२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

पुरातत्त्वमा भविष्य खोज्दै तन्नेरी

‘किताबमा पढेका कुरा व्यवहारमा उतार्न पाउँदा निकै खुसी छु’
मनोज पौडेल

कपिलवस्तु — तिलौराकोट– उनी २५ वर्षकी भइन् । सानो फरुवाले दिनभर माटो खन्दै त्यसमा लुकेका र मिसिएका ससाना बस्तु जोगाउँछिन् ।

पुरातत्त्वमा भविष्य खोज्दै तन्नेरी

बर्दिया गेरुवा गाउँपालिकाकी कविता चौधरी पछिल्लो समय पुरातत्त्वबारे केही खोजिरहेको भेटिन्छन् । ‘किताबमा पढेका कुरा व्यवहारमा उतार्न पाउँदा निकै खुसी छु,’ कविताले भनिन, ‘आनन्द छुट्टै अनुभूति गरिरहेकी छु ।’

ललितपुरको कुमारीपाटीका प्रसन्न शाक्य पनि जमिन खन्दा पाइने ऐतिहासिक तथा पुरातात्त्विक वस्तु देखेर उत्साहित हुन्छन् । २६ वर्षका उनी विस्तारै खन्दै सामग्री खोज्दै, पाएकालाई सफा गरेर संग्रह गर्छन् । सकभर आफैंले वस्तु पहिल्याउँछन् । सहकर्मीसँग पनि छलफल गरेर निक्र्योलमा जान्छन् । त्यसपछि त्यसलाई संरक्षण गर्नेतिर लाग्ने गरेको उनले सुनाए । यी पुरातत्त्व अध्ययनमा भविष्य खोजिरहेका तन्नेरी व्यावहारिक अध्ययनका लागि शाक्यवंशीय राजधानी तथा भगवान् गौतमबुद्धले २९ वर्षको युवा अवस्था बिताएको कपिलवस्तु तिलौराकोट आएका छन् । उनीहरूजस्तै १३ तन्नेरी ४ साताभन्दा बढी सैद्धान्तिक र व्यावहारिक ज्ञान लिइरहेका छन् ।

उनीहरू सबै त्रिभुवन विश्वविद्यालय स्नाकोत्तरका विद्यार्थी हुन् । मानविकी संकायअन्तर्गत नेपाली इतिहास, संस्कृति तथा पुरातत्त्व विषयमा पढ्दैछन् । अध्ययन पूरा गरेपछि उनीहरूले ‘एमए इन आर्कलोजी’ को डिग्री पाउँछन् । तन्नेरीले अहिले दोस्रो सेमेस्टरको २ सय पूर्णांक अध्ययन गर्दै गरेका हुन् । एक सय पूर्णांकको पुरातत्त्व उत्खनन तथा अन्वेषण प्राक्टिकल र सयको प्रिन्सिपल अफ आर्कलोजी पढेर फर्किए । उत्खननका लागि ट्रेन्च कसरी बनाउने, उत्खनन कसरी गर्ने र त्रिविमितिय नाप कसरी लिने उनीहरूले सिके । खन्ने तरिका, उत्खनन गर्दा प्राप्त सामग्री बाहिर कसरी निकाल्ने, सफा कसरी गर्ने र सुरक्षित गर्ने तरिका सिकेको उनीहरू बताउँछन् ।

पुरातात्त्विक वस्तुलाई घामपानीबाट बचाउने, कच्चा सामग्री भएर कसरी बलियो बनाउने र सामग्री पाइएकै ठाउँमा त्यसको संरक्षण गर्नुपर्ने तरिका को ज्ञान लिए । पुरातात्त्विक वस्तुको तस्बिर खिच्ने, रेकर्ड राख्ने र ड्रइङ्ग बनाउने ज्ञान पनि धेरै हासिल गरेको उनीहरू बताउँछन् । तहगत उत्खनन गर्ने, उत्खननको रिपोर्ट कसरी बनाउने र कस्तो अवस्थामा नियन्त्रण गर्ने भन्ने ज्ञान पनि दिइएको छ ।

त्यस्तै उनीहरूलाई संग्रहालय सजाउने, कस्तो प्रकाश दिने र सामग्री कसरी राख्नेलगायत पढाइएको छ । बिहान ८ देखि साँझ ४ बजेसम्म उत्खनन तथा अन्वेषण प्राक्टिकल विषयका लागि उनीहरू फिल्डमा खटिन्थे । साँझ ६ देखि ९ बजेसम्म पुन: प्रिन्सिपल अफ आर्कलोजीको थ्यौरीमा उनीहरू जुट्थे ।

दिनभरिका कामको समीक्षा गर्थे । नजानेको कुरा सोध्छन् । अर्को दिनका लागि थप काम लिन्छन् । विद्यार्थीलाई नेपाली र बेलायतको डुह्राम युनिभर्सिटीका प्रोफेसरहरूले सैद्धान्तिक विषय पढाए । फिल्डमा खटेर गरेको कामको तस्बिरसहित रिपोर्ट दिएपछि उनीहरूले नम्बर प्राप्त गर्छन् । प्रिन्सिपल अफ आर्कलोजीको भने परीक्षा दिएपछि नम्बर पाउँछन् । पढेको विषयको फिल्डमै खटेर काम गर्न पाउँदा निक्कै सन्तुष्ट छु, नरेश दुराले भने । २७ वर्षे यी तन्नेरी चितवन भरतपुरबाट काठमाडौं गएर पुरातत्त्व अध्ययन गर्दैछन् ।

पुख्र्यौली घर लमजुङ भएका उनले भने, ‘हजुरबुबा डम्बर सिंहले बुबा पदम सिंहलाई लमजुङ दरबारको कथा भन्नु भएको थियो । बुबालाई सुनाइएको कथा के रहेछ भनेर जिज्ञासा लाग्यो ।’ उतिबेलाको पुरातत्त्व पढ्ने हुटहुटीले यहाँसम्म ल्याएको उनी बताउँछन् । ‘निक्कै रमाइलो लागिरहेको छ,’ उनले भने, ‘अब म पुरातत्त्वलाई नै करिअर बनाउँछु ।’ पुरातत्त्वमै विद्यावारिधि गर्ने लक्ष्य उनले लिएका छन् ।

काठमाडौं बत्तीसपुतलीकी मुना लम्साल पनि पुरातत्त्वमै करिअर बनाउन आएकी छन् । २५ वर्षे लम्सालको परिवार पर्यटन व्यवसायमा छन् । उनको ठमेलमा ज्वेलरी पसल छ । ‘सिकेको सीप व्यवसायमै लगाएर अझ उत्कृष्ट बनाउन चाहन्छु,’ उनले भनिन्, ‘यसको भविष्य राम्रो देखेको छु ।’ प्राविधिक विषय हो, भित्रैबाट इच्छा नभएसम्म यो पढ्न कोही नआउने उनले बुझाइ छ । थारु समुदाय कला र संस्कृतिमा निकै धनी भएको अर्का अध्येता कविता चौधरीले बताइन् । ‘आधुनिकतासँगै हराउन थालेको थारू गहना र परम्परा संरक्षण गर्नुपर्छ’ उनले भनिन्, ‘नभए भावी पुस्ताले देख्नै पाउँदैन ।’ पुरातत्त्व पढ्दै गरेका २६ वर्षे प्रशन्न शाक्यको परिवार हस्तकलाको व्यवसाय गर्छ । यही कारण पुरातत्त्व पढ्न आएको उनले बताए । ‘मूर्तिकाल, हस्ताकला र वास्तुकलाको पुरातत्त्वसँग के सम्बन्ध छ भन्ने जान्दा निक्कै खुसी छु’ उनले भने, ‘जात्रा परम्परा संस्कृति केवल रमाइलोका लागि मात्रै होइन ।’

विद्यार्थीलाई अध्ययन गराउन त्रिभुवन विश्वविद्यालयबाट नेपाली इतिहास, संस्कृति तथा पुरातत्त्व केन्द्रीय विभागका सहप्राध्यापक डा. मदनकुमार रिमाल आएका छन् । उनीलगायत टोलीले विद्यार्थीलाई निगरानीमा राखेर अध्ययन गराइरहेका छन् । अबको एक साता विद्यार्थीसहितको टोलीले यहा बसेर अध्ययन गर्नेछन् । उत्खनन, संरक्षक्षणका लागि विद्यार्थी तिलौराकोटमा सिक्छन् पढ्छन् । अन्वेषणका लागि बुद्धसँग सम्बन्धित विभिन्न पुरातात्त्विक स्थल पनि लगिन्छ ।

त्यसका लागि कपिलवस्तुकै बुद्धस्थल गोटिहवा, निग्लिहवा, सगरहवा र निग्रोधारामको भ्रमण गराइन्छ । त्यस्तै भारतमा रहेको बुद्ध स्थल पिपरहवा र गनवरियाको पनि भ्रमण गराइएको छ । ‘आफैं उत्खनन अन्वेषण गरेर विद्यार्थीलाई व्यावहारिक ज्ञान दिन सक्दैनौं,’ सहप्राध्यापक डा. रिमालले भने, ‘त्यही भएर अर्काले उत्खनन अन्वेषण गरेको कामलाई उपयोग गरेका हौं ।’

प्रकाशित : चैत्र ७, २०७४ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?