कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

जथाभावी सडकले पहिरोको जोखिम

झन्डै एक जहार परिवार बाढीपहिरो प्रभावित

नौबहिनी (प्यूठान) — लुङखोला क्षेत्रका फोप्ली, लुङ, खबाङ, स्याउलीबाङ, लिघामा २ वर्षअघिको पहिरो र बाढीको त्रास स्थानीयले अझै भुलेका छैनन् । बोल्ने अवसर मिल्यो कि उनीहरू पहिरोको जोखिम कम गर्न राज्यले पहिल नगरेको गुनासो गरिहाल्छन् ।

जथाभावी सडकले पहिरोको जोखिम

पहिरो र बाढीपछि नौबहिनीको मुख्य केन्द्र बाहाने बजारमै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल आएर गरेको बाचा पूरा नगरेको उनीहरूले धेरैपटक गुनासो गरेका छन् । सोमबार लुङ, बाहानेस्थित कृषि सेवा केन्द्र हलमा गरिएको कार्यक्रमका सहभागीले यस्तै गुनासो दोहोर्‍याए । ०७२ साउन १० र ११ मा आएको बाढीले लुङखोला क्षेत्रका दर्जनौं बस्ती उठिवास गराएको थियो ।

कम्तीमा तीन दर्जन स्थानीयले पहिरोमा परी ज्यान गुमाएका थिए । पहाडमा डाँडा धुजाधुजा भए । खोला किनारमा बस्तीमा बाढी पसेर करोडौं नोक्सानी गर्‍यो । झन्डै हजार परिवार पहिरो र बाढीबाट प्रभावित बने । पहिरो जानुअघि यस क्षेत्र जिल्लामै धेरै नेता जन्माउने, बेलायती र भारतीय पूर्वसैनिक बसोबास भएको सुन्दर बस्ती, मकै, कोदो, राम्रो उत्पादन हुने रसिलो क्षेत्र मानिन्थ्यो । पहिरो गएको वर्षदेखि बस्ती उजाड छ । बर्खामा पहिरोले बगाउने हो कि भन्ने डरले स्थानीयको मनमा चैन छैन । जोखिमै रहेका क्षेत्रमा बसोबास भएकाले गाउँले अझै त्रसित छन् ।

चर्केको जमिनको घरमा धेरै गाउँले बसोबास गरिरहेका छन् । कयाैं भएभरको जमिन पहिरोले बगाएर घरबासविहीन भएका छन् । गत चुनावमा नेताले बाढीपहिरोपीडितलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने भनेर भोट मागे । तर अहिले प्रदेश र केन्द्रमा निर्वाचित जनप्रतिनिधि फर्केर नआएको उनीहरूको दुखेसो छ । प्रधानमन्त्री नै आएर भूकम्पपीडितसरह राहत दिने बाचा पूरा गर्नमा पहल नगर्ने नेताप्रति ‘रीस’ उठ्न थालेको यहाँका पीडितले बताए ।

पहिरोले बाह्रैमहिना गिट्टी फोरेर खाने भए,’ नौबहिनी गाउँपालिका ६ बहानेका लक्ष्मण रिजालले फाटेको कपडा देखाउँदै आक्रोश पोखे ‘घ्यू खानेको छोरा परिस्थितिले च्याउ खाने भइयो ।’ उनले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले जनतासँग गरेका बाचा पूरा गर्न जिल्लाका नेताले कुनै पहल नलिएको पीडितको गुनासो छ । घरमाथिबाट खनिएको सडकका कारण आफूहरूको उठिवास भएको रिजालले बताए । उनको खनजोत गर्ने जग्गा सबै पहिरोले बगाउँदा जीवन गुजारा गर्न निकै समस्या भएको बताए । गाउँमा जथाभावी खनिएको सडकका कारण दर्जनाैं बस्ती जोखिममा रहेको नौबहिनी ४ खबाङका रेगमबहादुर थापा बताउँछन् । ‘भौतिक पूर्वाधार निर्माण गर्दा सबै क्षेत्रको समन्वयमा गर्नुपर्ने हो,’ थापाले भने, ‘हाम्रोमा त्यसो गरिँदैन । सडकका कारण पानीका मुहानसमेत सुक्न थालेका छन् ।’ उनले पहिले चर्केका जमिनमै ठूला डोजर, एक्साभेटर प्रयोग गरी सडक खन्दा यसपालि बर्खामा अझ जोखिम बढेको बताए ।

‘सडक खनेर निस्केको माटो जथाभावी फालिएको छ,’ थापाले भने, ‘भिरालो जमिनमा थोरै पानी पर्नासाथ ठाडोखोला जोडतोडले माटोसहित बग्छ ।’ उनले पहिरो गएको केही सयमसम्म सरकारले भूगर्भविद् पठाएर प्रभावित क्षेत्रमा अध्ययन गर्ने बताए पनि अझै कोही भूगर्भविद् गाउँ नआएको बताए ।

गाउँपालिकाले २ लाख रुपैयाँ घर निर्माण गर्नका लागि दिने भने पनि ठाउँ नभएकाले निर्माण गर्न नसकेको नौबहिनी ८ की पीडित गोमा पोख्रेलले बताइन् । ‘घरमाथिबाट आएको पहिरोले सबै जमिन पुरेको छ,’ पोख्रेलले भनिन्, ‘आफ्नो जमिन कतै सुरक्षित छैन । कहाँ घर बनाउनु ?’ उनले पहिरोमा परी सासू/ससुरा गुमाउन परेको बताइन् । पहिरो गएपछि विस्थापित भएको र अझै घरमा फर्कन सकेका छैनन् ।

प्रकाशित : चैत्र ७, २०७४ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?