कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

तीन महिने बजेट आज

घनश्याम गौतम

रुपन्देही — प्रदेश सरकारले चालू वर्षका बाँकी ३ महिनाका लागि तयार गरेको पहिलो बजेट शुक्रबार सार्वजनिक गर्दैछ । आइतबार प्रस्तुत नीति कार्यक्रम र बिहीबार पारित आर्थिक र सामाजिक स्थितिपत्रमा टेकेर तयार गरिएको छ । संघीयबाट यहाँको सरकारलाई १ अर्ब २ करोड ५ लाख बजेट उपलब्ध भएको छ ।

तीन महिने बजेट आज

उक्त रकमको सीमामा रहेर सरकारले बजेट ल्याउने जनाएको छ । नीति कार्यक्रममा समेटिएका योजनाको सम्भाव्यता अध्ययन र अनुसन्धानका लागि ४० प्रतिशत बजेट छ । सरकारले स्थापना गरेको आकस्मिक कोषका लागि १० करोड रकम छुट्याएको छ । बाँकी रकम मन्त्रालय व्यवस्थापन, कर्मचारी र प्रशासनका लागि विनियोजन भएको छ । कृषि क्षेत्र प्रोत्साहनका लागि सहकारी विकास र कृषि अनुदान कोषमा १/१ करोड विनियोजन गरिएको छ ।

कृषिमा यान्त्रीकरण, शीत भण्डार निर्माणलाई प्राथमिकता दिएको छ । कृषि विकास र मन्त्रालयको प्रशासन खर्चका लागि झन्डै ४ करोड विनियोजन गरिएको छ । प्रदेश विकासको आधार मानिएको उद्योग र पर्यटनका लागि धेरै बजेट छुट्याइएको छैन । उद्योग र पर्यटनका अधिकांश योजना सम्भाव्यता अध्ययनका छन् ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका लागि झण्डै ३ करोड विनियोजन छ । सरकारले पाहुना चराको गन्तव्य बनेको कपिलवस्तुको जगदीशपुर ताल, विभिन्न जिल्लाका खानीको सम्भाव्यता अध्ययन र उत्खनन, नयाँ औद्योगिक क्षेत्रको स्थापना, जडीबुटी उद्योगको सम्भाव्यता अध्ययन र लुम्बिनी क्षेत्रको पर्यटन विकासलाई बजेटमा उच्च प्राथमिकता दिएको अर्थमन्त्रालय स्रोतले जनायो ।

मन्त्रालयमध्ये सबैभन्दा बढी रकम भौतिक पूर्वाधार विकासमा छ । सडक, खानेपानी, सिंचाइसहित योजनाको सम्भाव्यता अध्ययन, केही साना योजनासहित मन्त्रालय व्यवस्थापन गर्ने गरी झण्डै २३ करोड विनियोजन भएको छ । त्यसबाट सरकारले प्रदेशका सबै मन्त्रालयबाट हुने अध्ययन, अनुसन्धान, छलफल, अन्तक्र्रिया, गोष्ठीसहित कार्यक्रमका लागि प्रतिमन्त्रालय ५ देखि १० लाख विनियोजन गरेको स्रोतले जनायो । त्यस्तै प्राकृतिक विपद्मा परेका नागरिकको राहतका लागि सरकारले छुट्टै प्रादेशिक कोष स्थापनालाई प्राथमिकतासाथ विनियोजन गरेको छ ।

प्रादेशिक विश्वविद्यालय, १ वर्षभित्रै साक्षरता प्रदेश घोषणा, प्रत्येक स्थानीय तहमा १५ बेडको अस्पताल, प्रादेशिक रंगशाला निर्माण, महिला पुनस्र्थापना केन्द्रलगायत कार्यक्रम अघि सारेको सामाजिक विकास मन्त्रालयलाई सरकारले झण्डै ५ करोड बजेट उपलब्ध गराएको स्रोतले जनायो । प्रदेश सरकारले तयार गरेको बजेट संसद्मा प्रस्तुत गर्नका लागि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको छ । सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले सरकारको विनियोजन विधेयक र राजस्व र व्ययको अनुमान बजेट प्रदेश सभामा पेश गर्न स्वीकृति दिएको बताए । ‘आर्थिक मामिला तथा योजना मन्त्रालयले तयार गरेको बजेट भोलिको प्रदेशसभामा सार्वजनिक हुनेछ,’ उनले भने, ‘त्यसका लागि क्याबिनेटले स्वीकृति दिएको छ ।’ बजेट आर्थिक मामिला तथा योजना मन्त्रालयसमेत संहालेका मुख्यमन्त्री शंकर पोखरेलले प्रस्तुत गर्ने छन् ।

स्थितिपत्र सभामा
सरकारले बिहीबारको प्रदेशसभा बैठकमा यहाँका १२ जिल्लाको आर्थिक र सामाजिक अवस्थाको स्थितिपत्र सार्वजनिक गरेको छ । मुख्यमन्त्री पोखरेलले स्थितिपत्र सार्वजनिक गर्दै जनसंख्या, भौतिक तथा सामाजिक विकासको औसत अवस्था, राष्ट्रिय आय, गरिबी, मानवीय विकासको अवस्था विश्लेषण गर्दा प्रदेशको स्थिति औसतमा राम्रो रहेको बताए । प्रदेश मानव विकास सूचकांकसहित समग्र विश्लेषणमा ७ प्रदेशमध्ये चौंथो नम्बरमा छ । कृषिअन्तर्गत धान, दूध, तेलहन र मासु उत्पादनमा पहिलो स्थान छ । उत्पादनयोग्य भूमि, जनघनत्व र खानेपानीमा तेस्रो स्थानमा रहेको उल्लेख छ । त्यस्तै कुल ग्राहस्थ उत्पादनमा प्रदेशले १५ प्रतिशत सहयोग गरेको स्थितिपत्रमा उल्लेख छ ।

प्रकाशित : चैत्र ३०, २०७४ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?