मकैको गुण नष्ट

घाम र हावाका कारण उत्पादनमा समेत ह्रास आउँछ

रोल्पा — अधिकांश गाउँमा मकैका घोगा घरबाहिरै झुण्डयाएर राख्ने चलन छ । मकैमा लाग्ने कीरा (पुत्ला) बाट जोगाउने उद्देश्यले मकैका झुत्ता बारदली वा घरनजिक काठमा झुन्ड्याएर राख्ने गरिन्छ ।

मकैको गुण नष्ट

यस्तो चलनले मकैको गुण नष्ट हुनेबारे किसान बेखबर छन् । कीरा घुनबाट जोगाउने उद्देश्यले वर्षौंदेखि राख्दै आए पनि गुणबारे थाहा नहुँदा उत्पादनमा ह्रास आएको छ । जिल्ला कृषि कार्यालयले घाम र हावाका कारण मकैको खास गुण नष्ट हुने जनाएपछि कृषक अतालिएका छन् । वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले मकैलाई घामले भेट्ने गरी सुकाएर राख्नाले गुण हराउने जाने बताए । ‘यसरी मकै राख्दा चर्को घामले गुण हराउने र खाद्यतत्व गुम्ने खतरा छ,’ उनले भने । पुत्ला र घुनबाट जोगाउन यहाँका प्राय: सबै गाउँमा मकैलाई घरबाहिरै राखिन्छ ।

बीउका लागि छानिएका घोगालाई झुन्ड्याएर राखिन्छ । ‘मकैलाई घरभित्र राख्दा कीरा लाग्ने डर हुन्छ । बारदलीमा झुन्ड्याए सुरक्षित राख्न हामीले यस्तो गरेका हौं,’ रोल्पा नगरपालिका ३ खुमेलका हस्तराम रोकाले भने, ‘कम खर्चमा मकैलाई सुरक्षित राख्न सकिने भएकाले हाम्रा पुर्खाले यस्तो चलन सुरु गरेको हुनुपर्छ । हामीले पनि यसै गरेका छौं ।’ पुर्खाले सिकाएको चलन पछ्याउँदै अन्न सुरक्षित गर्दै आएको अनुभव उनले सुनाए ।

जिल्लामा प्रत्येक वर्ष असोज/कात्तिकमा मकै बाली भित्र्याइन्छ । यसपछि पोक नछोडाई झुन्ड्याउने चलन छ । ‘कुनै बेलामा पोक सोरेर (झिकेर) मकैका घोगा मात्र झुन्ड्याउने चलन थियो । नत्र सधैंझैं पोकासँगै झुन्ड्याइन्छ,’ उनले भने । उनका अनुसार खुमेल, गजुल, मिझिङ, खुंग्रीलगायत स्थानमा यस्तो चलन बढी छ । घरबाहिरै राखेर बीउ संरक्षित गर्ने चलन पश्चिमको तुलनामा पूर्वी रोल्पाका गजुल, मिझिङ, तेबाङ, खुमेल, पश्चिमका राङकोट, माडीचौर, कोर्चाबाङ र दक्षिणमा होलेरीसम्म छ । कतिपयले घर नजिकै सानो भण्डार घर (उरिम) बनाएर अन्न राख्ने गर्छन् । तर यो चलन अहिले घटदै गएको छ । दुईखोली गाउँपालिका ४ स्थित राङोटका वडाध्यक्ष सुकबहादुर बुढामगरले मकैलगायत अन्न जोगाउन परम्परागत तरिका भएको बताए ।

यस्तो चलन व्याप्त भएको जानकारी पाएका कृषि विकास अधिकृत श्रेष्ठले मकैलाई घरबाहिर राख्दा गुणस्तर गुम्ने खतरा भएकाले पुनर्विचार गर्नुपर्ने बताए । ‘बरु कीरा र रोगबाट जोगाउने थुप्रै उपाय छन् । अब त्यसबारे सोच्नुपर्छ,’ उनले भने । रोग र किटाणुबाट सुुरक्षित गर्न पाइने औषधि प्रयोग गर्न कृषकलाई उनले सुझाएका छन् । कृषकलाई बीउसमेत वितरण गर्ने गरिएकाले त्यसबारे चिन्ता नगर्न उनले आग्रह गरे ।

प्रकाशित : चैत्र ३, २०७४ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?