कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

नगर सरसफाइ अभियानमा युवा

अमृता अनमोल

बुटवल — तिलोत्तमा नगरपालिकाका घर चिरीच्याट्ट र सफा छन् । बस्ती सुग्घर छन् । फोहोर फाल्ने डम्पिङ साइट भने नहरलाई बनाएका छन् । यसले घर नजिकको ऐतिहासिक सोह्र–छत्तीस सिँचाइ प्रणाली दूषित बनेको छ । फोहोरमा पानी जम्दा हिउँदमा नहर ठप्प हुन्छ ।

नगर सरसफाइ अभियानमा युवा

वर्षाको भेलले फोहोरजति किसानको खेतमा लैजाने गरेको छ । समस्या बढेपछि तिलोत्तमाका युवा सरसफाइ अभियानमा जुटेका छन् ।‘स्थानीयले घरायसी फोहोर कुलोमा फालेका छन् । घरको ढलसमेत नदीमा मिसाएका छन्,’ जागृति युवा क्लबका अध्यक्ष अर्जुन पौडेलले भने, ‘उनीहरूको यो बानी सधैंका लागि हटाउन जुटेर सफाइ थालेका हौं ।’ फोहोरले साँघुरिँदै गएको कुलो मिच्नेविरुद्ध निगरानी गर्ने पनि उनीहरूको योजना छ ।

बुटवल उप–महानगरपालिकाको कन्याढुंगामा मुहान रहेको सिँचाइ प्रणालीको सोह्र मुहानले तिलोत्तमा नगरपालिका र सिद्धार्थनगरपालिकामा १८ किमि क्षेत्र ओगटेको छ । छत्तीस मुहानले २० किमि पार गर्दै सिँचाइमा उपयोग भएको छ । ३ सय ६५ दिनै कुलो सफा राख्ने उनीहरूको योजना छ । ‘यसका लागि प्रत्येक दिन आफ्नो घरछेउको कुलो आफैं सफा गर्छौं,’ रोटयाक्ट क्लब अफ बुटवलका अध्यक्ष मित्रलाल न्यौपानेले भने, ‘शनिबार चाहिँ युवा क्लबहरूमार्फत बृहत सरसफाइ गर्छौं ।’ युवाले थालेको अभियानलाई तिलोत्तमा नगरपालिकाले प्राविधिक सहयोग गरेको छ ।

श्रमदानका लागि युवासँगै स्थानीय किसानले पनि साथ दिएका छन् । ‘हामीले स्थानीयले फालेको फोहोर सफाइसँगै जनचेतना जगाउने काम गरेका छौं,’ जागृति युवा क्लबका अध्यक्ष पौडेलले भने । तिलोत्तमा नगरपालिका ग्रिन र क्लिन बनाउने अभियान सञ्चालन गरेको छ । यसअन्तर्गत टोल तथा सडक सरसफाइ अभियान चालिएको छ । सडकमा हरियाली बनाइँदै छ । अभियानमा स्थानीयलाई नै सक्रिय बनाउन युवाको अभियानमा प्राविधिक सहयोग गरेको नगरप्रमुख वासुदेव घिमिरेले बताए । ‘आफ्नो नगर र टोल सफा राख्नुपर्छ भन्ने चेतना नगरपालिकाले जगाउँछ, आवश्यक सहयोग नगरपालिकाले गर्छ,’ उनले भने, ‘तर सरसफाइका लागि स्थानीय आफैं जुटेका छन् ।’

प्रकाशित : वैशाख ९, २०७५ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?