कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रुपन्देही औद्योगिक हब

तीव्र पूर्वाधार विकास, कच्चा पदार्थ ल्याउने छोटो दूरी, सहज नाका र मजदुर–उद्योगीको घनिष्ठ सम्बन्धले उद्योग फस्टाउँदै

बुटवल — रुपन्देहीको भैरहवामा निर्माण गरिएको विशेष आर्थिक क्षेत्र (सेज) ले यसै वर्ष उद्योग सञ्चालन तयारी गरेको छ ।

रुपन्देही औद्योगिक हब

यसका लागि सेज विकास समितिले २ महिनाअघि उद्योग सञ्चालन अनुमति लिन १५ दिने सूचना निकालेको थियो । त्यस अवधिमा १४ उद्योगले अनुमति लिए । विद्युत् प्राधिकरण शाखाले चैत दोस्रो साताभित्र २ मेगावट विद्युत् आपूर्ति दिने तयारी गरेको छ । पूर्ण सञ्चालनका लागि २५ मेगावाट आवश्यक पर्छ ।

जिल्लाको धकधईस्थित सवस्टेशनबाट बिद्युत् आपूर्तिका लागि काम भइरहेको शाखा प्रमुख मुनिन्द्र ठाकुरले बताए । १६ वर्षअघि निर्माण सुरु सेज ५२ बिघामा फैलिएको छ । त्यसभित्र १ हजार ४ सयदेखि ३ हजार ७ सय वर्गमिटरसम्मका ६८ ‘प्लट’ छन् । निर्यातमूलक उद्योग सञ्चालन गरिने सेज मुलुकमा पहिलो हो । यसबाहेक प्रत्येक प्रदेशमा एक औद्योगिक क्षेत्र अवधारणाअनुसार बुटवल उपमहानगरपालिकाको मोतीपुरमा औद्योगिक क्षेत्र स्थापना हुँदैछ । त्यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको प्रारम्भिक काम सकिएको छ । प्रतिवेदनमा तिनाउ नदीको ८ सय १४ बिघा नदी उकास क्षेत्र ओगटेर औद्योगिक क्षेत्र बनाउन सकिने उल्लेख छ ।

त्यसमा बस्ती छाडेर मझौला र ठूला गरी १ सय ५० उद्योग निर्माण गर्न सकिने औद्योगिक क्षेत्रका स्थानीय अनुगमनकर्ता बुटवल औद्योगिक क्षेत्र प्रमुख तुलबहादुर रानाक्षत्रीले बताए । ‘माटोको बेस परीक्षण सकिएको छ,’ उनले भने, ‘यसले ठूला उद्योगका पूर्वाधार निर्माण गर्न सकिने देखिएको छ ।’

अहिले वातावरणीय प्रभाव अध्ययन भइरहेको छ । बुटवलको रामनगरमा ०३२ सालमा स्थापना भएको औद्योगिक क्षेत्र ४ सय ३४ रोपनीमा छ । त्यहाँ ६३ उद्योग सञ्चालनमा छन् । त्यसमध्ये १ सय ३४ रोपनी बुटवल धागो कारखानाले ओगटेको छ । सिक्टहनमा व्यवसायीले सहकारीमार्फत औद्योगिक क्षेत्र स्थापना थालेका छन् । ५ वर्षअघिदेखि निजी औद्योगिक क्षेत्र बनाउने काम थालेको संस्थापक अध्यक्ष एजाज आलमले बताए ।

तीव्र रुपमा भौतिक पूर्वाधार र विकास निर्माण भइरहेको रुपन्देहीमा उद्योग खुल्ने क्रम हात्तै बढेको हो । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र प्रदेशको अस्थायी मुकाम तोकिएपछि उद्योग सञ्चालन तीव्र भएको छ । लुम्बिनीको प्रचार–प्रसार र महत्व बढेपछि पर्यटनमुखी उद्योग खुल्ने क्रम बढेको छ । भैरहवा–लुम्बिनी करिडोर, देवदह, सिक्टहनलगायत स्थानमा ठूला उद्योग भरिने क्रम छ । लुम्बिनी करिडोरमा अर्बाैं लगानीका सिमेन्ट उद्योग खुलेका छन् । बुटवल र लुम्बिनी आसपास सेवामूलक उद्योग बढेका छन् । यसले जिल्ला औद्योगिक हव बनेको प्रष्ट हुन्छ । भारतीय नाका, सडक सञ्जाल र उद्योगी–मजदुरबीच सुमधुर सम्बन्धले उद्योगीका लागि रोजाइमा परेको हो । सहज वातावरण देखेपछि अन्यत्रका औद्योगिक घरानासमेत यता आकर्षित भएका छन् ।

‘गत वर्ष भारतीय नाकाबन्दीका बेला पनि उद्योग तथा व्यवसाय निर्वाध चल्नुले बाहिरी जिल्लाका उद्योगी रुपन्देही आउन थालेका हुन्,’ सिद्धार्थनगर उद्योग वाणिज्य संघ अध्यक्ष रामकुमार शर्माले भने, ‘अन्यत्रको तुलनामा भौतिक र लगानी दुवैको सुरक्षा अनुभूति गर्ने गरेकाले पनि उद्योग खुल्ने क्रम बढेको हो ।’ बेलहिया नाकाका कारण जिल्लामा भारतीय बजारबाट कच्चा पदार्थ ल्याउन सहज र नजिक छ ।

देशको मध्यभागमा रहेकाले अन्य जिल्ला पुर्‍याउन सहज रहेको रुपन्देही उद्योग संघ अध्यक्ष गणेशप्रसाद अधिकारीले बताए । ‘स्थानीय उद्योगीले बढीभन्दा बढी बाहिरी क्षेत्रका घरानिया उद्योगी ल्याउने र यहाँकालाई विस्तार गर्ने योजना बनाएका छौँ,’ उनले भने । जिल्लामा साढे ११ हजार सानाठूला उद्योग छन् । त्यसमध्ये करिब १० हजार घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता छन् ।

त्यसमा एक अर्बभन्दा बढी लगानीका ३ सय ठूला र करिब ६ सय मझौला उद्योग सञ्चालनमा छन् । ठूला उद्योग विभागमा दर्ता हुने प्रावधान छ । धेरै लगानीका सिमेन्ट, स्टिल, छड, साबुन, इँटा, ऊर्जा, कृषि, वन पैदावार, खाद्यान्न, छाला, प्लास्टिक, स्टिल रोलिङ, फलामजन्य उद्योग हुन् ।

पछिल्लो समयमा होटल, खाद्यान्नमा चाउचाउ, बिस्कुट, चप्पल जुत्ता, दाल, मैदा तथा औषधि, बियरलगायत पनि थपिँदैछन । ‘रूपन्देही उद्योग स्थापनाका लागि उर्वरभूमि हो,’ महासंघ केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद श्रेष्ठले भने, ‘साना तथा मझौला उद्योगको सट्टा पछिल्लो समय ठूलो उद्योगसमेत बढेका छन् ।’

नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाअनुसार असारसम्म जिल्लामा बैंकको औद्योगिक लगानी १ खर्ब १२ अर्ब ६५ करोड छ । औद्योगिक क्षेत्रको बैंक निक्षेप ८९ अर्ब ४४ करोड छ । चालू आवमा लगानी र निक्षेप थप बढेको शाखा प्रमुख अशोककुमार पौडेलले बताए । ‘काठमाडौंका बैंकबाट सीधैं लगानी गर्ने ठूला केही कर्पोरेटको लगानी छोड्दा पनि यति धेरै लगानी औद्योगिक क्षेत्रमा देखिन्छ,’ उनले भने, ‘यो औद्योगिक विकासको ठूलो अवसर हो ।’

रुपन्देही ३ का सांसद घनश्याम भुसाल बढ्दो आर्थिक गतिविधि र औद्योगिक क्षेत्र स्थापनाले औद्योगिक राजधानी हुनुपर्नेमा जोड दिन्छन । उद्योगमैत्री नीति र वातावरण बन्न सके दोब्बर उद्योग थपिने उनले जनाए । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल रुपन्देही उद्योग–व्यवसायका सवालमा मुलुककै केन्द्रविन्दु रहेको बताउँछन । बुद्ध जन्मस्थल लुम्बिनी र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पूरा भएपछि प्रदेश मात्र होइन, मुलुककै मुहार रुपन्देहीले फेर्न सक्ने पोखरेल दाबी गर्छन् ।

सिमेन्ट उत्पादन केन्द्र
रुपन्देही सिमेन्ट उत्पादन केन्द्र बनेको छ । भैरहवा–लुम्बिनी करिडोर र धकधई क्षेत्रमा अर्बौं लगानीका सिमेन्ट उद्योग खुलेका छन् । जिल्लामा १२ यस्ता उद्योग छन् । तीनमा अर्घाखाँची, जगदम्बा, सिद्धार्थ, ब्रिज, अग्नि, रिलायन्स, गोयन्का, सुप्रिम, अम्बुजा, पाठक, विशाललगायत हुन् । उद्योगबाट दैनिक १ लाख टनभन्दा बढी सिमेन्ट उत्पादन भइरहेको छ । यहाँ उत्पादित सिमेन्टले नेपाली बजारको करिब ४० प्रतिशत माग धानेको उद्योग विभागको तथ्यांक छ । अर्घाखाँची र रिलायन्सले उद्योगलाई आवश्यक क्लिंकर आफैं उत्पादन गर्छन् । ब्रिज र जगदम्बा देशमै बढी सिमेन्ट उत्पादन गर्ने उद्योगमा पर्छन् । अग्निका प्रबन्ध निर्देशक राजकुमार पोखरेल उत्पादनका लागि चाहिने कच्चा पदार्थको सहज पहुँच भएकाले सिमेन्ट उद्योग बढेको बताउँछन । ‘भारतबाट कोइला र क्लिंकर ल्याउन छोटो र सहज दूरी छ,’ उनले भने, ‘आसपासमा चुनढुंगा खानी र सहज नाका भएकाले पनि उद्योग बढेका हुन् ।’ यसले अन्यत्रको तुलनामा जिल्लामा उत्पादन लागत र ढुवानी खर्च पनि कम हुने गरेको छ ।

‘लगानीकर्तालाई अवसर’


अशोककुमार पौडेल
प्रमुख, नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर शाखा

उद्योग बढ्नुको कारण ?
रुपन्देहीमा उद्योग खुल्ने र भएकाले क्षमता बढाउने काम तीव्र गतिमा भएको छ । यो जिल्लामा अवसर नै अवसर छ । सायद यसैले बाहिरबाट आएर ठूला उद्योग चलाउने पनि बढेका छन् । कच्चा पदार्थ ल्याउन सीमा क्षेत्रनजिक छ । सीमा पनि सहज छ । सामान निर्यातका लागि देशको मध्य भागमा छ । सहज सडक छन् । यसले गर्दा निर्माण र खाद्य उद्योग बढेका हुन् । बुद्ध जन्मस्थल लुम्बिनी यही छ । बुद्ध र लुम्बिनीको महिमा र प्रचार पछिल्लो समय बढ्दो छ । यसले पर्यटनमा आधारित उद्योग बढाएका छन् ।

लगानीको आकर्षण के होला ?
मधेश आन्दोलनको खास बढी प्रभाव रुपन्देहीमा परेन । उद्योग सञ्चालन भइरहे । भारतीय नाकाबन्दीको समयमा पनि बेलहिया नाकाबाट सामान आयातनिर्यात भयो । यसले धेरै उद्योगीको नजर रुपन्देहीमा परेको देखिन्छ । योसँगै ३ वर्षअघिदेखि अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्रम सुरु भयो । लुम्बिनीका कारण यो विमास्थलले देशको पहिलो गन्तव्य बन्ने सम्भावना बोकेको छ । यही कारण लगानीकर्ता आकर्षित भएका हुन् ।

जिल्लालाई बैंक तथा वित्तीय संस्थाले कसरी हेरेका छन् ?
लगानी र निक्षेपका हिसाबले रुपन्देही मुलुकमा दोस्रो जिल्ला हो । काठमाडौंपछि लगानी यही बढेको छ । लगानी गर्न पाइन्छ भन्ने उद्देश्यले धेरै बैंकले साखा खोलेका छन् । उनीहरूको निक्षेपभन्दा कर्जा बढी छ । गत वर्ष रुपन्देहीका बैंकहरूले १ खर्ब ३७ अर्ब ३ करोड ८९ लाख निक्षेप संकलन गरेका थिए ।

त्यसको अघिल्लो वर्ष १ खर्ब ७ अर्ब निक्षेप थियो । त्यसबाट एक खर्ब ५० अर्ब २ करोड ६१ लाख कर्जा लगानी गरेका थिए । विकास निर्माणका काम बढ्दै जानु, लुम्बिनीको महिमा बढ्नुु, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, होटल र जग्गा व्यवसायमा आएको बहारले पनि रुपन्देहीमा लगानी र निक्षेप बढेको छ ।

प्रकाशित : चैत्र ३, २०७४ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?