२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

ग्रामीण बस्तीमा गाडी पुगेन

नयाँ गाडी गुडाउन यातायात व्यवसायीको भित्रभित्रै रोक

परासी — पश्चिम नवलपरासीका बस व्यवसायीबीच गाडी सञ्चालनमा होडबाजी नै चलेको छ । बजार क्षेत्रमा यस्तो होड चले पनि गाउँमा गाडी पुगेका छैनन् । व्यवसायीको अघोषित सिन्डिकेटका कारण ग्रामीण भेगमा गाडी चल्न नसकेका हुन् ।

ग्रामीण बस्तीमा गाडी पुगेन

२० वर्षभन्दा पुराना सवारी विस्थापित गर्ने सरकारी योजनाअनुसार यहाँका पुराना गाडी अहिले सार्वजनिक रुटमा कम चलेका छन् । यस्तोमा नयाँ बस किनेर गुडाउन यातायात व्यवसायीले भित्रभित्रै रोक लगाउने गर्छन् ।

नयाँ बस किन्नु परे पुरानै रुटमा चलाइरहेकाले नै किन्ने तर नयाँलाई चलाउन नदिने रणनीतिमा पुराना व्यवसायी लागिपरेका छन् । सरकारले सार्वजनिक सडकमा यातायात व्यवसायीको एकाधिकार तोडदै अन्यलाई पनि सञ्चालन अनुमति दिएको छ । यहाँ भने सीमित यातायात व्यवसायी संघमा आबद्ध सवारी मात्र गुड्छन् । बर्दघाट नगरपालिका २ को विकट पटुके बस्तीलाई गाउँपालिका केन्द्रसँग सडक सञ्जालबाट जोड्न कच्ची बाटो खनिएको छ । यातायात भने गाउँसम्म पुगेका छैनन् । बाटो बनेपछि स्थानीय उत्पादनले बजार पाउने, घण्टौं पैदल हिँड्नु नपर्ने तथा गाउँमै किनमेलका सामान पाउने आशा गरेका स्थानीयले सार्वजनिक यातायात नचलेपछि निरास हुनुपरेको हो । बाटो खन्न सुरु भएदेखि नै गाउँमा
सुविधा र विकास हुने आशा गरेकाले बर्दघाटसम्म सार्वजनिक यातायात चलाउन माग गरेका छन् ।

ग्रामीण स्थानमा सञ्चालन भएका निश्चत सवारीमा यात्रुको चाप धेरै हुने र क्षमताभन्दा बढी यात्रु बोक्दा दुर्घटना जोखिम मोलेर यात्रा गर्न बाध्य हुनुपर्छ । नयाँ गाडी सञ्चालन गर्न नदिने र नथप्दा यस्तो समस्या आएको हो । मध्य नेपाल यातायात व्यवसायी समिति अध्यक्ष ऋषि पौडेलका अनुसार आफ्नो समितिमा सिन्डिकेट नभएको र यात्रु चाप हेरेर सवारी चलाउने गरिएको बताए । सवारी थप्ने नाममा यात्रुको अनुपातभन्दा अति धेरै लगानी मात्र गरेर पनि व्यवसायीको पेसागत सुरक्षा नहुने हुँदा यात्रु चापअनुसार ग्रामीण भेगमा पनि गाडी चलाइएको छ, उनले भने, ‘लामो रुटमा चल्ने समितिले भन्दा हामीले ग्रामीण क्षेत्रलाई नै भनेर साना–ठूला करिब ३ सय सवारी सञ्चालनमा गरेकाले यात्रुको अनुपातमा यो संख्या पर्याप्त रहेको छ ।’

परासी वा कावासोती आउन पनि घण्टौं बस कुर्नुपर्ने समस्यामा स्थानीय छन् । ग्रामीण भेगमा यातायात पुगेको छैन तर सिन्डिकेटका कारण सञ्चालनमा आउन नसक्दा आफूहरूलाई साह्रै असुविधा भएको स्थानीय नरबहादुर खाम्चा मगरले बताए । ‘बजारमा बस चलाउन होड नै गर्नेले गाउँमा सवारी चलाउन मान्दैनन्,’ उनले भने, ‘यसअघि पुराना गाडीलाई विकट गाउँमा चल्ने रुटका रूपमा प्रयोग गर्दै आए पनि अहिले त्यस्ता हटेपछि ग्रामीण क्षेत्रमा लाखौं खर्चेर नयाँ गाडी नचलाउँदा थप समस्या पर्ने हो कि भन्ने लागेको छ ।’ सर्वसाधारणले भने बजारमा सवारी चाप उच्च हुँदा गाउँमा सीमित पुराना सवारी मात्र सञ्चालन हुने गरेको गुनासो छ ।

प्रकाशित : चैत्र २७, २०७४ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?