कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘दुर्गममा पूर्वाधार पुर्‍याउन चुनौती’

नक्सापास प्रावधानले नगरपालिका क्षेत्रमा बन्ने नयाँ घर व्यवस्थित हुनेछन्

प्यूठान — प्यूठान नगरपालिकाले विभिन्न कानुन निर्माण गरी दोस्रो नगरसभा सकेको छ । फागुन १० देखि १६ सम्म चलेको अधिवेशनले ९ विधेयक र १४ कानुन पारित गरेको हो ।

‘दुर्गममा पूर्वाधार पुर्‍याउन चुनौती’

स्थानीय तह पहिल्यै जसरी चलेको गुनासो आइरहेका बेला जिल्लाका ९ स्थानीय तहमध्ये प्यूठान नगरपालिकाले नीति तथा कार्यक्रम जनतामाझ लगेको छ । नगरक्षेत्रभित्रका जेष्ठ नागरिकलाई नि:शुल्क उपचार, दुर्गम बस्तीलाई विकासमा पहिलो प्राथमिकता, बैंकमार्फत सामाजिक सुरक्षा भत्ता, एक वडा एक पहिचानलगायतले गति लिँदैछ । यिनै विषयमा प्यूठान नगरका प्रमुख अर्जुनकुमार कक्षपतीसँग कान्तिपुरका गिरुप्रसाद भण्डारीले गरेको कुराकानी :

नगरपालिका कसरी अगाडि बढ्दै छ ?
नगरपालिकाले ठूलो क्षेत्र र भूगोल समेटेको छ । साबिकका १० गाविस यसमा छन् । सडक, बिजुली, खानेपानीलगायत धेरै सुविधा चाँडै पाइन्छ भनेर पहिले सबैले नगरपालिकामा समावेश हुन रहर गरे । अहिले दुर्गम बस्तीमा न्यूनतम पूर्वाधार पुर्‍याउन चुनौती भइरहेको छ । आवश्यक पूर्वाधार पुर्‍याउन लागिपरेका छौं । हाम्रो बजेटको परिधि र काम सबै तीव्र गतिमा गर्न सक्ने खालका छैनन् । तै पनि हाम्रो औकातले भ्याएसम्म काम सुरु गरेका छौं । सबै दुर्गम बस्ती नगरपालिकामा समावेश भएपछि सबैले बराबर सेवा पाउने कुराको माग गर्नु जायज हो । हामीले पनि दुर्गम बस्तीलाई पहिलो प्राथमिकता दिएका छौं ।

सेवाभन्दा बढी कर लियो भन्ने गुनासो छ त ?
हामी निर्वाचित हुनुभन्दाअघि नै नगरपालिकाले एकीकृत सम्पत्ति कर कार्यान्वयनमा ल्याएको थियो । त्यसैलाई निरन्तरता दिएका हौं । पछि एकीकृत सम्पत्ति कर निर्देशिकाबमोजिम मूल्यांकन समिति गठन गरेर पहिलेको तुलनामा केही हेरफेर भएकाले अहिले खासै गुनासो आएको छैन । हामीले लिएको करले जनतालाई बढीभन्दा बढी सेवा दिएपछि गुनासा हराउँदै जाने छन् । कर तिर्न सक्नेबाट दिएर नसक्नेलाई तिर्न सक्ने बनाउने गरी अगाडि बढाउनुपर्ने नीति लिएका छौं ।

नगरपालिकाले नयाँ काम ?
नगरभित्र बसोबास अव्यवस्थित छ । नक्सा पास प्रावधानले व्यवस्थित गर्नुपर्ने छ । यसले अब नगर क्षेत्रमा बन्ने नयाँ घर व्यवस्थित हुनेछन् । हामीले कृषि क्षेत्र, आवास क्षेत्र छुट्याउँदै छौं । मुख्य–मुख्य बजारमा समिति बनाएर फोहोर व्यवस्थापनको थालनी गरेका छौं । डम्पिङ साइडमा फोहोर फाल्न थालिएको छ । बजार क्षेत्रदेखि गाउँको मुख्य–मुख्य चोक सोलार सडक बत्तीको व्यवस्था गरिएको छ । अझ थप गर्दैछौं । प्यूठान नगरपालिकाले पूर्ण सरसफाइयुक्त, बालबमैत्री स्थानीय शासन लागू भएको र पूर्णसाक्षर भएको नगरका रूपमा आफ्नो पहिचान बनाइसकेको छ । योजना बनाउनुभन्दा अघि सरोकारवालासँग छलफलसमेत गरिन्छ । नगरपालिका क्षेत्रका दुर्गम बस्तीलाई पहिलो प्राथमिकता दिएर बजेटको व्यवस्था गर्नेलगायत हामीले थालेका राम्रा पक्ष हुन् ।

कृषिलाई महत्त्व दिएन भन्ने गुनासा छ नि ?
केही साथीले कृषि क्षेत्रलाई कम प्राथमिकतामा पारेको भनेर नगरपालिकामै आई ध्यानाकर्षण गराउनुभएको छ । निर्वाचित भएको पहिलो वर्ष भएकाले वडा–वडाका सडकमा बढी लगानी भएको छ । यो राम्रो भएन भन्ने हामीलाई लागेको हो । तैपनि केही बजेट उर्वरभूमि झिमरुक फाँट जोगाउन लगाएका छौं । निर्वाचित भएलगत्तै झिमरुक फाँट सिँचाइ गर्ने नहर सोहोर्ने बजेट व्यवस्था गरेर काम भइरहेका छन् ।

झिमरुक नदीले बर्सेनि कटान धेरै गरेको क्षेत्रमा बजेट विनियोजन गरेर तटबन्धसमेत गर्न थालेका छांै । यो कामको सुरुवात एक ठाउँबाट गर्दै गएर पूरा गरौं भनेर दम्तीबाट तटबन्ध थाल्ने गरी ८० लाख विनियोजन गरी टेन्डरसमेत गरिएको छ । तर पनि कृषि, सडकभन्दा कम प्राथमिकता परेको हो कि भन्ने महसुस भएकाले अर्को वर्षबाट सुधार गरेर अगाडि बढ्ने सल्लाह गरेका छौं ।

प्रकाशित : चैत्र ८, २०७४ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?