सहकारीद्वारा सदस्यलाई पेन्सन

सुत्केरीलाई पोषणभत्ता एक हजार

पाल्पा — सरकारले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिएजस्तै रामपुरस्थित एक सहकारीले पेन्सन दिँदै आएको छ ।

उसले अब सुत्केरी स्याहार खर्चबापत र सदस्य वा श्रीमान्/श्रीमतीको मृत्यु हुँदा राहतसमेत प्रदान गर्न थालेको छ । रामपुर नगरपालिकास्थित अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाले ‘पेन्सन कोष’ खडा गरेर वितरण नै सुरु गरेको हो । कोषका लागि सहकारीले ४० लाख रुपैयाँ विनियोजन गरेको अध्यक्ष तीर्थप्रसाद पंगेनीले बताए । सहकारीबाट पेन्सन नै वितरण थालेको जिल्लाकै पहिलो र नौलो योजना हो ।

उक्त कोषबाट सामाजिक सुरक्षा भत्ताबापत ज्येष्ठ सदस्यलाई प्रत्येक महिना ५ सय रुपैयाँ, सुत्केरी भए पोषण भत्ताबापत एक हजार, सेयर सदस्यका आफन्त मृत्यु भएमा २ हजार र सेयर सदस्यकै मृत्यु हुँदा सेयर रकममा थप ४ हजार रुपैयाँसमेत प्रदान गर्दै आएको पंगेनीले जानकारी दिए । उनीहरूलाई पेन्सन पाएको तथ्यांक राख्न सबैका लागि एक–एकवटा पट्टा पनि बनाइदिएको छ । अहिलेसम्म ९० जनाले यो सुविधा पाएका छन् ।

सहकारीले ७० वर्षमाथिका जेष्ठ नागरिकलाई मासिक पेन्सन वितरण गर्दै आएको छ । यसले ज्येष्ठ सेयर सदस्य खुसी छन् । २०७२ साउनदेखि पेन्सन योजना सञ्चालनमा ल्याइएको हो । ज्येष्ठ सेयर सदस्यका लागि पेन्सन वितरणले खुसी ल्याएको सहकारीका व्यवस्थापक दीपेन्द्रप्रसाद पौडेलले बताए । सहकारी संस्था नाफा केन्द्रित मात्र होइन सदस्यप्रति सेवामुखी पनि हुन्छन् भन्ने सन्देश दिएको उनले दाबी गरे ।

०५५ पुसमा घाँसखेती गर्ने उद्देश्यले २८ सदस्यबाट सुरु सहकारीमा हाल ८ हजारभन्दा बढी सेयर सदस्य आबद्ध छन् । सहकारी आर्थिक रुपमा समृद्धिका लागि सदस्यलाई ऋण प्रदान गर्दै सामाजिक रूपान्तरणका क्षेत्रमा समेत काम गर्न थालेको उपाध्यक्ष सागरप्रसाद देवकोटाले बताए । यसले जिल्लाको ग्रामीण भेगमा बैंकको पहुँच नपुगेकालाई बैंकले जस्तै सहुलियत ब्याजदरमा ऋण प्रवाह गर्छ । रेमिटेन्स सेवासमेत सञ्चालन गरेकाले विदेश र मुलुककै विभिन्न भागमा बस्नेले सेवा पाएका छन् ।

सहकारी शिक्षा, विद्यालय मैत्री सहकारी शिक्षा, सहकारी तथा लघुवित्त अवलोकन भ्रमण, व्यावसायिक सीपमूलक तालिम, स्वास्थ्य शिविर, युवा तथा बाल मैत्री कार्यक्रम, गरिबसँग अन्धकारमुक्तिजस्ता नमुना कार्यक्रम सञ्चालित छन् ।

उसले सकारात्मक सोच, बालबचत अभियान, सहकारी एकीकरण कार्यक्रम सहकारीले आफ्नै लगानीमा सञ्चालन गरिरहेको सचिव विष्णु लम्सालले जानकारी दिए । यसका सदस्यलाई आर्थिक रूपमा सबल बनाउन युवा स्वरोजगार कर्जा, लघुवित्त, विप्रेषण, सोलर कर्जा सुविधासमेत प्रदान गरिएको छ ।

सहकारीले गत आवमा १ करोड २४ लाख ३६ हजार खुद नाफा आर्जन गरेको थियो । जसअनुसार सेयर पुँजी ३ करोड ८२ लाख १४ हजार १ सय, बचततर्फ २६ करोड ८७ लाख ५० हजार २ सय ३२, लगानीतर्फ ३७ करोड १२ लाख १४ हजार ८ सय ७४, संस्थाको कोषमा ३ करोड ५७ लाख २७ हजार ९ सय ३५ रुपैयाँ रहेको छ ।

प्रकाशित : चैत्र ८, २०७४ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?