जंगलको खोल्सामा फोहोर

ल्यान्डफिल साइट अलपत्र
माधव अर्याल

पाल्पा — जनप्रतिनिधि चयन भएको १० महिना पुग्दा पनि झन्डै चार वर्षदेखि बन्द ल्यान्डफिल साइट सञ्चालनको पहल भएको छैन । यसले तानसेन बजार क्षेत्रबाट निस्कने फोहोर जंगलको खोल्सामा यत्रतत्र फालिएको छ । झन्डै ४ करोड खर्चेर तानसेन ५ सेतीपोखरीनजिक निर्माण सेनेटरी ल्यान्डफिल साइटमा स्थानीयले फोहोर फाल्न रोकेका छन् ।

पाल्पा– नगरपालिकाले अन्तर्राष्ट्रिय मान्यता र सेनेटरी ल्यान्डफिल साइटको अवधारणाविपरीत फोहोर फालेकाले रोकिएको हो । स्थानीयले साइट बन्द गरेपछि तानसेन ५ कै वनदेवी जंगल क्षेत्रमा यत्रतत्र फोहोर फ्याँक्दै आएको छ ।

Yamaha


२०६९ असोज २५ मा सञ्चालित साइट ०७० असोज ३ गतेपछि बन्द छ । स्थानीय प्रभावितले अवधारणा अनुसार फोहोर फाल्ने भए मात्र सञ्चालन गर्न दिने बताउँदै आएका छन् । जथाभावी र जस्तोसुकै फोहोर फाल्दा दुर्गन्धित बनेपछि अनिश्चितकालका लागि रोक लगाउनुपरेको स्थानीयले बताए । ‘नाम सेनेटरी र काम डम्पिङको भएपछि बन्द गर्नुपर्‍यो,’ स्थानीय सुनील कार्कीले भने, ‘सुरुदेखि नै नगरपालिकाले स्थानीयलाई झुक्याउँदै आए पनि जनप्रतिनिधि आएको यतिका महिना भइसक्यो तर पनि काम अघि बढेजस्तो लागेको छैन ।’


सेनेटरीको अवधारणाविपरीत ल्याएको फोहोरलाई व्यवस्थित नगरेर माटोले छोप्ने गरिएकाले साइट वरपरका गाउँको वातावरणमा प्रतिकूल असर परेको थियो । साइटको अवधारणाअनुसार पहिल्यै फोहोरलाई वर्गीकरण गरेर कुहिने, नकुहिने छुट्याउनुपर्ने हुन्छ । योबाहेक सड्ने, गल्ने साथै नसड्ने, नगल्नेलाई छुट्याएरमात्र साइटमा लग्नुपर्ने हुन्छ । जलाउने स्थान, लिचड निस्कने स्थानसमेत बनिसकेको अवस्थामा नगरपालिकाले बेवास्ता गरेको स्थानीयको गुनासो थियो ।


तानसेनदेखि ४ किमि टाढाको सेतीपोखरी (सम्मोबारी) नजिकै साइट निर्माण भएको हो । २०५९ मा साबिकको तानसेन १२ शिवपोखरीमा खरिद गरेको २९ रोपनी जग्गामा साइट निर्माण भएको छ । नगरपालिकाले ट्रयाक्टर, ट्रिपर, जेसीभीलगायत सामग्री साइटका लागि किनेको छ । स्थानीय प्रभावित क्षेत्रका बासिन्दा कृष्ण कार्कीका अनुसार सेनेटरीको नाममा डम्पिङ बनाएपछि बन्द गर्न बाध्य भएको बताए । अहिले नगरपालिकाले तानसेन–तम्घास खण्डको देउराली सामुदायिक वनमा फोहोर फाल्दै आएको छ । अव्यवस्थित रूपमा फोहोर फालिँदा वर्षाको भेलले तल्लो तटीय क्षेत्र दुर्गन्धित बनेको स्थानीय गोकुल पौडेलले बताए । सामुदायिक वनमा फालिएको फोहोर होलाङ्दी–सेतीपोखरी मोटरबाटोमा थुप्रिने गरेको छ । फोहोर बगाउँदा सडकको छेउ भत्कने र गिट्टी माटोले पुर्ने गर्छ ।


जथाभावी फोहोर डम्पिङ गर्दा दुर्गन्ध पनि उत्तिकै फैलिन्छ । सड्ने, कुहिने तथा नकुहिने, प्लास्टिक सबै साइटमा फाल्दा वरपरको वातावरण प्रदूषित बनेको छ । नगरपालिका १० तेल्घाको गणसाल, भार्केस, आमडाँडा, सुरुङतुङ, तल्लो गणसाल, तानसेन पाँच शिवपोखरी, सालघारी, सेतीपोखरी, तल्लो धरमपानीलगायत गाउँटोलवासी साइट प्रभावित हुन् । साइटमा फ्रेस हाउसबाट निस्कने फोहोर, सीसा, काँच र प्लास्टिक फालिएको छ । यसले वातावरण प्रदूषित बन्दै गएको उनले बताए । यस भेगका झन्डै ७ सय परिवारलाई साइटले प्रभावित गरेको छ । उनीहरूले गाउँ, घर, टोलमै बस्न नसकिने गरी झिंगा, दुर्गन्ध र वातावरणीय असर गरेकाले विकल्प खोजेर अहिलेको स्थान बन्द गरेका हुन् । तानसेनमा दैनिक कम्तीमा ६ टन फोहोर उत्पादन हुन्छ ।


रोक्न सर्वोच्च
गाउँनजिकै फोहोर नफाल्न साइट प्रभावित क्षेत्रवासी तानसेन नगरपालिकाविरुद्ध सर्वोच्च अदालत पुगेका छन् । तानसेन १० तेल्घाका ७६ वर्षीय कृष्णप्रसाद उपाध्याय पौडेलसमेत २ सय ६७ ले हस्ताक्षर गरेर उत्प्रेषण, परमादेशलगायत अन्य जो चाहिने उपयुक्त आदेशका लागि सर्वोच्चमा मुद्दा दायर गरेका थिए । प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन (आईई) प्रतिवेदन बनाएर ल्यान्डफिल साइट निर्माण सुरु गर्दादेखि नै सरोकार समिति गठन गरेर प्रभावित क्षेत्र (अहिले ल्यान्डफिल साइट बनेको स्थल) मा विसर्जनका लागि विरोध गर्दै आएको थियो ।


तेल्घावासीले नगरपालिकाले संविधान, कानुन एवं प्रचलित सिद्धान्तको ठाडै उल्लंघन हुनेगरी भएका कामकारबाही उत्प्रेषणको आदेशले बदर गरिपाउँm र अन्य जो चाहिने आदेश जारी गरिपाऊँ भन्ने रिट निवदेनमा जाहेरी दिएका थिए । आईई प्रतिवेदनका आधारमा तयार भएको शिवपोखरी ल्यान्डफिल साइट मौलिक हक प्रतिकूल हुने गरी निर्माण भएको उल्लेख छ । राज्यका निर्देशक सिद्धान्तविपरित, वातावरण संरक्षण ऐन २०५३ र नियमावली २०५४, फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र नियमावली २०७० तथा स्थानीय स्वायत्त शासन ऐन, २०५५ समेतको विपरीत कार्य भएको उनीहरूले जाहेरीमा भनिएको छ । त्यसैले पनि कानुनी तथा संवैधानिक हक, अधिकारी तथा जीवनको अधिकारको प्रश्न समावेश नभएकाले मुद्दा दायर गरेको उनीहरूले बताए ।


सर्वोच्चले तानसेन नगरपालिकालगायत सरोकारवाला निकायलाई तीन वर्षअघि नै कारण देखाऊ आदेश जारी गरेको छ । नगरपालिकाले यसको जवाफमा अहिले फोहोर नै नफालिएको भनेको छ ।


यसअघि भने तानसेन नगरक्षेत्रभित्रबाट उत्पादन हुने फोहोरलाई यत्रतत्र तानसेन–तम्घास खण्डको किनारामा नफाल्न पुनरावेदन अदालत बुटवलले अन्तरिम आदेश जारी गरिसकेको थियो । तानसेन नगरपालिकाको गैरजिम्मेवारीपूर्ण व्यवहार गरेको भन्दै बुटवलस्थित वातावरणीय सचेतना तथा कानुनी जनसरोकार मञ्च फिल्पेकका तर्फबाट अधिवक्ता केशरमणि अर्याल, बाबुराम पाण्डे, जीवनारायण अधिकारीलगायतले रिट दायर गरेका थिए । रिटमाथि साबिकको पुनरावेदन अदालत बुटवलले पनि अन्तरिम आदेश जारी गरेको थियो । तानसेन नगरपालिका प्रमुख अशोककुमार शाहीले ल्यान्डफिल साइटका विषयमा छलफल र वार्ता भइरहेको बताए ।

Esewa Pasal

प्रकाशित : वैशाख ३, २०७५ ११:२५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बौद्ध विश्वविद्यालय समस्यामा

बुटवल — विश्वभर बौद्ध शिक्षा फैलाउने र बौद्धमार्गीलाई अध्ययन गर्न बुद्ध जन्मस्थल ल्याउने उद्देश्यले खोलिएको लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापनादेखि नै समस्यामा छ ।

बौद्ध दर्शनको सही व्याख्या र चरित्र निर्माण गर्ने शिक्षा दिन बौद्ध मुलुकहरूको माग र दबाबले स्थापना गरिएको विश्वविद्यालयलाई राज्यले सुरुदेखि नै अपनत्व महसुस गर्न नसक्दा समस्याले गुज्रिएको हो । आवश्यक विद्यार्थी, जनशक्ति र पूर्वाधार नहुँदा विशिष्टकृत विश्वविद्यालयले समस्या झेलेको छ । यसले विश्वविद्यालयमा चलेका, विद्यार्थीले रुचाएका र वर्तमानमा आवश्यक ठानिएका प्रस्तावित धेरै शैक्षिक कार्यक्रम पनि चलेका छैनन् । ‘विशिष्टकृत विश्वविद्यालय भए पनि विद्यार्थीका टाउका गनेर शिक्षक राख्दा समस्या छ,’ रजिस्ट्रार तिलक आचार्यले भने, ‘खोजेका र रोजेका विषय राख्न सकिएको छैन ।’ केन्द्रीय कार्यालय लुम्बिनीमा रहेको यसको लुम्बिनीसहित बुटवल र काठमाडौंमा पढाइ हुन्छ । जसमा २ सय ७२ विद्यार्थी छन् । केन्द्रीय क्याम्पसमा बिहान ब्याचलर अफ बुद्धिजम इस्टडी पढाइ हुन्छ । साँझमा स्नाकोत्तर तह पढाइ हुन्छ । छोटो समयमा पाली भाषाका कक्षा चलाइएको छ । बुटवलमा भने दिउँसोमा ट्राभल एन्ड टुरिजम पढाइन्छ । यसका लागि २९ शिक्षक र २६ कर्मचारी छन् ।


क्याम्पसका पूर्वप्रमुख इन्द्रप्रसाद काफ्लेले ऐनमा राज्यबाट नभई जनस्तरबाट सञ्चालन गरिनेछ भनी उल्लेख गरिनाले पनि समस्या परेको बताए । ‘यसले गर्दा राज्य विश्वविद्यालय सञ्चालन गर्ने जिम्मेवारीबाट पन्छेको छ,’ उनले भने, ‘विश्वविद्यालयलाई पनि आर्थिक सहयोग जुटाउन र विदेशीसँग सम्झौता गरी विज्ञ ल्याउन समस्या परेको छ ।’


सुरुमै लुम्बिनीसहित बुद्ध सर्किट क्षेत्र बुद्ध मावली देवदह, सिद्धार्थ हुर्केको तिलौराकोट र अष्टधातु रहेको रामग्रामसम्म एकेडेमिक सर्किट बनाउने लक्ष्य थियो । शाखा विस्तारका लागि जग्गा खोजेको एक दशक बिते पनि अझै व्यवस्थापन गर्न सकेको छैन । यसले विश्वभर बौद्ध शिक्षा फैलाउने उद्देश्यले १२ वर्षअघि स्थापना भए पनि बुद्ध जन्मस्थल लुम्बिनीमै खुम्चिएको छ । विश्वविद्यालयका रजिस्ट्रार आचार्यले जग्गा व्यवस्थापन नहुँदा अहिलेसम्म त्यो काम पूरा नभएको बताए । बौद्ध क्षेत्रमा जान नसके पनि यो वर्षबाट बुटवलमा स्नातक तहमको बौद्ध शिक्षामा ट्राभल एन्ड टुरिजम म्यानेजमेन्ट सुरु गरेको उनले बताए ।

पत्रकार सम्मेलनका सहभागी।तस्बिर : अमृता


विश्वविद्यालय २ बिघा ३ कट्ठा क्षेत्रफलमा साँघुरो गरी बनाएको शैक्षिक र प्रशासनिक भवनमा थियो । अहिले मात्रै गुरुवनीयमा छात्र र शिक्षक आवास तथा लुम्बिनी विकास कोषले दिएको जग्गामा छात्रा आवास बनाइरहेको छ । यसअघि छात्रवासको व्यवस्था नहुँदा बुद्ध दर्शनमा आकर्षित विद्यार्थीले पढ्न पाएका थिएनन् । कक्षामा विद्यार्थी उपस्थिति पनि एकदमै न्यून छ । क्याम्पसका निमित्त डिन माणिकरत्न शाक्यले बौद्ध शिक्षाको महत्त्व र प्रचार बल्लबल्ल सुरु भएकाले धेरै विद्यार्थी नआएको बताए । आगामी सत्रदेखि छात्रवासकै कारण विद्यार्थी नआउने समस्या नरहने उनको दाबी छ । विश्वविद्यालयले एक आंगिक क्याम्पससहित नौ वटालाई सम्बन्धन दिएको छ । त्यसमा विद्यावारिधि, स्नाकोत्तर, स्नातक, पीजीडी र प्रमाणपत्र तह सञ्चालन गरेको छ । जसमा २ विदेशीसहित ४ सय ४७ विद्यार्थी अध्ययनरत छन् । त्यसमध्ये आंगिक क्याम्पसमा १ सय ७५ छन् । सम्बन्धनप्राप्त क्याम्पसमा २ सय ७२ अध्ययनरत छन् ।


विसं ०५५ मा लुम्बिनीमा सम्पन्न प्रथम विश्व बौद्ध शिखर सम्मेलनले दुई वर्षभित्र लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गर्ने प्रस्ताव पारित गरेको थियो । ६ वर्ष बेवास्ता गरेको सरकारले दोस्रो विश्व बौद्ध शिखर सम्मेलन सुरु हुन एक दिनअघि मात्रै २०६१ मा अध्यादेशमार्फत् लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापनाको घोषणा गरेको थियो । स्थापनाको झन्डै ८ वर्षपछि लुम्बिनीमा स्नाकोत्तर, काठमाडौंमा स्नाकोत्तर र विद्यावारिधिका लागि बौद्ध दर्शन पढाउन थालेको थियो । बौद्ध विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय पहिचान दिँदै नेपालकै फरक शैक्षिक संस्थाका रूपमा स्थापित गर्न प्राज्ञिक गुरुयोजनाको मस्यौदा तयार गरेको छ । नयाँ गुरुयोजनाअनुसार विश्वविद्यालयमा थेरवाद, महायान, वज्रयान, बौद्ध इतिहास, बुद्धिस्ट कला र पुरातात्त्विक, हिमालयन बुद्धिजम, बुद्धिजम एन्ड मेडिसिन, टुरिजम एन्ड गाइडलगायत १४ विभाग छन् ।


पहिलोपटक दीक्षान्त
अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका अवसरमा लुम्बिनी बौद्ध विश्वविद्यालयले पहिलोपटक दीक्षान्त समारोह गर्न लागेको छ । विश्व सम्मेलनको शैक्षणिक संयोजन गरेको विश्वविद्यालयले दोस्रो दिन अर्थात् वैशाख १६ मा दीक्षान्त गर्न लागेको हो । त्यस क्रममा स्नातकोत्तर तहका ९१ र विद्यावारिधिका १६ विद्यार्थी सहभागी हुनेछन् । त्यसमा एक भारतीय विद्यार्थीसमेत छन् । विश्वविद्यालयबाट अहिलेसम्म ३ सय विद्यार्थी उत्तीर्ण गराए पनि फारम नभरेपछि छुटेका हुन् । आइतबार लुम्बिनीमा पत्रकार सम्मेलन गरी रजिस्ट्रार तिलक आचार्यले विशिष्ट विश्वविद्यालय रहेकाले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको अवसर पारेर दीक्षान्त समारोह गर्न लागेको बताए । सम्मेलनमा २३ देशका बौद्ध विद्वान् सहभागी हुनेछन् । सम्मेलनमा सहभागी दीक्षान्त समारोहमा कुलपतिका हैसियतमा प्रधानमन्त्री केपी ओलीले अध्यक्षता गर्नेछन् । प्रमुख अतिथिका रूपमा भने श्रीलंकाका बौद्ध विद्वान् तथा बुद्धिस्ट एन्ड पाली युनिभर्सिटी अफ श्रीलंकाका उपकुलपति भिक्षु प्राडा गल्ल्याले सुमनसिरी थेरो आउनेछन् ।

प्रकाशित : वैशाख ३, २०७५ ११:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT