१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

पुल निर्माणमा ढिलाइ

आगामी असोजमा सक्ने समयसीमा, तर अहिलेसम्म बनेन एउटै पिलर
कमल पन्थी

बर्दिया — नेपाल–भारत सीमा जोड्ने सुरजपुरस्थित सर्यु नदीमा निर्माण भइरहेको पुलको काम अलपत्र बनेको छ । ठेकेदार कम्पनीले लापरबाही गर्दा निर्माण अलपत्र भएको हो ।

पुल निर्माणमा ढिलाइ

पुलको काम आगामी वर्षात् अगाडि पूरा नभएमा दुबै मुलुकबीच आउजाउ बन्द हुने निश्चित छ । लामो समयसम्म पुल तयार नभएपछि स्थानीय निराश छन् ।

हुलाकी सडक आयोजनाअन्तर्गत यसको निर्माण थालिएको हो । ०७५ साल असोज मसान्तभित्र काम सम्पन्न गर्ने लक्ष्य छ । यसको ठेक्का बीटी शिवराम जेभीले करिब ७ करोडमा लिएको थियो । ०७३ असार मसान्तमा हुलाकी आयोजनाबाट ठेक्का लिएको जेभीले एउटा पिलरसमेत निर्माण गरेको छैन । ४० मिटर लम्बाइ र दुईवटा पिलर निर्माण गर्नु पर्ने २० महिना बितिसक्दा पनि कामले गति लिएको छैन । भारतीय सीमा नाका मुर्तिहा जोड्ने उक्त पुलको काम ठेकेदारको लापरवाहीले अघि बढ्न नसकेको स्थानीय बताउँछन् ।

हुलाकी आयोजनाले दबाब दिए पनि निर्माण कम्पनीले अटेर गरेको छ । तोकिएको समयमा पुल निर्माण हुने सम्भावना न्यून बन्दै गएकाले म्याद थप गर्ने अवस्था आउने आयोजना स्रोतले बतायो । निर्माण कम्पनीका लेखा अधिकृत अनिलकुमार सिंहले नेपालभरि एक हजारभन्दा बढी ठेक्का जेभीले लिएकोले सम्झौताअनुसार समयमा काम गर्न नसकिने बताए । ‘गत साउनमा आएको बाढीले काम गर्न दिएन,’ उनले भने, ‘खोलामा डाइभर्सन गरी पुल निर्माणको काम गरिँदै आए पनि समय लाग्ने भएको छ ।’ पुलनजिक सार्वजनिक सूचना पाटी राखिनेबाहेक अरू काम भएको छैन । पुल निर्माण गर्न ठेकेदार कम्पनीले खासै चासो नदिएको उद्योग वाणिज्य संघ बर्दियाका अध्यक्ष वीरबहादुर चौधरीले गुनासो पोखे ।

भारतसँग जोडिने यो सडक सुरक्षाका दृष्टिले निकै संवेदनशील छ । सीमानजिक निर्माण गरिने पुल नहुँदा वर्षात्मा सुरक्षाकर्मीलाई गस्ती गर्न समस्या आउने बताउँछन् । आयोजना प्रमुख सौरभ बज्राचार्यले समयमा काम सम्पन्न गर्न ठेकेदारलाई कडाइ गरिएको बताए । ‘तोकिएको समयमा पुल नसके ऐनअनुसार कारबाही गरिने छ,’ उनले भने ।

६ वर्षअघि करिब २ करोड ५० लाखको लागतमा निर्माण भएको नजिकैको अर्को पुल भने दक्षिणपट्टि नदीकटानले जोखिममा परेको छ । माटो पटान र तटबन्ध गरे पुल सञ्चालनमा आउने प्राविधिकको भनाइ छ । तर ठूला सवारी साधनका लागि उक्त पुल जोखिम हुने हुलाकी आयोजनाका प्राविधिकले बताए ।

प्रकाशित : चैत्र २२, २०७४ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?