कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अनाथको पढ्ने धोको

बाबुआमा नभएकाले रहर भएर पनि पढ्न पाएका थिएनन्
वीरेन्द्र केसी

अर्घाखाँची — पढ्ने रहर छ तर बाबुआमा छैनन् । ७ वर्षअघि आमा र एक वर्षअघि बाबु बिते । बाबुको निधनपछि पढाइ खर्च भएन । त्यसपछि छाक टार्न होटलमा भाँडा माझ्न थाले । तिनै सन्धिखर्क नगरपालिका २ भन्द्रीखोलाका १३ वर्षीय राजु मुखिया आइतबार चुत्राबेंसीको गंगा आधारभूत विद्यालयमा कक्षा ३ मा भर्ना भए ।

अनाथको पढ्ने धोको

नगर प्रमुख कमलप्रसाद भुसाल, उपप्रमुख ठाकुर विक, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख लीलबहादुर राउत र प्रध्यानाध्यापक प्रदीप भण्डारीले स्कुलको २८ औं वार्षिकोत्सवमा झोला, किताब, कापी, पेन, एक जोर जुत्ता, कपडा हातमा थमाएर भर्ना गरे । दुई कक्षासम्म पढेका उनी बाबुको निधनपछि बेसहारा बनेका थिए । ५ महिनादेखि सन्धिखर्कको एक होटलमा भाँडा माझेर बसेका थिए । अबिरमालाले स्वागत गरेपछि उनी पढ्न पाइने भन्दै हर्षित भए । कापीकिताब हातमा लिएर कक्षाकोठाभित्र हेरे । ‘मैले पढ्ने कोठा राम्रो रहेछ,’ उनको प्रतिक्रिया थियो ।’


भाँडा माझ्दा हातमा घाउ छन् । ‘अब त मेरो हातमा पनि कापीकिताब हुने भए,’ उनले खुसी साटे, ‘पढ्ने रहर छ ।’ ६ भाइबहिनीमध्ये उनी माइला हुन् । जेठो दाजु ३ कक्षासम्म पढेपछि खर्च अभावले सन्धिखर्ककै होटलमै काममा बसे । एक भाइ शिशुमा भर्ना, कान्छो सानै छन् । दुई बहिनीलाई काठमाडौंमा एमाले जिल्ला नेता रामचन्द्र पोखरेलले पालनपोषण र शिक्षा दिएका छन् । बाबुआमाले मजदुरी गरेर पालेका थिए । बाबुआमा नभएपछि सबैलाई संकट पर्‍यो । मुखिया कान्छीआमाको घरमा बसेका छन् । उनले अब नि:शुल्क पढ्न पाउने भए ।


‘पढ्ने रहर त छ तर के गर्ने अभिभावक छैनन्,’ मनिलो स्वरमा भने, ‘पढेर डाक्टर बनी बिरामीको सेवा गर्ने धोको छ । कसले पढाउला म टुहुरोलाई ।’ पहिले आमा बित्नु भो । बाबुले पाल्नुभएको थियो । उहाँले पनि हामीलाई छाडेर गएपछि बेसहारा बन्यौं । यही स्कुलमा कक्षा दुईसम्म पढ्दै थिएँ । बाबुको निधनपछि होटलमा भाँडा माझ्दाका दिन रुँदै बिते । ‘दाइले मलाई भाइ तिमी पढ, खर्च मैले दिन्छु भन्नुभएको छ,’ उनले भने, ‘दाइले पनि पढेको देख्न पाए म खुसी हुने थिएँ । तर, कसरी पढ्ने बिहान–बेलुका खाने कुरा कसले जुटाइदेला र ? हामी टुहुरा त्यसमा पनि पैसा र सम्पत्ति नभएका ।’


उनलाई साँझ–बिहान कान्छीआमाले खान दिन्छिन् । डाक्टर पढ्न कति खर्च लाग्छ उनलाई थाहा छैन । ‘बिरामीको सेवा गर्ने इच्छा छ तर कसरी सम्भव होला र हामीजस्ता टुहुरालाई,’ उनले भने । इकाइ प्रमुख राउतले मुखियासहित गरिब बालबालिकाका लागि नि:शुल्क भर्ना गरिने बताए । स्टेसनरी पालिकाले उपलब्ध गराउने छ ।


गंगा आधारभूत विद्यालयको कक्षा ३ मा मुखियालाई भर्ना गरेर अभियान सुरुवात भएको उनले उद्घोष गरे । ‘यस वर्ष कोही पनि स्कुलबाहिर नहोऊन् भन्ने उद्देश्यले अभियानलाई तीव्रता दिन्छौं,’ उनले भने, ‘आइतबारदेखि १४ गतेसम्म पहिलो चरणको अभियान हुने छ । १५ देखि ३० सम्म छुटेकालाई घरदैलोमा पुगेरै भर्ना गर्छौं ।’ सबै स्कुलका शिक्षक, अभिभावक, दलका नेतासहित सरोकारवालाई परिचालन गरी सरकारी विद्यालयमा भर्ना गराउने प्रचारात्मक अभियान थालिएको राउतले बताए । गंगाका प्रअ भण्डारीले पढाइ राम्रो भएकाले अभिभावकको रोजाइ यही स्कुल भएको दाबी गरे । यसपालि अभियान चलाएर धेरै विद्यार्थी भर्ना गर्छौं, उनले जानकारी दिए ।

प्रकाशित : वैशाख ३, २०७५ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?