कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माछापालनमा युवा आकर्षण

ह्याचरिङमा विशेष जोड
मनोज पौडेल

कपिलवस्तु — उनीहरू दुवै युवा हुन् । उनीहरू समुदायमा नयाँ काम गरेर नाम कमाउने पनि चाहन्छ । तर लगाव भने माछापालनतिर छ ।

माछापालनमा युवा आकर्षण

त्यसैले उनीहरूले खान एकीकृत मत्स्य फर्म तथा ह्याचलिङ व्यवसाय सुरु गरेका छन् । कृषि नपढे पनि काम गर्दागर्दै माछाका उनीहरू राम्रो जानकार भए । ती युवा हुन्, जिल्लाको सदुर पश्चिम शिवराज नगरपालिका ११ हरहवाका फरहान र फुरकान अकवाल खाँ । उनीहरूको श्रम र मेहनत जिल्लामा मात्र सीमित छैन । देशका १८ देखि २० जिल्लासम्म पुगेको छ ।

उनी मुलककै पश्चिम क्षेत्रका गतिला अगुवा कृषक हुन् । उनले वर्षको ३० लाख माछाको भुरा बेच्छन् । २ देखि ३ करोड ह्याचसिङ (अण्डाबाट निस्केको २/३ दिनको भुरा) बेच्छन् । वर्षमा ७० देखि सय मेट्रिक टन माछा बेच्छन् । ‘माछा उत्पादनभन्दा भुरा र ह्याचरिङमा जोड दिएका छौं,’ उनले भने, ‘बजार र आम्दानी दुवै राम्रो छ । लगानी पनि धेरै भइसक्यो ।’ उनका अनुसार नेपालमै भुरा उत्पादन गर्ने कम छन् । जति उत्पादन गरे पनि बिक्री हुन्छ । माग गर्ने पनि दिनदिनै बढिरहेको उनले बताए । भुरा र ह्याचरिङ कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र रूपन्देहीसम्म पुग्छ । त्यस्तै दाङ, पोखरा, पाल्पा, अर्घाखाँचीलगायत जिल्लामा पनि उनका उत्पादन पुग्छन् ।

उनका बुबा डा. अकवाल अहमद खानले ०३४/३५ सालतिर माछापालन सुरु गरेका थिए । माछामा विद्यावारिधि गरेका खानको परिवार माओवादी द्वन्द्वले नेपालबाटै पलायन भएको थियो । उनका बुबाको माओवादीले हत्या गरे । ५/६ वर्षअघिदेखि दुई छोरा फर्केर आई ३ वर्षबाट माछापालन थालेका हुन् ।

११ हेक्टरमा पोखरी बनाई ४० पोखरीमा माछा छाडिएको छ । १० वटा पोखरीमा माउ व्यवस्थापन मात्र हुन्छ । ३ वर्षसम्म माउलाई राम्रो खानपान र वातावरणमा हुर्काएर भुरा उत्पादन गर्ने गरिएको खाँले बताए । एक वर्ष भुरा उत्पादन गरेपछि तिनलाई हटाएर फेरि अर्का माउ व्यवस्थापन गरिन्छ । विशेषगरी फेब्रुअरीदेखि सेप्टेम्बरसम्म भुरा उत्पादन र बिक्री हुन्छ । अरू कात्तिकदेखि माघसम्म खाने माछा बिक्री हुन्छन् ।

४०/४२ वर्षका यी दाजुभाइ दिनभरि खट्छन् भने ८ कर्मचारीले माछा, भुरा र पोखरी व्यवस्थापन गर्छन् । उनीहरूको फार्ममा सिल्भर, बिगहेट, भाकुर, ग्रास, कमन, रोहु र नैनी जातका माछा र त्यसको भुरा उत्पादन हुन्छ । भुरा उत्पादनका लागि अत्याधुनिक ब्रिडिङ पुल र इन्कुवेसन ट्यांक बनाइएको छ । ‘भुरा उत्पादन गर्ने काम अत्यन्त सूक्ष्म तरिकाले हेर्नुपर्छ’ भाइ फुरकानले भने, ‘थोरै त्रुटि भयो भने एकैपटक लाखौं नोक्सानी हुन्छ ।’ त्यसैले भुरा उत्पादन गर्ने बेला ६ महिना भारतबाट दक्ष प्राविधिक ल्याएर पोषणयुक्त भुरा उत्पादन गर्ने गरेको उनले बताए । हामीमा भुराको माग अति बढी छ । ‘गुणस्तरमा कहिल्यै सम्झौता गर्दैनौं,’ उनले भने, ‘मुलुकभरि नाम चलेको हुँदा कतै पनि हेलचेक्र्याइँ गर्न हुन्न ।’ माछामा लाग्ने रोगव्याधि र त्यसको उपचार दाजुभाइ मिलेर गर्छन् । माछालाई पोषणका कुरा पनि राम्ररी जानेर व्यवहारमै उतारिन्छ । ‘कृषिबाट केही गरेर देखाउन चाहन्छौं,’ उनले भने, ‘त्यही भएर दिनरात यसैमा खटेका छौं ।’ खाली समयमा माछाका जर्नल, पुस्तक र इन्टनेट सर्च गरेर पढ्छौं, उनले भने ।

उनीहरूको फार्ममा २ करोड ७० लाख लगानी भएको खाँले बताए । ‘बर्सेनि ६० देखि ७० लाखमात्र आम्दानी गर्न सकेका छौं,’ फरहानले भने, ‘राज्यको नीति राम्रो नहुँदा समस्या भइरहेको छ ।’ अहिले फार्मको क्षमता अनुसार ६० प्रतिशत पनि काम नभएको उनले बताए । माछापालक कृषकलाई प्रोत्साहित गर्ने नीति बनाउन सरकारले सोच्नु जरुरी छ । ‘हामीमा लगानीमैत्री वातावरण नै छैन,’ उनले भने, ‘अहिले एकैपटक न्यूनतम एक टन माछा उत्पादन गर्‍यौं भने बजार पाइँदैन ।’ एक पटक जाल थापेर मारेको माछा बिक्री नभए फेरि पोखरीमै राख्नुपर्‍यो भने त्यसले ३ दिनसम्म केही खाँदैन । उनले भने, त्यसपछि उसको तौल घट्छ व्यवसायी मारमा पर्छ । त्यही भएर खाने माछा बेच्न उत्पादनमा कम जोड गर्छौं । ‘खाने माछा बेच्नका लागि मण्डी व्यवस्थापन गर्नुपर्छ,’ उनी भन्छन्, ‘जति उत्पादन भए पनि बजारले किनेर जहाँ जहाँ पठाउने हो उतै निकासी गरोस् ।’

प्रकाशित : चैत्र ८, २०७४ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?