुक्तानी दिने हो थाहा हँुदैन, अहिले आफूलाई घर खर्च र ऋण तिर्न हतारो छ,’ सुस्ताका बच्चु राजभरले भने, ‘अहिले ४ सय ३० रुपैयाँ पेस्की लिएर बाँकी पछि माग्दासमेत बिचौलियाले नमान्दा मूल्यमा उखु बेच्नुपर्‍यो ।’ ५ सय ३१ रुपैयाँ पुरानो मूल्य अहिले बढ्नुपर्नेमा किसानले ४ वर्षअघिको भाउमा तौल केन्द्रमा नै भुक्तानी बुझ्नुपरेको छ । उत्पादन कम हुने भएपछि मूल्य पाउने आसमा बसेका किसानलाई उद्योग आफैंले भित्रीरूपमा तौल केन्द्र राखेर सस्तोमा उखु खरिद गर्न बिचौलिया लगाएको किसानको आरोप छ । जिल्लाभर २५ देखि ३० लाख क्विन्टलसम्म उखु उत्पादन हुने गरेको छ ।

प्रकाशित : फाल्गुन २९, २०७४ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?