कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

२०३ वर्षपछि विजयोत्सव

अमृता अनमोल

बुटवल — नेपाल कब्जा गर्न आएको अंग्रेज फौजलाई हराएको २ सय ३ वर्ष पुग्यो । विसं १८७२ वैशाख ७ मा बुटवलको तिनाउ नदी छेउको गढीमा भएको युद्धमा नेपाली फौजले अंग्रेजलाई हराएको थियो ।

२०३ वर्षपछि विजयोत्सव

बुटवलको यो गढीलाई रणभूमि बनाएर पाल्पाका सेन राजाले अंग्रेजविरुद्ध युद्ध गरेका थिए । जसका कारण अंग्रेज फौज फर्केर भारत गयो । फलस्वरूप नेपाल स्वाधीन रहन सकेको थियो ।

यही दिनको सम्झनामा बल्ल बुटवलमा पहिलोपटक शुक्रबार विजयोत्सव मनाइएको छ । देश स्वाधीन रहेको इतिहास विश्वभर फैलाउन बुटवल उपमहानगरपालिकाको अगुवाइमा उत्सव मनाइएको हो । बुटवलका प्रमुख शिवराज सुवेदीले उत्सवसँगै जितको खुसी र वीरतालाई विश्वभर प्रचार गर्ने अभियान सुरु गरेको बताए ।

‘अब जितगढीलाई युद्ध संग्रहालयका रूपमा विकास गरिनेछ,’ उनले भने, ‘किल्लादेखि पुरानो नगर पञ्चालयत हुँदै मणिमुकुन्द सेन पार्कसम्मको भूमि यसमा समेटिनेछ ।’ उत्सवमा नेपाली सेना, सुरक्षाकर्मी, प्रदेश ५ का मुख्यमन्त्री, मन्त्रीहरू, उपमहानगरपालिका पदाधिकारी तथा सर्वसाधारणसहितको बृहत् र्‍याली निस्किएको थियो । उपमहानगरपालिका परिसरबाट सुरु र्‍याली जितगढी किल्लामा पुग्यो । जहाँ सेनाले युद्धको नेतृत्व गरेका उजिरसिंहको सालिकमा तोपसहितको सलामी दियो । लगत्तै राष्ट्रिय झण्डा झण्डोत्तलन भयो ।

मुख्यमन्त्रीलगायतका विशिष्ट व्यक्तिले युद्धको नेतृत्व गरेका थापाको सालिकमा माल्यार्पण गरे । यसपछि आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री शंकर पोखरेलले वीरताको गाथा गाइरहेको जितगढी किल्ला बचाउन र विश्वभर चिनाउन अभियान थालेको जानकारी दिए । ‘यसको संरक्षण र सम्बद्र्धन गरेर नेपाललाई पुस्तौंपुस्तासम्म वीरताको देश भनेर चिनाइनेछ,’ उनले भने, ‘अब यसलाई विश्वको अवलोकनस्थल बनाइनेछ ।’

इतिहासकारका अनुसार विसं १८७१ मा भारतमा कब्जा जमाएको इस्ट इन्डियाले चीन जाने छोटो बाटो र चिसो हावापानी देखेपछि पाल्पाका सेन राजालाई राज्य छाड्न धम्की दिएको थियो । २५ दिनभित्र राज्य छाड्न धम्की पाएका राजाले त्यसलाई मानेनन् । सट्टामा महिला–पुरुष दुवैलाई अंग्रेज फौजविरुद्ध उतारेका थिए । युद्धको नेतृत्व कर्णेल उजिरसिंहले गरे । जो बलभद्र थापाका भतिजा थिए । पाल्पाली राजाको सहयोग गर्न उनले भतिजालाई कर्णेल बनाएर पठाएका हुन् । उक्त फौजले नुवाकोटको डाँडाबाट सुरुङ बनाएर बुटवलको तिनाउ नदी छेउमा गढी बनाएको थियो ।

‘१८७१ देखि सुरु भएको पटक–पटकको आक्रमणको सामना गरेर त्यही विसं १८७२ वैशाख ७ मा विजय हासिल गरेको थियो ।’ इतिहासका ज्ञाता विमलबहादुर शाक्य भन्छन्, ‘अंग्रेज सेनालाई हराएपछि यो गढीको नाम जितगढी रहन गएको हो ।’ तत्कालीन समयमा नुवाकोट गढी, सिमरनगढीलगायत नेपालका ७ स्थानमा अंग्रेजविरुद्ध युद्ध भएको थियो । त्यसमध्ये नेपाली फौजको जित भएको गढी यो मात्रै हो । उक्त स्थानमा विसं २०५२ सालमा पुरातत्त्व विभागले उत्खनन गरेको थियो । यस क्रममा गढीको बीच भागको उत्तरतर्फ पुरिएको पर्खालको पेटी भेटाएको थियो ।

त्यही क्षेत्र समेटेर बुटवल नगरपालिकाले २०५५ सालमा जितगढी किल्ला भएको ठाउँलाई उजिरसिंह पार्कका रूपमा विस्तार गर्ने योजना बनायो । जहाँ अहिले वरिपरिबाट घेरेको उजिरसिंह पार्क छ । उक्त पार्कभित्र युद्धको समयमा बनाइएको २ सय ५ फिट लामो र ८ फिट चौडाइको ऐतिहासिक जितगढी किल्लाको नुवाकोट र फूलबारी जोडिएको सुरुङ छ । त्यसबेला युद्धको नेतृत्व गरेका उजिरसिंहको सालिक
नगरपालिकाले बनाएको छ ।

उक्त स्थानमै शुक्रबार कार्यक्रम भयो । प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले जितगढीको गरिमा बचाउन यो क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउने बताए । योजना बनाए पनि नेपालको गौरवशाली इतिहास बचाउन यसको उचित प्रचार र संरक्षण भने हुन सकेको छैन । बटौली संरक्षण सम्बद्र्धन समितिका संयोजक रवीन्द्रगोपाल लाकौलले अहिलेसम्म सरकारी बेवास्ताले काम हुन नपाएको बताए ।

‘जितगढी संरक्षण गर्न योजना लैजाँदा काम नहुने र बजेट हुँदा पनि कार्यान्वयन नहुने समस्या झेलिरह्यौं,’ उनले भने, ‘अब केही हुन्छ कि भन्ने आशा पलायो ।’ पुरातत्त्व विभागले ०५७ र ०७० सालमा पनि जितगढी किल्ला उत्खनन गरेको थियो । तीनै पटकको उत्खननमा काम अधुरो छाडिएको छ । बुटवल उपमहानगरपालिका प्रमुख सुवेदीले अहिलेसम्मका अधुरा काम गर्न नगरले अगुवाइ गर्ने बताए । त्यसका लागि यो वर्ष उपमहानगरपालिकाले ५० लाख रकम विनियोजन गरेको छ । यसबाट गढीभित्र पूर्वाधार निर्माण उजिरसिंहको पूर्णकदको सालिक र अहिलेसम्मकै ठूलो राष्ट्रिय झण्डा फहराउने योजना छ ।

प्रकाशित : वैशाख ८, २०७५ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?