कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बन्दै खुसियाली गाउँ

मनोज पौडेल

कपिलवस्तु — कस्तो गाउँलाई खुसियाली मान्ने ? कपिलवस्तु नगरपालिका ६ माथिल्लो बर्मेली गाउँका आमाले त्यसका लागि आफैं सूचक तयार गरेका छन् । त्यो पनि दर्जनभन्दा बढी । २ वर्षयता गाउँलाई खुसियाली बनाउन उनीहरू जुटेका छन् ।

बन्दै खुसियाली गाउँ

तिनै सूचक पूरा गरेर असोजभित्रै ‘खुसियाली गाउँ’ बनाउन उनीहरू तम्सिएका हुन् ।

गाउँभर ३० परिवार बसोबास गर्छन् । तीमध्ये २५ घर समूहमा आबद्ध छन् । उनीहरू सबै खोलामा बालुवा गिटी चाल्छन् । ज्याला मजदुरी नगरे चुलो बल्दैन । तर पनि उनीहरूकै पहलमा गाउँ खुसियालीमा परिणत हुँदैछ ।२०७२ माघमा उनीहरूले समूह गठन गरेर काम थाले । आमाहरूले आफैं छलफल गरी गाउँलाई कसरी नमुना बनाउन सकिन्छ भनेर सरसफाइ, शिक्षा, आयआर्जन, स्वास्थ्य र वकालत क्षेत्रलाई सूचक कायम गरे ।

‘अघिल्लो वैशाखदेखि सघन रूपमा नमुना गाउँको अभियान चलाएका हौं,’ सदस्य तुल्सी थारूले भनिन्, ‘यसपछि भने परिवर्तन देखिन थाल्यो ।’ गाउँका सबैको घरमा शौचालय छ । सबै बालबालिका विद्यालय भर्ना भएका छन् । उनीहरू नियमित विद्यालय जान्छन् । महिला हिंसा र जातीय विभेद शून्य, बालविवाह अनि बहुविवाहमुक्त गाउँ बनेको छ । हरेक घरले सरसफाइका सबै सूचक पूरा गरेका छन् । सबै सदस्य आयआर्जनमा लागेका पनि छन् ।

‘ज्याला मजदुरी गरी घरखर्च गरेर बचेको आय हेरेरै सूचक निर्धारण गरेका छौं,’ समूह अध्यक्ष गोमता जिसीले भनिन्, ‘हातमुख जोर्न गाह्रो भए पनि सूचकलाई सबैले आत्मसात गरी पूरा गरेका छौं ।’ केही नहुँदा पनि काम गर्न सकिन्छ भन्ने देखाएरै ‘खुसियाली घर, खुसियाली गाउँ’ भन्ने नारा बनाएको उनले सुनाइन् । सबैको घर–आँगनमा भाँडा राख्ने अग्लो काठको चाङ बनाएका छन् । बिहान–बेलुका भाँडा माझेर त्यसैमा सुकाउँछन् ।

फोहोर व्यवस्थापन गर्न घरपछाडि खाल्टो बनाई त्यसैमा नष्ट गरिन्छ । सबैले भाँडा माझ्ने पक्की जुठ्यान बनाएका छन् । अधिकांशले माटोको घरलाई पहेँलो र रातो माटोले लिपेर चिरिच्याट्ट बनाएका छन । गाउँका २० ह्यान्ड पम्मको पानी संकलन गरी सदरमुकाम तौलिहवामा रहेको खानेपानी कार्यालयमा आर्सेनिक परीक्षण गराई शुद्ध पानी पिउँछन् ।

आँगन, घरअघि–पछि र बाटोघाटो दैनिक बढार्छन् । सोलार बत्तीले घर झलमल्ल बनाएका छन् । सुकुम्बासी बस्ती हुँदा कसैले ध्यान नदिए पनि सानोतिनो काम आफैं गर्छन् । प्रत्येक घरले ५/५ सय रुपैयाँ उठाई ५३ हजार संकलन गरेर धूलौटे बाटोमा ग्राभेल गरिएको छ । ६ मिटर चौडा र ५ सय मिटर लामो बाटोमा ग्राभेल राखेर राम्रो बनाइएको छ । एक घर दुई बिरुवा अवधारणालाई आत्मसात गर्दै रूख रोपेर हुर्काउन थालिएको छ ।

‘गाउँका समस्या पहिल्याउनेदेखि कार्यान्वय गर्ने तहसम्म गएर सहजीकरण गर्छाैं,’ किर्डाक नेपालका कार्यक्रम संयोजक हरिप्रसाद लौडारीले भने, ‘सुकुम्बासी गाउँ अहिले साँच्चै हेर्न लायक ‘खुसियाली गाउँ’ बनेको छ ।’ गाउँ नमुना बनाउन ६ उपसमिति बनेका छन् । स्वास्थ्य, शिक्षा, आयआर्जन, वातावरण र वकालतका क्षेत्रमा घरघर पुगेर काम गर्छ । घरायसी समस्या उनीहरू आफैं समाधान गर्छन् । मासिक सय रुपैयाँ बचतबाट हाल डेढ लाख संकलन भइसकेको छ । एक लाखभन्दा बढी त लगानी भइसक्यो ।

गाउँलेलाई गर्जो टार्न उनीहरू त्यही बचत रकम प्रयोग गर्छन् । बिहे, सञ्चो–बिसञ्चो भए सबै मिलेर सहयोग गर्छन् । ‘न्यून ब्याज लिन्छौं,’ उर्मिला थारूले भनिन्, ‘आयआर्जनलाई प्राथमिकता दिन्छौं, गाउँका सबै आय–आर्जनमा लाग्न अभियानै चलाएका छौं ।’ गाउँमा जे गर्न परे पनि छलफल गर्ने, सहमति गर्ने र निर्णय भएको उनले सुनाइन् । गाउँमा मजदुरी, पसल र खेती किसानी गर्ने मात्र छन् । ‘समूहको उत्साह देखेर बालविकास केन्द्र बनाउन १ लाख २० हजार दियौं,’ किर्डाकका कार्यक्रम अधिकृत मनीष मिश्रले भने, ‘समूहलाई ७३ हजार बीउ पुँजी दिएका छौं । यसले उनीहरूको उत्साह थपिएको छ ।’ खेतीलाई सहयोग पुगोस् भनेर समूहबाट २० हजार र नगद उठाएर ७० हजारमा साताअघि पम्पसेट गाडिएको छ ।

‘अब सिँचाइ सुविधा पनि भयो,’ सदस्य ईश्वरा पाण्डेले भनिन्, ‘मज्जाले तरकारी खेती गर्छु ।’ गाउँमा कुखुरा, बाख्रा, भैंसी र बंगुरपालनको लहर चलेको छ । ‘सबै महिला सानो–ठूलो काममै छन्,’ उनले भनिन्, ‘महिलाले पनि काम गरेर देखाएका छन् ।’ समूह सक्रिय भएदेखि गाउँमा मदिरा बनाउने, बेच्ने र सेवन गर्ने चलन पूरै हटेको छ । झैझगडा कतै पनि सुनिँदैन । स्थानीय अनील क्षत्रीका अनुसार अहिले गाउँका पुरुष पनि काममा व्यस्त छन् । जुवातास प्रतिबन्ध छ । निर्णय उलंघन गरे जरिवाना हुन्छ । महिलाको उत्साह र जाँगर देखेपछि जिससले गाउँमा बालविकास केन्द्र बनाउन ३ लाख ५० हजार दियो । काम गर्दै जाँदा नपुगेपछि विभिन्न संघसंस्था चहारेर ५ लाख जम्मा गरे । त्यसैले गतिलो पक्की भवन बनाए ।

गाउँका ३० बालबालिका त्यहीँ पढ्छन् । घरमा पढ्न र गृहकार्य गर्ने वातावरण नभएकालाई होमवर्क सेन्टरमा पठाइन्छ । साँझ–बिहान र बिदाको दिन त्यही भवनलाई समूहको भेला, छलफल र कार्यक्रममा प्रयोग गरिन्छ । प्रत्येक शनिबार सबै घरका अभिभावक भेला गराई गाउँभरि सरसफाइ अभियान चलाउँछन् । ‘समूहको अनुकरणीय कामको फेहरिस्त लामो छ,’ स्थानीय विकास थारूले, ‘भने त्यही भएर जिल्लाका विभिन्न स्थानबाट अवलोकन गर्न आउने समूह/संस्था दिनानुदिन बढ्दैछन् ।’ कामबाट उत्साहित उनीहरू अब नगरपालिकामा गाउँको विकास निर्माणका लागि योजना माग्न पुगेका छन् ।

प्रकाशित : वैशाख ८, २०७५ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?