कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

समाज परिवर्तन गर्दै महिला

कपिलवस्तु — डेढ वर्षअघि सम्म यहाँका पुरुष जुवा खेलेरै दिन बिताउँथे । गाउँ दुर्गन्धित थियो । धेरै बेरोजगार थिए । बालबालिका विद्यालय जाँदैनथे । विकृति र विसंगतिले समाज पछि परेको थियो । कपिलवस्तु ६ तिलौराका महिलालाई यो समस्याले निकै पिरोल्यो ।

गाउँको यस्तो अवस्था परिवर्तन गर्ने सोचले उनीहरूले समस्या पहिचान गरे । त्यसका लागि ६ महिना विभिन्न समूहमा आबद्ध भएर छलफल गरे । आफ्नो र टोल विकासमा केन्द्रित भए । शिक्षा, स्वास्थ्य, खानेपानी, आयआर्जन, वातावरण र सरसफाइमा छलफल गरे । उत्तर र दक्षिण टोलमा महिलाले तिलौरा स्वावलम्बन समूह उत्तर र दक्षिण टोल गठन गरेर जुटे । सबैभन्दा पहिले गाउँनजिकै बगैंचामा खेलिने जुवातास नियन्त्रणमा लागे । ‘पटक–पटक गएर तास नखेल्न अनुनय गर्‍यौं,’ स्वावलम्बन समूह दक्षिण टोलकी अध्यक्ष सुरक्षा गिरीले भनिन्, ‘सम्झाउँदा पनि मानेनन् ।’

यसपछि गाउँका सबै महिलाको हूलले तास नियन्त्रणमा लिएर च्याते । फेरि तास खेले प्रहरीलाई खबर गरी पक्राउने चेतावनी दिएर छाडे । ‘बगैंचामा दैनिक ५/६ खालमा २०/२५ जनाले तास खेलेर दु:ख दिएका थिए,’ उनले भनिन् । तर अहिले पुरुष घरकाजमा लागेका छन् । सफाइमा पनि गाउँलाई नमुना बनाएका छन् । गाउँका महिला प्रत्येक शनिबार बिहान ७ देखि ८ बजे सडक बढार्छन् । समूहमा आबद्ध भए/नभए पनि सडक सफाइमा जुट्छन् ।

महिलाले व्यक्तिगत सरसफाइदेखि घर, आँगन र बाटो चिटिक्क पारेका छन् । सुरुका एक वर्ष भने गाउँ आसपास बाटोमा दिसा–पिसाब नगरून् भनेर बिहान र साँझ दिदीबहिनीले समूह बनाएर २/२ घण्टा डयुटी दिन्थे । अहिले भने सबै सचेत बनेका छन् । कसैले बाटोमा फोहोर गर्दैन । सबैले घरमै शौचालय बनाएका छन् ।

प्रकाशित : चैत्र ४, २०७४ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?