खजुराका अभिभावकमा शिक्षा मोह: घरमै पढाइ केन्द्र

नेपालगन्ज — सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्तिलाई चिर्दै खजुरा गाउँपालिका ४ एफगाउँका अभिभावकले शिक्षामा नमुना काम देखाएका छन् ।

खजुराका अभिभावकमा शिक्षा मोह: घरमै पढाइ केन्द्र

जहाँ विद्यालय बिदाका बेला बालबालिकालाई जम्मा गरी खेल्दै पढाउने गरिएको छ । यसले बालबालिकाको पढाइमा सुधार ल्याउनुका साथै अभिभावकलाई शिक्षाप्रति अपनत्व बोध गराएको छ । स्थानीय ऋषिराम वली संयोजकत्वमा गठित हीरा टोल पढाइ समितिमा आबद्व अभिभावक यसका लागि आफै लागेका हुन् ।

विद्यालय बिदाका बेला बालबालिका पढाइभन्दा पनि खेल्न मन पराउने गरेका कारण सिकेका सबै बिर्सिन सक्छन् । त्यसैले विद्यालय बिदा हुने दिनमा पनि पढ्ने व्यवस्था त्यहाँका अभिभावकले मिलाएका हुन् । बिदाका बेला बालबालिकालाई पढाउन तालिमप्राप्त शिक्षकको व्यवस्था मिलाइएको छ । शनिबार र लामो बिदा भएका बेला टोलका बालबालिकालाई टोलमै पढाउने गरिएको छ । ‘खेलेर पढ्न पाउँदा बालवालिका रमाउँछन् । पढेका कुराहरू स्मरण गर्न सहज हुन्छ,’ शिक्षिका पूर्णकला खत्री भन्छिन्, ‘यो विधिको प्रयोगले बालबालिकाको पढाइमा सुधार आएको छ ।’

सामुदायिक विद्यालयमा पढ्ने बाल शिक्षादेखि ३ कक्षासम्मका बालबालिकाको पढाइ कमजोर देखिएपछि सरकारले प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सञ्चालन गरेको हो । उक्त सरकारी कार्यक्रमलाई खजुराका अभिभावकले आफ्नो मान्दै कार्यान्वयनमा जुटेका छन् । खजुरा गाउँपालिका उपप्रमुख एकमाया विकले एफगाउँका अभिभावकले आफ्ना बाबुनानीलाई पढाउन आफैं घरको व्यवस्थापन गरेको देख्दा खुसी लागेको बताइन् । ‘यो ठूलो विकास हो । अभिभावकमा शिक्षाप्रति मोह देखिनु सकारात्मक हो,’ टोल पढाइ समूहको अनुगमनपछि उनले भनिन्, ‘अभिभावक आफैं लाग्ने हो भने सामुदायिक विद्यालयले पनि ठूलो फड्को मार्न सक्छ ।’

लामो बिदामा बालबालिका बढी खेल्ने र पढेका कुरा बिर्सिन सक्ने भन्दै टोल पढाइ समितिले उनीहरूका लागि पढ्ने व्यवस्था मिलाएका छन् । विद्यालय बिदाका दिन दैनिक डेढ घण्टा खेलाएर, कथा सुनाएर पढाइन्छ । खेल्न र कथा सुन्दै पढ्न पाउँदा बालबालिका रमाउँछन् । यसले उनीहरूलाई पढाइसँग जोड्न सहयोग गरेको छ । अभिभावक आफ्ना बालबालिकालाई टोल पढाइ सेन्टरमा पुर्‍याउँछन्, तालिम प्राप्त शिक्षकले अक्षर लेखाउनेदेखि कथा सुनाउँछन् । खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले प्रारम्भिक कक्षा पढाइ प्रभावकारी रहेको बताए । उनले त्यसका लागि गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाइए । ‘यो कार्यक्रमको प्रभावकारिता बढाउन निरन्तर अनुगमन आवश्यक छ,’ उनले भने । खजुरा गाउँपालिका प्रमुख/उपप्रमुखले बिहीबार खजुरा क्षेत्रका विद्यालयका प्रारम्भिक शिक्षा कार्यक्र अनुगमन गरेका छन् ।

बाँकेमा ३ सय ६० सरकारी विद्यालय तथा मदरसा छन् । उक्त क्षेत्रभित्रका बालबालिकालाई लक्षित गरी ६ सय ७८ टोल पढाइ समूह गठन भएका छन् । समूहमा स्थानीय अभिभावक छन् । उनीहरूले स्थानीय बालबालिकालाई बिदाका बेला पढ्ने व्यवस्था मिलाएका छन् । प्रारम्भिक कक्षा पढाइ कार्यक्रम हेर्दै आएकी माया चौधरीले टोल पढाइ समूहले आफ्नै मातृ भाषामा बालबालिकालाई पढाउन सक्ने बताइन् । त्यसका लागि उनीहरूले आफैं पाठ्यक्रमसमेत बनाउन सक्छन् ।

प्रकाशित : चैत्र ७, २०७४ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?