कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

गाउँपालिकाको अवस्था दयनीय

अधिकार गाउँमा पुग्यो, तर जनप्रतिनिधि अलमलमै
गाउँको विकास अझै सुस्त

सुलीचौर (रोल्पा) — पूर्वी रोल्पाका सुनछहरी र लुङ्ग्री गाउँपालिकाका जनप्रतिनिधि स्थानीय विकास योजनाको सुरुवात कसरी गर्ने अलमलमा छन् ।

गाउँपालिकाको अवस्था दयनीय

स्थानीय तहमा जनप्रतिधि चुनिएको लामो समय बिते पनि गाउँपालिकामा ठोस योजना छैनन् । दुर्गम लुङ्ग्री गाउँपालिका अध्यक्ष दुर्गाबहादुर खडका स्थानीय तहको विकास गर्ने जिम्मेवारी आफ्नो भए पनि विकासको सुरुवात कहाँबाट गर्ने भन्ने अन्योलमा रहेको बताउँछन् ।

‘हाम्रो गाउँपालिका भौगोलिक दृष्टिकोणले निकै दुर्गम र पिछडिएको हो,’ उनले भने, ‘कुन बिन्दुबाट विकास थाल्ने द्विविधा छ ।’ यो द्वन्द्व प्रभावित क्षेत्र हो । उनका अनुसार गाउँपालिकामा दरबन्दी अनुसारका कर्मचारी नहुँदा विकास योजनाबारे रणनीति बनाउन सकिएको छैन । ‘स्थानीय तहमा नयाँ अनुभव छ । हामीले सिक्दै विकास गर्दै जाने हो,’ उनले भने, ‘योजना माग गर्नेको संख्या बढी छ । सबै खालका योजना माग्ने गरिएका छन् । बजेट कम छ । कसरी चित्त बुझाउने हो चुनौती छ ।’ सुलीचौरदेखि गामसम्म पुर्‍याइएको ग्रामीण सडकबाहेक यस क्षेत्रमा ठूला योजना छैनन् । पञ्चायतकालमा निर्माण गरी केही समय सञ्चालनमा ल्याइएको बडाचौर विमानस्थलसमेत यसै गाउँपालिकामा पर्छ । तर यसलाई पुनर्निर्माण गरी सुचारु गर्ने कुनै योजना छैन ।

लुङ्ग्रीमा मकैका साथै आलु, जौ, कोदो, सुन्तलालगायत खाद्यान्न र फलफूलको उत्पादन अत्यधिक हुन्छ । तर परम्परागत कृषि प्रणालीका कारण स्थानीयले वर्षभर पुग्ने अन्नसमेत उत्पादन गर्न सक्दैनन् । कृषिमा आधुनिकीकरण गरी विकासमा फडको मार्न सकिने उनले बताए । ‘मेरो कार्यकालमा निर्वाहमुखी कृषि प्रणालीलाई विस्थापित गरी आधुनिक प्रणाली भित्र्याउँछु,’ उनले भने, ‘निश्चित खेतीका लागि पकेट क्षेत्र स्थापित गर्ने गुरुयोजना बनाउने चाहना छ ।’ तर त्यसका लागि अहिलेसम्म उनले सम्भाव्यता अध्ययन गर्न सकेका छैनन् ।

लुङग्रीमा साबिकका पाङ, हार्जङ, गुम्चाल, सिर्प र बडाचौर गासिव मिलाइएको थियो । पूर्वमा प्यूठानसित जोडिएको लुङ्ग्रीको जनसंख्या करिब २३ हजार छ । ५ हजार २ सय घरधुरी छन् । बर्सेनि ठूलो संख्यामा स्थानीय मजदुरीका काम खोज्न पश्चिमी तथा पूर्वी नेपालसम्म पुग्छन् । वर्षेनी बाहिर पुग्ने श्रमलाई रोकेर स्थानीय रोजगारीको व्यवस्था गर्नुपर्ने जनप्रतिनिधिमाथि मुख्य जिम्मेवारी आइपरेको अध्यक्ष खडका बताउँछन् । चालु वर्षमा यो गाउँपालिकाको बजेट करिब २४ लाख छ । यस गाउँपालिकामा परिवारै लिएर काम खोज्न श्रमबजारसम्म पुग्ने क्रममा स्थानीय मुलुकभित्रैका पोखरा, मनाङ, मुस्ताङ, राजधानीदेखि भारतका हिमाचल प्रदेशभित्रका कैयौं गाउँसम्म पुग्ने गर्छन् । काम खोज्न भारत पुग्नेहरूले गढवाल, कुन्नु, हिमाचलमा खेती गर्छन् भने चण्डीगढ र दिल्ली पुग्नेहरूले चौकीदारीको काम गर्छन् ।

सुनछहरी दयनीय
लुङ्ग्रीसँगै सीमा जोडिएको सुनछहरी गाउँपालिकामा ‘गोठ सार्ने’ समस्या व्यापक छ । जहाँ बारी छ, त्यही छाप्रो बनाएर बास बस्नुलाई स्थानीयले ‘गोठ सार्ने’ भन्छन् । यो क्रम वर्षभर कम्तीमा ४ ठाउमा ‘गोठ सार्ने’ चलन छ । मूल घर छाडेर परिवारसहित अर्को स्थानमा ‘गोठ सार्ने’ काम सबै स्थानीयले गर्दै आएका छन् । सुनछहरी स्युरीका हर्क घर्तीमगरले ‘गोठ सार्ने’ चलनले परिवारमा धेरै बाधा पुग्छ । ‘सिजनल’ काम खोज्न परिवारै बोकेर बजार झर्नु स्थानीयको अर्को समस्या हो । परिवार लिएर काम खोज्न श्रम बजारसम्म पुग्ने क्रममा स्थानीय मुलुकभित्रैका पोखरा, मनाङ, मुस्ताङ, राजधानीदेखि भारतका हिमाचल प्रदेशका कैयौं गाउँसम्म पुग्ने गर्छन् । यसरी परिवारसहित ‘गोठ सार्ने’ र सीमा पार गरी काम खोज्ने चलनले गर्दा बालबालिकाको पढाइमा बाधा पुग्छ । घर्ती भन्छन्, ‘गोठ सार्ने’ चलनले विद्यार्थीले पढाइ बीचैमा छाडेर कालापहाडसम्म पुग्छन् । यसले गर्दा समाजमा शिक्षितको संख्या निकै कम छ ।’

सुनछहरी गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनले भौगोलिक रुपले दुर्गम भएकाले विकास योजना बनाउन असहज भएको बताए । ‘बजेट धेरै आएको देखिए पनि उपलब्धिमूलक काम गर्न कठिनाइ छ । कसरी विकास गर्ने भन्ने द्विविधा छ,’ उनी भन्छन् । भौगोलिक कठिनाईले गाउँपालिकाको कुनाकन्धरासम्म विकास योजना पुर्‍याउन गाह्रोभएको उनको भनाइ छ । सुनछहरीमा जेलबाङ, गाम, सेरम, सिउरी, फगाम, जैमाकसला साबिकका गाविस पर्छन् । भूगोलमा जिल्लाकै ठूलो गाविस गामसहित तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका बेला मुलुकमै बढी मानवीय क्षति व्यहोर्न पुगेको साविकको जेलबाङ गाविस पर्छ । जेलबाङमा १० वर्षको अवधिमा दुवै पक्षबाट ७३ जनाको ज्यान गएको थियो । सरकारले यस गाउँलाई ‘शान्ति गाउँ’ भन्ने नामकरण गरी विकास योजना पुर्‍याएको थियो ।

यस गाउँपालिकाको विकासका लागि चालू आवमा करिब २७ करोड बजेट छ । जनसंख्या १६ हजार छ भने घरधुरी करिब ३ हजार छ । साविकको स्यूरीमा एउटा पनि मावि छैन भने अन्य स्थानमा भएका विद्यालयहरूमा दरबन्दी छैन । निजी स्रोतका शिक्षकले विद्यालयहरूमा पढाइरहेका छन् । प्राकृतिक रुपले सुन्दर र सम्भाव्यताले धनी भए पनि यस गाउँपालिकामा गरिबी घटेको छैन । चेतना स्तर कम, स्वास्थ्य अवस्था दयनीय हुनुका साथै विकासको मूलधारबाट यस क्षेत्रलाई जोड्न सकिएको छैन । बिरामी भएपछि स्वास्थ्यकर्मीलाई भेट्नुका साटो धामीझाँक्रीकहाँ लैजाने चलन व्याप्त छ ।

सुनछहरी र लुङ्ग्री गाउँपालिकामा जनजातिको बाक्लो बसोबास छ । उवा र गाम उद्गम रहेको रोल्पाको दोस्रो ठूलो लुङ्ग्री नदी पूर्वका साविकका बडाचौर र गम्चाल गाविसबाहेक सबैमा मगर समुदायको बाक्लो बसोबास छ ।

प्रकाशित : चैत्र ४, २०७४ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?