१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

‘कृषि र पशुपालनबाट नगर विकास’

अर्घाखाँची — कमलप्रसाद भुसाल सन्धिखर्क नगरपालिका प्रमुख । विद्यार्थीकालदेखि राजनीतिमा सक्रिय भुसाल नेपाल तरुण दलको पूर्वकेन्द्रीय उपाध्यक्ष र कांग्रेस पूर्वजिल्ला सभापति हुन् ।

‘कृषि र पशुपालनबाट नगर विकास’

मुलुकमा सञ्चालन भएका परिवर्तनका आन्दोलनमा सक्रिय उनी जिल्ला विकास योजनाकारको रुपमा परिचित छन् । भुसालले सन्धिखर्क नगरपालिका प्रमुखका रुपमा कसरी काम गर्दैछन् त ? कान्तिपुरका वीरेन्द्र केसीले गरेको कुराकानी :

प्रतिनिधिले देखिने काम गरेनन् भन्ने आरोप छ नि ?
हामीले देखिने गरी काम गरेनन् भन्ने कुरा म मान्दिनँ । मुलुकमा लामो समयपछि स्थानीय तह, प्रदेश र केन्द्र राष्ट्रियसभाको चुनाव सकिएको छ । हामी जनप्रतिनिधिको जिम्मेवारीमा आइसकेपछि धेरै काम गरेका छाैं। नगरलाई उत्पादनमुखी कार्यक्रम अघि सारिएको छ । दूध, अण्डा, मासु, तरकारी, मसलाबालीलगायत उत्पादन वृद्धि गर्ने गरी काम थालिएको छ । नगरवासीका हरेक समस्यालाई विस्तारै हल गर्दै जाने प्रयासमा छौं ।

कस्ता–कस्ता योजना सञ्चालनमा छन् ?
पूर्वाधार विकास, बाटो, सडक निर्माण, खानेपानीलगायतका योजनाले मूर्तरूप लिँदैछन् । नमुना नगर बनाउने संकल्प अनुसार बजेट विनियोजन गरी नीतिगत रूपमा काम भइरहेको छ । स्थानीय सरकार पनि भएकाले कानुन बनाउने काममा दत्तचित्त छौं । नगरका धेरै ठाउँका सडक कालोपत्रे गर्ने, सन्धिखर्क शान्ति बगैंचा, बसपार्क, नरपानीको पर्यटकीय पिकनिक स्पटमा फ्रि वाइफाई व्यवस्था मिलाउने योजना छ । जिल्ला भित्रिएका पर्यटकलाई विभिन्न ठाउँ हेरेर मनोरञ्जन लिन भ्यू टावरहरूको स्थापना, पार्कको व्यवस्थापन गर्ने योजना छ । सदरमुकामको केन्द्रविन्दु शान्ति बगैंचालाई आधुनिकीकरण गरिँदैछ । यसैगरी हामी काम गर्दैछौं ।

अहिलेसम्म भएका मुख्य काम ?
हामीले विजय प्राप्त गरेपछि सन्धिखर्क नगरपालिकालाई समृद्ध बनाउने योजनासाथ काम थालिएको छ । नगरभित्र नक्सापास गर्ने पहिलो काम भयो । जसले नगरवासीलाई राहतको महसुस भएको छ । विकास भन्ने कुरा एकै रातमा हुँदैन धेरै नीति नियम कानुन बनाउनुपर्छ । समृद्ध नगरका योजना अघि सारिएको छ । सडक मर्मत सुधार, सीपमूलक तालिम, कृषिमा आधुनिकीकरण गर्न कृषि र पशुपालनसम्बन्धी तालिम, सन्धिखर्क बजार सरसफाइ, उद्यमशीलतासहित आयआर्जनका कार्यक्रम पनि सुरु भएका छन् ।

कृषि र पशुपालनको योजना के छ ?
कृषि र पशुपालनका विषयमा हामी गम्भीर भएर अघि बढेका छौं । कृषि र पशुपालनलाई व्यवसायीकरण गर्दै किसानलाई नगरबाट अनुदानसहितको प्राविधिक सहयोग उपलब्ध गराउने काम सुरु गरिएको छ । कृषकलाई व्यावसायी बनाउन भैंसी, गाई, बाख्रा, मौरी, कुखुरा, बंगुरपालनका लागि पकेट क्षेत्र घोषणा गरी दूध, मासु र तरकारीबाट आत्मनिर्भर बनाउने योजना अघि सारिएको छ ।

युवा पलायन घटाउने उपाय केही छ ?
विदेशिने युवाको संख्या धेरै छ । नगरक्षेत्रका केही बस्ती युवाविहीनजस्तै छन् । गाउँमा अहिले पनि वृद्धवृद्धा र महिला मात्रै देखिन्छ । विकासका लागि युवा अनिवार्य रूपमा प्राकृतिक स्रोत साधनका साथै ऊर्जाशील शक्ति हो । युवाशक्ति विभिन्न मुलुक पलायन हुँदा देशमा श्रम गर्ने कोही छेनन् । त्यो जनशक्ति फर्काउन हामीले विकास र उत्पादनमुखी काम गर्नुका साथै कृषि पर्यटन उद्योगधन्धा कलकारखाना सञ्चालन गर्ने सोच बनाएका छौं ।

चुनावका बाचा सबै पूरा होलान त ?
चुनावमा भोट माग्दा मैले नगरभित्रको विकास र समृद्धिका मुद्दा उठाएको थिए । घोषणा पत्र अनुसार काम पक्कै हुन्छ । भौतिक, आर्थिक, सामाजिक रूपमा नगरको चौतर्फी विकासका लागि सहयोग पुर्‍याउने मेरो दायित्व हुनेछ । सन्धिखर्क नगरपालिकाको सबैभन्दा बढी विकास सम्भावना भएको नगर हो । विकासका पूर्वाधार शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, जलविद्युत्, खानेपानी, सिँचाइ सुविधा उपलब्ध गराउने गरी काम थालेको छु । त्यो मैले चुनावमा बोलेको बाचा हो । कृषि, पशुपालन पर्यटन, धार्मिक मठमन्दिरको विकास गर्दै विभिन्न ठाउँमा भ्यू टावर बनाउने, केबलकारको डिपिआर तयार गर्नेलगायतमा पनि मैले बोलेको छु । यी काम हुन्छन् ।

पर्यटनका पूर्वाधार बनाउने योजना के–के हुन् ?
नगरपालिकाभित्र धेरै पर्यटकीय संरचना छन् । अब पूर्वाधार बनाई पर्यटक आकर्षित गर्ने संरचना योजनाबद्ध ढंगले बनाइनेछ । चर्चित धार्मिक पर्यटकीय स्थल सुपादेउरालीमा धेरै तीर्थालु आएका छन् । सुपामा दर्शनपछि खाँचीकोट हुँदै अर्घा भगवती मन्दिर, सिद्धेश्वर शिवालय मन्दिर, चुत्राबेंसी र गोपेश्वर मन्दिर मथुराधामसम्म ल्याउन विभिन्न खालका विकासका डिपिआर तयार गरिरहेका छौं । शक्तिपीठमा पुग्न केबलकार, भ्यूटावर, शान्ति बगैंचा, लदाम बगैंचा, मथुरा बगैंचाको संरक्षण गर्दै व्यवस्थित गर्ने गरी आएका पर्यटकलाई एक दिन भए पनि बास बसाल्ने र नगरवासीलाई स्वरोजगार बनाउने काम भएको छ ।

प्रकाशित : चैत्र ७, २०७४ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?