कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पक्की पुल बन्यो सडक सुधार भएन

सडक कालोपत्रे गर्न माग

प्यूठान — सदरमुकाम जोड्ने बिजुवार–थापडाँडा सडक कालोपत्रे गर्न स्थानीयले माग गरेका छन् । झिमरुक खोलामा पक्की पुल बने पनि व्यापारी केन्द्र बिजुवार र सदरमुकाम खलंगा जोड्ने सडक लामो समयसम्म सुधार नहुँदा स्थानीयले कालोपत्रे गर्न माग गरेका हुन् ।

पक्की पुल बन्यो सडक सुधार भएन

जिल्लाको महत्वपूर्ण सडक भएर पनि यो कालोपत्रे गर्नेमा नेताको ध्यान नपुगेको प्यूठान नगरपालिका ४ का सदस्य रेशम कार्कीले बताए ।

‘पुल निर्माणपछि बर्खामा झिमरुक खोला बढे पनि खलंगा जान सजिलो त भयो,’ कार्कीले भने, ‘तर सडक कालोपत्रे नहुँदा गाडी गुड्न सहज छैन ।’ उनले पानी पर्दा उकालो रातोमाटोमा गाडी फसेर समस्या हुने गरेको बताए । सडकको अवस्था राम्रो नभएकाले अझै बिजुवारबाट खलंगा जाने बाग्दुला भएर घुमाउरो बाटो नै प्रयोग गर्नुपर्ने अवस्था रहेको कार्कीले बताउँछन् । बिजुवार–थापडाँडा सडक निर्माण भएको वर्षांै भए पनि अवस्था खासै सुधार नभएको स्थानीय घनबहादुर भण्डारीले बताए । ‘बाग्दुलाबाट खलंगा जोड्ने सडक बन्नुभन्दा अघि यो बनेको हो,’ भण्डारीले भने, ‘तर सडक अझै कालोपत्रे हुन सकेन ।’

थापडाँडा, कार्कीडाँडा, पाण्डेडाँडा र खलंगावासीलाई सडक कालोपत्रे भए निकै सहज हुने उनले बताए । झिमरुक नदीमा पुल बनेकाले सडक राम्रो भए खलंगा जाने यात्रु बाग्दुला भएर सीधै खलंगा निस्कने स्थानीय गिरबहादुर कर्कीले बताए । ‘बिजुवार–खलंगाको दूरी ६ किलोमिटर छ,’ कार्कीले भने, ‘सडकको अवस्था राम्रो नभएकाले बाग्दुला भएर १३ किलोमिटर घुमाउरो बाटो गाडी हिँड्छन् ।’ हरेक निर्वाचनमा नेताले सडक कालोपत्रे गर्ने कुरा गरे पनि चुनाव जितेपछि बिर्सने गर्दा वर्षौं सडक सुधार हुन नसकेको कार्कीले बताए । पाँच नम्बर प्रदेशका भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीलाई जिल्ला आएका बेला सडक कालोपत्रे गर्न स्थानीयले माग गरेको कार्कीले बताए ।

प्यूठान उद्योग वाणिज्य संघले च्याम्बर मार्गको नामकरण गरी सुरुमा सडक निर्माण गर्न पहल गरेको संघका पूर्वअध्यक्ष इमानसिंह भारतीले बताए । साबिकको जिविस, प्यूठान नगरपालिका र सडक डिभिजन कार्यालले केही वर्षअघिदेखि सडक निर्माणमा थोरै–थोरै रकम विनियोजन गरी मर्मत गर्दै आएका छन् । कालोपत्रे गर्नेगरी भने कुनै निकाएले बजेट व्यवस्था गरेको छैन । ‘झिमरुक नदीमा बनेको पुल बिजुवार–खलंगाको विभाजित मानसिकता जोड्ने पहिलो आधार बनेको छ,’ प्यूठान नगरपालिका­ ४ का अध्यक्ष लक्ष्मीप्रकाश राजभण्डारीले भने, ‘पुल मात्र बनेर भएन । सडक पनि राम्रो भए यसले सार्थकता पाउँथ्यो ।’ नगरको कार्यपालिका बैठकमा सडक ओटासिल कालोपत्रे गर्ने विषयमा कुरा गरिरहेको राजभण्डारीले बताए ।

प्रकाशित : चैत्र ३०, २०७४ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?