१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

गाउँमै सेवा पुगेपछि सदरमुकाम सुनसान

अघोषित सिन्डिकेट
करोडौं लगानीका व्यवसाय बन्द
वीरेन्द्र केसी

अर्घाखाँची — संघीय संरचनाअनुसार स्थानीय तहको चुनाव हुनुअघि जिल्ला सदरमुकाममा निकै चहलपहल हुन्थ्यो । जनप्रतिनिधि चुनिएपछि गाउँमा स्थानीय तह सञ्चालनमा आए ।

गाउँमै सेवा पुगेपछि सदरमुकाम सुनसान

त्यसपछि विषयगत कार्यालयका विकास शाखा खुलेर जनप्रतिनिधि, कर्मचारी, नेता, उपभोक्ता र सर्वसाधारणको जमघटले गाउँमै रौनकता ल्यायो । यसपछि भने सदरमुुकाम सुनसान हुन थालेका छन् ।

विकास योजना माग्न सदरमुकाम आउने सर्वसाधारण अहिले स्थानीय तहकै कार्यालय जान्छन् । गाउँ केन्द्रित भएपछि जिल्ला कार्यालयमा भीडभाड निकै कम भएको स्थानीयले बताए ।

सदरमुकामका साना खुद्रा व्यवसायको कारोबारमा ह्वात्तै गिरावट छ । होटल तथा रेस्टुरेन्टसहित विभिन्न पसलका कारोबार घटेसँगै बन्द हुन थालेका छन् । तीन वर्षअघि १४ कोठा र हलसहित साथी होटल सञ्चालनमा आएको थियो । खानाका विभिन्न परिकार र बास बस्न राम्रो सुविधा हुँदा यहाँ भीडभाड हुन्थ्यो । यो जिल्लाकै ठूलो होटलमा गणना भयो । १० करोड लगानी गरेर स्थानीय बाबुराम भुसालले चलाएको साथी होटल सूचना टाँसेर बन्द गरियो ।

‘सुरुमा त पाहुना राम्रै आएका थिए,’ भुसालले भने, ‘स्थानीय चुनावपछि गाउँबाट सदरमुकाम झर्नेको संख्या आधै घट्यो । व्यापार कमी भएपछि कर्मचारीलाई तलब खुवाउनै सकिएन ।’ दिनमा चार/पाँच हजारको कारोबारले थेग्न सकेन । पहिला पन्ध्र/बीस हजार हुन्थ्यो । घाटा खाएर व्यापार गर्नुभन्दा बन्द गर्नु उचित उनले भने । लगानीका हिसाबले जिल्लामै साथी होटल ठूलो मानिन्थ्यो । सिंहदरबारको अधिकार गाउँमा आयो भनिएको छ । ‘परिवर्तन र अधिकारीमा मेरो विरोध छैन,’ उनले भने, ‘तर, हामीलाई ठूलो लगानीको व्यवसाय चलाउन गाह्रो पर्‍यो । सरकारी कार्यालयमा विकास योजना माग्न, सम्झौता गर्न गाउँबाट उपभोक्ता, नेता आउँथे र बस्थे अनि व्यापार हुन्थ्यो । अब त शून्य छ ।’ सदरमुकाम बसेर पर्यटकीय स्थलमा पुग्ने कुनै संरचना नभएपछि जिल्ला बाहिरबाट पनि पर्यटक त्यति आउँदैनन् । साना खुद्रे व्यापारी पनि मर्कामै छन् ।

होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ अध्यक्ष एवं भण्डारी होटलका सञ्चालक नोलराज भण्डारीले पालिकाको चुनावपछि ७५ प्रतिशत कारोबार घटेको बताए । ‘धेरै व्यवसायीले व्यापार भएन लौ न होटल बेच्नुपर्‍यो, ग्राहक खोज्नु भनेका छन्,’ उनले भने, ‘आउँदो असारसम्म ५० प्रतिशत होटल बन्द हुन्छन् ।’ सरकारी कामले सदरमुकाम आउने नेता, कर्मचारी, उपभोक्ता समिति र सर्वसाधारण सबै पालिकमै गएपछि कारोबारमा ठूलो गिरावट आएको उनले बताए । पाहुना नै नआएपछि कसरी बस्नु ? होटलका कोठा प्याक हुन्थे, अहिले सबै खाली छन्, उनले भने । पाहुना नआउनु, घाटा लाग्नु र भाडा तिर्न नसकेपछि बन्द गर्नुको विकल्प छैन ।

सन्धिखर्कस्थित मेनरोडमा मिलन होटलका सञ्चालक हुमबहादुर कुँवरले खाजा र चिया बेच्छन् । ग्राहकलाई खाजा र चिया खुवाउन हात खाली हुँदैनथ्यो, अहिले कामै हुन्न, घर भाडा, कोठाभाड तिर्न नपुगेपछि व्यवसाय चलाउन नसकिएको उनले बताए । ६ महिनाभित्र चुत्राबेंसी र सन्धिखर्कका केही फेन्सी व्यवसायीले सटर बन्द गरे । प्रतीक, आराधाना, देउराली, स्नेहा, कामना फेन्सी स्टोरसहित १२ वटा पसल बन्दै भए । कोही विदेशिए, कोही अन्यत्र लागे । लाखौं लगानी गरेर वर्षौंदेखि पसल चलाउनेले कारोबार घटेकै कारण बन्द गरेको व्यवसायी बताउँछन् । ‘पहिले धेरै व्यापार हुन्थ्यो,’ स्नेहाका प्रेम खड्काले भने, ‘सटर भाडा तिर्न, घरखर्च, छोराछोरी पढाउन पुगेर केही रकम बचत हुन्थ्यो । सामान थप्न र नयाँ डिजाइनका ल्याउन सहज थियो ।’ अहिले त्यस्तो कारोबार छैन । महिनाभरिको व्यापारले सटर भाडा र खानै नपुगेपछि बन्द गरेको उनले बताए । पहिलेको जस्तो गाडीमा कोचाकोच गरेर गाउँबाट आउनेको संख्या धेरै घट्यो । कारोबार भएन, घाटा भएपछि व्यवसायबाट हात झिकेको उनले बताए ।

घरायसीदेखि सरकारी कामसम्मका लागि दैनिक सहर झर्नेको ताँती हुन्थ्यो । त्यसैलाई व्यवसायीले आफ्नो कारोबारसँग जोडेका थिए ।

‘दिनभर पसलमा बस्दा छिटफुट मात्रै ग्राहक आउँछन्,’ कपडा तथा फेन्सी व्यवसायी समिति अध्यक्ष एवं गोविन्द गिफ्ट एन्ड फेन्सी हाउसका गोविन्द आचार्यले भने, ‘अहिले सुनासानजस्तै छ । गल्लीमा आवतजावत गर्ने पातलो भएका छन् ।’

स्थानीय चुनावपछि १२ पसल बन्द भएको र अरू पनि तरखरमा पुगेको उनले बताए । सटर भाडा, बस्ने घरभाडा, छोरोछोरीको पढाइ, खाना र लत्ताकपडासहितको खर्च धान्न नसकेपछि धेरै व्यवसायी विस्थापित हुनुपरेको आचार्यले बताए ।

सटर भाडाबाहेक सानो एक परिवारलाई महिनामा १५ देखि ३० हजार रुपैयाँ खर्च हुने अनुमान छ । तर व्यापार शून्यजस्तै भएपछि व्यापारी विस्थापित हुँदैछन् ।

प्रकाशित : चैत्र २७, २०७४ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?