२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

गुरुयोजना निर्माणमा व्यस्त

जनप्रतिनिधि, विज्ञ र पूर्वमन्त्री सबैको एउटै सोच
हरि गौतम

रुकुम पूर्व — सिस्ने गाउँपालिका २ का अध्यक्ष जीवन केसी गाउँपालिकाको केन्द्र रुकुमकोटमा छन् । वडाको सम्पूर्ण काम छाडेर ५ दिनयता उनी यतै व्यस्त बनेका हुन् ।

गुरुयोजना निर्माणमा व्यस्त

८ नं. वडाध्यक्ष खर्कसिङ थापा रुकुमकोट पुगेको साता पुग्नै लाग्यो । उनी पनि रुकुमकोटमै व्यस्त छन् । वडाध्यक्षहरू केसी र थापासहित गाउँपालिकाका ८ वटै वडाध्यक्ष, सदस्य, राजनीतिक दलका नेता, विषयका विज्ञ, गाउँपालिका अध्यक्ष/उपाध्यक्ष तथा पूर्वमन्त्रीसमेत रुकुमकोटमै छन् ।

उनीहरू सबै बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म व्यस्त रहन्छन् । जनप्रतिनिधि, विज्ञ र पूर्वमन्त्री एउटै हलमा जुट्नुको कारण हो, सिस्ने गाउँपालिकाको समग्र विकास गर्ने सोच बनाउनु । आगामी २० वर्षभित्र सिस्नेको समग्र विकासका लागि के–के गर्न सकिन्छ भन्ने छलफल गराउने उद्देश्यले पालिकाले जनप्रतिनिधि, विषय विज्ञ र पूर्वमन्त्रीलाई रुकुमकोट बोलाएको हो । भौगोलिक विकटता, पर्याप्त बजेट अभावलगायत चुनौतीबीच गाउँपालिकाको समग्र विकासका लागि गुरुयोजना बनाउन उनीहरू लागिरहेका हुन् । कार्यपालिका सदस्य र वडाध्यक्षहरूले वडाको हालको अवस्था र अब गर्न सकिने अवस्थाबारे जानकारी गराइरहेका छन् । भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, प्राकृतिक स्रोत, पर्यटन, स्वरोजगारलगायत वडाको हालको अवस्थाबारे आफूहरूले गुरुयोजना निर्माण क्रममा प्रस्ट्याएको वडा २ का अध्यक्ष केसीले बताए । उनले सबैतिर एकैपटक र समान विकास होस् भनेर गुरुयोजना नै बनाएर जान लागेको बताए ।

‘समस्या र चुनौती सबैतिर छन्,’ कार्यपालिका प्रवक्तासमेत रहेका केसीले भने, ‘थोरै बजेटबाट धेरै काम गर्नुपर्ने भएकाले गुरुयोजना निर्माणपछि प्राथमिकताका आधारमा काम गर्न सजिलो हुने विश्वास लिइएको छ ।’

गुरुयोजना बनाउन आयोजित कार्यशालामा सहभागी विज्ञले कार्यशालामा राखिएका समस्या, सम्भावना र चुनौतीलाई चिरेर विकास गर्न सकिने उपाय जानकारी गराइरहेका छन् । कार्यशाला सुरु भएकै दिनदेखि सहभागी पूर्वमन्त्री गणेशमान पुनले पालिकाको समग्र विकासका लागि यो सफलसिद्ध हुने विश्वास व्यक्त गरे । ‘कहाँ, के र कसरी गर्ने भन्ने अन्योलतामा रहिरहनुभन्दा योजना बनाएर जाँदा राम्रो हुन्छ,’ पुनले भने, ‘गुरुयोजना निर्माणपछि सिस्नेको विकासले गति पकड्ला भन्ने विश्वासमा छु ।’ गाउँपालिकाले गुरुयोजना निर्माणका लागि कार्यशाला गर्ने बताएपछि विभिन्न विषयका विज्ञसहित आफू जिल्ला आएको उनले बताए ।

यसबाट गाउँपालिकाको विकास गर्नुपूर्वका मूल्यमान्यता तय गरिएको छ । आगामी आवदेखि सोही मान्यताका आधारमा विकास निर्माणका काम गरिनेछ । जारी कार्यशालाबाट योजनाका मूल्य, मान्यता र भू–उपयोगको मूल्य मान्यता तय गरिएको र अब त्यसैका आधारमा समग्र विकासका लागि कार्यक्रम बनाइने अध्यक्ष कुमारी बरालले बताइन् ।

चालू वर्षका लागि बजेट विनियोजन र कार्यक्रम बनाउँदा हतारहतार गरिएकाले अबदेखि निर्माण चरणमा रहेको गुरुयोजनाकै आधारमा कार्यक्रम बनाइने तथा बजेट विनियोजन गरिने बरालको भनाइ छ ।

विकासका लागि अलमलमा रहनुभन्दा विज्ञसहित सबैको रायबाट तय गरिएको गुरुयोजनामार्फत बनाइएको कार्यक्रम कार्यान्वन गर्दा जनतालाई विकासको महसुस गराउन सकिने विश्वास उनले बताइन् । ‘अबका केही वर्ष कहाँ, के र कसरी गर्ने भन्ने अन्योलता हुने छैन,’ अध्यक्षले भनिन्, ‘बन्दै गरेको गुरुयोजनाले सबै कुरा प्राथिमकताको आधारमा तय गर्नेछ काम पनि त्यसैअनुसार धमाधम हुनेछन् ।’ कार्यशालापछि विज्ञ टोलीले उक्त गुरुयोजनालाई रूपरेखामा ढाल्ने र फेरि छलफल गरेर अन्तिम रूप दिइनेछ ।

आगामी वर्षको बजेट निर्माण र कार्यक्रम तय गर्नुपूर्व नै गुरुयोजनालाई अन्तिम रूप दिने अध्यक्ष बरालले बताइन् ।

प्रकाशित : चैत्र ७, २०७४ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?