जग्गा अतिक्रमण रोकिएन

पक्की घर भत्काउन सरोकारवाला नै मौन
वीरेन्द्र केसी

अर्घाखाँची — सदरमुकामका सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घर, घडेरी र टहरा हटाउने कुरा बारम्बार उठ्छ । नेताको आड र शक्तिकेन्द्रको पहुँचमा मिचेर बनाइएका पक्की घर हटाउन कसैले चासो राख्दैन ।

जग्गा अतिक्रमण रोकिएन

४ वर्षअघि जिल्ला प्रशासन, नापीसहित सरोकारवाला प्रतिनिधिमण्डलले सन्धिखर्क, चुत्राबेंसीसहित सदरमुकाममा जग्गा मिचेर बनाएको नक्साको विवरण सार्वजनिक गर्‍यो । त्यसपछि हटाउने कुरा जोडतोडले उठ्यो । तर, पछि कारबाही गर्ने निकाय नै मौन बस्यो । जग्गा मिचेर संरचना बनाउनेमा पैसावाला, पहुँचवाला र टाठाबाठा नै छन् । त्यतिबेला सन्धिखर्क गाविसले बजेट छुटाएर छानबिन समिति बनाई रिपोर्ट तयार गरेको थियो । अहिले सन्धिखर्क नगरपालिका बनेको छ ।

समिति सदस्य रामबहादुर रायमाझीले चुत्राबेंसी र सन्धिखर्कका मेन रोडमै जग्गा अतिक्रमण गरेर घर बनाइएको बताए । ‘नक्सा हेरेर अनुगमन गर्‍यौं, विवरण पनि सार्वजनिक गरेर जिल्ला प्रशासन, दलका पार्टी कार्यालयलगायतमा बुझायौं,’ उनले भने, ‘कुरा उठ्छ, कहिल्यै काम हुन सक्दैन ।’ पुरानो बसपार्क, पेट्रोल पम्प लाइन, जिप काउन्टर, बाँगी खोलामा त व्यक्तिले आधाभन्दा बढी सार्वजनिक जग्गा मिचेर पक्की घर बनाएको भेटियो । ‘सबै विवरण पेस गरेका छौं,’ उनले भने, ‘जिल्ला प्रशासनलगायत सरकारी निकायको दराजमा थन्किएर बसेका छन् ।’ सन्धिखर्क नगरपालिकाले चुत्राबेंसीको खोलामा बनाइएका चार टहरा हटाएको छ । हट्ने सूचना दिएर पनि नहटेको एउटा टहरा डोजर लगाएरै भत्काइयो ।

सन्धिखर्क नगर प्रमुख कमलप्रसाद भुसाल, उपप्रमुख ठाकुरकुमार विकसहित जनप्रतिनिधिले अतिक्रमित घर टहरा हटाउने उद्घोष गरे । न्यून परिवार बसेका टहरा नगरपालिकाले हटायो । तर, सार्वजनिक जग्गा मिचेर बनेका ठूला घर भत्काउनेमा चासो नदिएको बजारवासीको गुनासो छ ।

‘ठूला घरका पिल्लरमा पनि डोजर चलाउनुपर्छ,’ रायमाझीले भने, ‘पहुँच नभएका सामान्यको हटाउने र पैसावाला, पहुँचवालाको भत्काउन चुप लागेर बस्नु हुँदैन । सुकुम्बासीलाई हटाएर घरबारविहीन बनाउने तर ठूलालाई संरक्षण गर्नु कहाँसम्मको न्याय हो ?’ तीन/चार तला बनेका कतिपय घर आधा सार्वजनिक जग्गा मिचेर बनाइएका छन् । ‘हामीले प्रतिवेदन सार्वजनिक गरेपछि पनि जग्गा मिचेर घर ठड्याउने, घडेरीमा बेच्ने काम रोकिएन,’ उनले भने, ‘अझै पनि बढ्दो छ । मेयर, उपमेयर, प्रशासन र जनप्रतिनिधिले न्यायपूर्ण तरिकाले काम गर्नुपर्छ ।’ सुकुम्बासीका रूपमा भद्रीखोलामा टहरा बनाएका पुरनबहादुर थापाको झुप्रो नगरपालिकाले डोजर लगाएर हटाएको छ । त्यस्तै सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घरका पिल्लरमा छुन नसकेको उनले बताए ।

सार्वजनिक जग्गा अतिक्रमण गरी घर बनाएर बस्नु ठीक होइन । गरिब व्यक्तिका टहरा भत्काउने तर पहुँच र पैसावाला व्यक्तिले बनाएका घर भत्काउन नगरपालिकाले चासो नदिएको प्रति नगरवासी आक्रोशित छन् । सदरमुकामभित्रको चुत्राबेंसी, सन्धिखर्क बजारदेखि फुदबाङसम्म जग्गा अतिक्रमण गरी घर बनाइएका छन् । सार्वजनिक जग्गा मिचेर घर बनाएका पैसावाला राजनीतिक दल र नेताको आडमा रहेकाले मेयर र उपमेयरले चासो नदिएको एक स्थानीयको आरोप छ । चुनाव लड्न नेता र पार्टीलाई पैसा बाँड्छन्, अनि तिनको कसरी हटाऊन् ? उनले भने ।

नगर उपप्रमुख विकले सार्वजनिक जग्गा मिचेर बनाइएका घरटहरा हटाउन अभियान सुरु गरेको बताए । ‘साना झुप्रा हटाइयो,’ उनले भने, ‘ठूला घरको हकमा भने सबै सांसद, पार्टीका शीर्ष नेतासँग छलफल गरेर टुंगो लगाउँछौं । सर्वदलीय र सर्वपक्षीय बैठक बसेर मात्रै अघि बढ्छौं ।’ नगरभित्रकै सुपादेउराली मन्दिर आसपासमा निर्माण भएका सबै घर सार्वजनिकमै छन् । सन्धिखर्क–गोरुसिंगे खण्डको उपल्लो लाइनमा डेढ सयभन्दा बढी ट्यांकी छन् । तलपट्टिको साइडमा चार/पाँच तलाका पक्की घर बन्दै छन् । केही बनिसकेके, उनले जनाए ।

प्रमुख जिल्ला अधिकारी खिमप्रसाद भुसालको अध्यक्षतामा प्रदेश सांसद रामजीप्रसाद घिमिरेसहित जनप्रतिनिधि, सर्वदलीय र सर्वपक्षीय बैठकमा सडकको उपल्लो साइडका ट्यांकी हटाउने निर्णय गरेको छ । तर, पक्की घर भत्काउने विषयमा भने निर्णय गरेन । ट्यांकीमा व्यवसाय गर्नेले आफ्ना हटाएपछि पक्की घर पनि हटाउनुपर्ने दाबी गरेका छन् ।

प्रकाशित : चैत्र ३०, २०७४ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?