गन्तव्य बन्दै सातदोबाटो

‘पिकनिक’ स्थल र ‘भ्यू टावर’ निर्माण योजना
काशीराम डाँगी

सातदोबाटो (रोल्पा) — यहाँस्थित सातदोबाटो नयाँ गन्तव्यका रूपमा विकास भइरहेको छ । रमाइलो गर्न यहाँसर्वसाधारणको जमघट हुन थालेको छ ।

गन्तव्य बन्दै सातदोबाटो

सदरमुकाम लिबाङबाट सातदोबाटो जाने आगन्तुक बढेपछि पर्यटकीय पूर्वाधार तीव्ररूपमा बन्न थालेका छन् । चिटिक्क परेका घर, व्यस्त पसल र साना होटल प्रशस्तै बने ।

खासगरी बिदाका दिन बजारमा राम्रै चहलपहल हुन थालेको छ । सातदोबाटोको लाहालेकलाई वनभोज स्थलका रूपमा विकास गरिएको छ । जिल्ला र बाहिरबाट सर्वसाधारण रमाइलोकै लागि यहाँ पुग्छन् । कर्मचारी, व्यापारी र विद्यार्थीको भीड पनि उस्तै देखिन्छ । अग्ला डाँडामा नेपाली सेना र प्रहरीले बेस क्याम्प खडा गरको छन् । डाँडाहरू असाध्य मनमहोक देखिन्छ । जिल्लामा व्यवस्थित वनभोजस्थल अहिलेसम्म कतै नभएकाले यो राम्रो विकल्प बनेको स्थानीयले बताए । सदरमुकाम लिबाङलगायत आसपास बजार, गाउँ तथा विद्यालयबाट सातामा कम्तीमा २/३ समूह वनभोज खान यहाँ पुग्छन । यो जिल्लाकै अग्लो स्थान हो । जिल्ला प्रवेश गर्ने पूर्वी नाका सुलीचौरदेखि उकालो चढेपछि केही घण्टामै सातदोबाटो पुग्न सकिने भएकाले जोकोही यहाँ पुगेपछि रमाउँछन् । समुद्र सतहदेखि २ हजार मिटर अग्लो स्थानमा रहेको यो बजारभन्दा वरिपरिका डाँडा झनै अग्ला छन् । बजारदेखि उत्तरको डाँडामा नेपाल टेलिभिजन, टेलिकम, सामुदायिक रेडियोलगायतका टावर ठड्याइएको छ । दक्षिणतिरका डाँडामा नेपाली सेनाले सुरक्षा पोस्ट खडा गरेको छ । सामुदायिक र सरकारी वन रहेको क्षेत्रमा करिब दुई दशकअघि नेपाली सेनाले गुल्म राखेको हो । लिबाङदेखि सातदोबाटो १ घण्टाको दूरीमा पर्छ । यहाँबाट हिमाल र तराईका भूभाग राम्रोसित दृश्यावलोकन गर्न सकिने हुँदा पर्यटक तान्न सकेको हो ।

रोजाइमा लाहालेक
आन्तरिक पर्यटनको अर्को रोजाइ लाहालेक डाँडा बनेको छ । फुर्सदमा खानपिन र घुमघाम एवं गीत–संगीतको अभ्यास र सुटिङ गर्नकै लागि यहाँ पुग्ने गरिन्छ । ‘यो निकै सुन्दर छ । घुमघाम गर्न रमाइलो छ,’ लिबाङ ससुराली आएका सुर्खेतका विकास खरेलले भने, ‘सातदोबाटो पुग्दा प्राकृतिक आनन्द प्राप्त हुन्छ ।’ भर्खरै बिहे गरेकी श्रीमतीसहित घुम्न लेक पुगेका उनीजस्तै धेरै जोडी तस्बिर खिच्न र रमाउन व्यस्त थिए । रौतहटको ब्रह्मपुरी घर भई डेढ दशकदेखि लिबाङमा मिठाइ पसल गर्ने मेघु साहलाई लाहालेक पुग्दा औधी आनन्द मिल्ने गरेको बताए । ‘तराईमा जन्मेको हामीलाई चिसो हावा चल्ने लेक पुग्दा ज्यादै रमाइलो हुन्छ,’ उनले भने, ‘म धेरैपटक लाहालेक ‘पिकनिक’ र घुमघामका लागि परिवारसहित पुगेको छु ।’ धर्मकर्ममा निकै विश्वास भएका मेघु रोल्पाको प्रसिद्ध धार्मिकस्थल जलजलामा समेत पटकपटक जाने गरेका छन् ।

जिल्लाको मुटु सातदोबाटोस्थित लाहालेकलाई आन्तरिक पर्यटनका माध्यमबाट विकास गर्न नयाँ अवधारणा ल्याइएको स्थानीय जनप्रतिनिधिले बताए । यसको विकासका लागि रोल्पा नगरपालिकाले विशेष योजना अघि सारेको प्रमुख पूर्ण केसीले बताए । सातदोबाटोमा मुलुककै अग्लो भ्यू टावर निर्माणदेखि व्यवस्थित ‘पिकनिक’ स्थल बनाउने योजना अघि सारेको उनले बताए । ‘यसका लागि हामीले पहिलो चरणमा ६० लाख बजेट विनियोजन गरेका छौं,’ प्रमुख केसीले भने, ‘यसै वर्षबाट काम सुरु गर्छौं ।’ उनले चालु वर्षदेखि नै सम्भाव्यता अध्ययन थालेर सातदोबाटोलाई भ्यूटावर र ‘पिकनिक’ हबका रूपमा विकास गरिने बताए । फराकिलो लाहालेक चौर केही व्यक्तिको र सार्वजनिक जग्गामा पर्छ ।

जलजलामा आकर्षण
जिल्लाकै अग्लो स्थान जलजला क्षेत्रप्रति धार्मिक आकर्षण बढ्दै गएको छ । वर्षको तीनपटक पूजाआजा हुने जलजलामा धार्मिक पर्यटक पुग्ने गरेका छन् । रोल्पाको मुख्य जनजाति समूहमध्येमा पर्ने रोकामगर थरकामात्र पुजारी हुने जलजलामा वर्षमै तीनपटक बराह पूजा गरिन्छ । तीनैपटक यहाँ भव्य मेला लाग्छ । वैशाख, जेठ र साउने पूर्णिमाको दिन यहाँ ठूलो पूजा हुन्छ । सातदोबाटोको लाहालेकभन्दा जलजला उचाइमा छ । जलजला ३ हजार मिटर उचाइमा अवस्थित छ ।

प्रकाशित : चैत्र ८, २०७४ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?