कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

जग्गा सस्तिने डरले बाँझो

उद्योग व्यवसाय, जागिर र वैदेशिक रोजगारीलाई प्राथमिकता दिँदा धान फल्ने खेत खेर गए

परासी — स्थानीय तहले बढ्दो प्लटिङ रोक्न भूमि नीति ल्याउने र कढाइ गर्ने भने पनि जिल्लामा खेतीयोग्य जमिन बाँझो हुने क्रम बढ्दो छ ।

जग्गा सस्तिने डरले बाँझो

ग्रामीण क्षेत्र र पहाडबाट बसाइँ सर्ने क्रम बढेपछि तराईको खेतीयोग्य जमिन बाँझिँदै गएको हो । धमाधम बाटो खोल्ने र प्लटिङ गर्ने क्रम बढेपछि उर्वरभूमि प्रयोगविहीन बनेको छ । जिल्लाका मुख्य व्यापारिक केन्द्र बर्दघाट, सुनवल, परासी र आसपासमा धमाधम प्लटिङ हुन थालेको छ । बजारमा बस्तीका लागि घडेरी सकिएको भन्दै घरजग्गा कारोबारीले अहिले गाउँगाउँ पुगेर बिजुलीको पोल गाड्ने र बाटो खन्ने गरिरहेका छन् । हकुहीका भुवन यादवका अनुसार बढ्दो औद्योगिकीकरण, बस्ती विकास र काम गर्ने युवा विदेशिएकाले खेती गर्न छाडिएको छ ।

‘सर्वसाधारणले समेत खेती गर्‍यो भने जग्गाको मूल्य सस्तो हुने भन्दै बाँझै राखेर ग्राहक खोज्न थाले,’ उनले भने, ‘मेहनत नगरी छिट्टै पैसा कमाउन चाहनेका कारण जग्गाको मूल्यसमेत अस्वाभाविक रूपमा बढेको छ ।’ सडकलाई छोएको जग्गा उद्योग र घडेरीका लागि भन्दै बाँझो राख्दा छिट्टै बिक्री हुने भएकाले खेती नगर्ने क्रम बढेको उनले बताए । कृषिले परिश्रम पनि नउठ्ने, बजार नपाउने तथा मजदुरसमेत पाउन छाडेपछि यस क्षेत्रका अधिकांशले व्यवसाय, जागिर र वैदेशिक रोजगारीलाई प्राथमिकता दिएकाले जग्गा बाँझो रहेको हो । रामग्राम नगरपालिकाले बढ्दो प्लटिङ तथा अव्यविस्थत बसोबास रोक्न नगरभित्र विभिन्न खेतीको ब्लक छुट्टाउने तथा बसोबासका लागि पनि दीर्घकालीन योजना बनाएको छ ।

नगर प्रमुख नरेन्द्र गुप्ताका अनुसार कृषिमा पनि आलु, मकै, धान, माछापालन, बदामजस्ता खेतीलाई प्रोत्साहन गरेर किसानले कृषिबाटै आम्दानी गर्न सकिन्छ भन्ने विश्वास दिलाउने गरी काम भइरहेको उनले बताए । ‘हामीले भूउपयोग नीतिबारे औद्योगिक, कृषि क्षेत्र, बसोबास र व्यावसायिक क्षेत्र गरेर दीर्घकालीन योजना बनाउँदैछौं,’ उनले भने, ‘कृषि बजार सुनिश्चितता र अनुदान वृद्धि गरेर बाँझो राख्नेलाई खबरदारी गर्न सकियो भने धमाधम खेती सुरु हुन्छ ।’

खेतीयोग्य जमिन त्यसै छाडेर सुविधाका लागि बजार आउनेले प्राय: प्लटिङ जग्गा किन्ने गर्छन् । जसले गर्दा पहाडी क्षेत्रमा खाली रहने तथा बजारमा खेतीयोग्य सकिँदै गएको छ । ग्रामीण क्षेत्रमा अधियाँ कमाउने, अर्मपर्म गर्ने प्रचलन हट्नु, सिँचाइ प्रबन्ध नहुनु तथा युवा जनशक्ति विदेश पलाएन हुनुले पनि स्थानीयले खेती गर्न छाडेका हुन् । खेती गर्न छाडेपछि जमिनको उर्वराशक्ति घट्दै गएको र बाँझो बढेको कृषि कार्यालयले बताएको छ ।

मालपोत परासीमा मात्र दिनकै ५० भन्दा बढी जग्गा पासका लागि आउने गर्छन् । पश्चिम नवलपरासीको मुख्य राजमार्ग आसपासमा अहिले जग्गा निकै महँगो भएको छ । कृषिमा भन्दा पढेलेखेका युवा विदेश पलायन वा स्वदेशमै भए पनि जागिर र व्यवसायमा लागेपछि सयौं हेक्टर जमिन प्रयोगविहीन भएको हो । कृषि विकास कार्यालयका अनुसार ७९ हजार १ सय ४९ हेक्टर खेतीयोग्य जमिनमध्ये ७० हजार १ सय ४९ मा खेती गरिन्छ ।

प्रकाशित : वैशाख ४, २०७५ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?