कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

प्रदेशसभा ‘लोगो’ माग्दै सांसद

‘जनप्रतिनिधि चिनाउने चिज भएन’
घनश्याम गौतम

रुपन्देही — सिंगो प्रदेशको आकृति झल्कने गरी प्रस्ताव गरिएको प्रदेशसभाको प्रतीक चिह्न सांसद बैठक शुरु भएको ३ महिना बित्दा पनि तयार हुन सकेको छैन ।

प्रदेशसभा ‘लोगो’ माग्दै सांसद

प्रदेश सांसदले लोगो अभावमा आफूहरूको पहिचान नदेखिएको कुरा बैठकमै उठाएका थिए । संसद सचिवालयले भने अझै तयार गर्न सकेको छैन । सार्वजनिक सूचना जारी गरेर डिजिटल लोगो तयार गर्न सचिवालयले आहान गरेको थियो ।

जसअनुसार काठमाडौंसहित प्रदेशभित्रका १२ जनाले प्रदेशको भावना र आकृति झल्कने लोगो तयार गरी पेश गरेका छन् । तीमध्येबाट सांसद र कर्मचारीका लागि छुट्टाछुट्टै दुई जनाको स्वीकृत गरिएको छ । अन्तिम टुंगो लगाउन भने अझै सकिएको छैन । लोगोमा सिस्ने पुथा हिमाल, धान र जौको बाला, बुद्धको जन्मस्थल र लुम्बिनीको शान्ति दीपसहित प्रदेशका १२ जिल्लाकै भाव र लैङ्गिक समानतासहितको प्रतीक चिह्न रहने छ । त्यसैअनुरुप लोगो तयार गर्न संसद सचिवालयले फागुन २३ गते १५ दिने सूचना जारी गरेको थियो ।

काठमाडौं, रुपन्देही, दाङ, पाल्पा र अर्घाखाँचीका १२ जनाले तयार गरेको लोगो संसद् सचिवालयमा चैत पहिलो साता नै बुझाएका थिए । त्यसबाट अध्ययन र परामर्शपछि २ जनाको छनोट गरिएको छ । सचिवालय प्रवक्ता एवं उपसचिव ईश्वरीप्रसाद शर्माका अनुसार तुलसीपुर १ दाङका खगेश्वर भण्डारीले तयार गरेको प्रतीक चिह्न सांसदका लागि छनोट भएको छ । त्यस्तै तिलोत्तमा ९ मंगलापुर रुपन्देहीका सुधीर अर्यालले तयार गरेको लोगो संसद् सचिवालयका कर्मचारीका लागि छनोट भएको छ ।

दुवैको लोगो चैत २८ गतेको कार्य व्यवस्था परामर्श समिति बैठकले छनोट गरेको संसद् सचिवालय सचिव मानबहादुर विकेले बताए । समितिको परामर्शमा सभामुख पूर्णबहादुर घर्तीले लोगो प्रमाणीकरण गरेपछि सार्वजनिक गर्ने सचिवालयले जनाएको छ । समितिको निर्णयपछि सिफारिसका लागि सभामुखलाई पत्र दिनुपर्ने व्यवस्था छ । समितिले दिएको सिफारिस आधारमा सभामुख घर्तीले अन्तिम निर्णय गर्ने संसद् सचिवालयले जनाएको छ ।

उत्कृष्ट लोगो बनाउनेलाई २५ हजार पुरस्कार घोषणा गरिएको थियो । दोस्रोका लागि १५ हजार रुपैयाँ पुरस्कार छ । स्रोतका अनुसार अधिकांशले लुम्बिनीको शान्तिदीपलाई प्राथमिकतामा राखेर लोगो तयार गरेका छन् ।

अर्घाखाँचीबाट निर्वाचित सांसद रामजीप्रसाद घिमिरेले प्रदेशसभा सुरु भएको लामो समय बितिसक्दा पनि लोगो नपाएको भन्दै संसदको चैत १५ को बैठकमै प्रसंग उठाएका थिए । त्यतिबेला पनि ठोस जवाफ दिइएको थिएन । उनको भनाइमा धेरै सांसदले समर्थन जनाएका थिए । सांसदको पहिचान दिने चिह्न अभावमा आफ्नो परिचय आफैंले दिँदै हिंड्नुपरेको र सुरक्षाकर्मीले समेत चिन्ने अवस्था नरहेको अर्का सांसद खड्गबहादुर खत्रीले बताए ।

प्रकाशित : वैशाख ७, २०७५ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?