कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सामुदायिक विद्यालयमा रचनात्मक काम

दाङ — सामुदायिक विद्यालयमा आर्थिक ।स्रोत नभएर चाहेजस्तो शैक्षिक विकास गर्न नसकेको गुनासो धेरै सुनिन्छ । घोराही उपमहानगरपालिका १३, सेवार वनगाउँस्थित वराहक्षेत्र माविले पनि विभिन्न शैक्षिक कार्यक्रमका योजना बनायो तर आर्थिक अभाव भयो ।

सामुदायिक विद्यालयमा रचनात्मक काम

पछि विद्यालयले आफैं विभिन्न रचनात्मक उपाय निकालेर आर्थिक स्रोत जुटाउने अभियान थालेको छ ।

विद्यालयमा अंग्रेजी माध्यम पठनपाठन गर्ने योजना बनाएपछि थप शिक्षक र गाडीको व्यवस्था गर्नुपर्ने भयो । तत्काल उक्त व्यवस्था गर्ने आर्थिक अवस्था विद्यालयसँग भएन । त्यसपछि विद्यालयले सांगीतिक कार्यक्रम आयोजना गरी रकम जम्मा गर्ने काम थाल्यो । विभिन्न कलाकारलाई जम्मा गरी सांस्कृतिक कार्यक्रम आयोजना गर्दा ५ लाख बढी रकम संकलन भएको विद्यालयका प्रधानाध्यापक बाल्मी केसीले बताइन् ।‘विद्यालयको भौतिक स्थिति सुधार गर्न हामीले सांगीतिक कार्यक्रम आयोजना गर्‍यौं,’ उनले भनिन्, ‘यसबाट संकलित रकमबाट विद्यालयमा अंग्रेजी शिक्षा सञ्चालन, यातायातको व्यवस्थापन र स्वर्गीय गायक नारायण पाण्डे स्मृति अक्षयकोष स्थापना गर्ने योजना बनाएका छौं ।’

यति रकमले मात्रै नपुग्ने भएपछि अझै पूर्व विद्यार्थी, शुभचिन्तक, शिक्षाप्रेमी र सहयोगीहरूलाई थप सहयोगका लागि आहवान गरेको उनले बताइन् । सामुदायिक विद्यालयमा पनि अंग्रेजी माध्यममा पठनपाठन गराउन सकिन्छ भन्ने उद्देश्यले आर्थिक संकलनका विभिन्न उपाय खोजी गरेको केसीले बताइन् । ‘अंग्रेजी माध्यमममा पठनपाठन गर्दा थप शिक्षकहरू आवश्यक पर्छ । साना बालबालिका ल्याउन गाडी चाहिन्छ,’ उनले भनिन्, ‘हामीले चाहेको बेला सरकारी सहयोग प्राप्त हुने अवस्था पनि भएन । हामीसँग स्रोतसाधन नभएपछि आफैं विभिन्न उपाय गरी सहयोग जुटाउने अभियान थालेका हौं ।’

विद्यालयले शैक्षिक विकासका लागि विभिन्न रचनात्मक काम गरिरहेको घोराही उपमहानगरका शिक्षा विभाग प्रमुख नारायण पौडेलले बताए ।सबै काममा सरकारी बजेटको आशा गर्ने प्रवृत्तिविपरीत विद्यालयले आफैं स्रोत साधनको खोजी गरेको उनले बताए । उनले विद्यालयले अरूले पनि सिक्नुपर्ने खालको काम गरेको बताए । विद्यालयको आहवानपछि सहयोग गर्नेहरू पनि उत्साहित भएका छन् । पूर्वप्रधानाध्यापक हेमन्तकुमार पाण्डेले स्वर्गीय श्रीमती खडगकुमारी पाण्डेको सम्झनामा ५१ हजार १ सय ५५ रुपयाँको अक्षयकोष स्थापना गरे ।

यसैगरी स्थानीय डुल्लुराम पोख्रेलले ४० हजार, दुर्लभ केसीले २५ हजार ५ सय ५५, ओमभक्त बुढाथोकी र मनोज बुढाथोकी २५/२५ हजार, रविकिरण केसी र सञ्जय बगालेले ११/११ हजार नगद सहयोग गरे । अन्य स्थानीय अभिभावकहरूले पनि आफ्नो क्षमताअनुसार सहयोग गरिरहेको प्रधानाध्यापक केसीले बताइन् । पूर्वविद्यार्थीहरू पनि सहयोग संकलनमा खटिरहेको उनले बताइन् । विद्यालयको आर्थिक स्रोत जुटाउन सक्रिय भएर खट्ने पूर्व विद्यार्थीहरू माधव केसी, लक्ष्मी केसी, उपेन्द्र केसी, डोमा पाण्डे लगायतलाई विद्यालयले सम्मान गरेको छ । पूर्व विद्यार्थीहरूले सामाजिक सञ्जालमा छुट्टै पेज बनाएर सहयोगको आहान गरेको र यसबाट राम्रै उपलब्धि हासिल भएको पूर्व विद्यार्थी माधव केसीले बताए ।

सहयोग संकलनार्थ आयोजित सांगीतिक कार्यक्रममा गायकहरू प्रकाश रेग्मी, हरि डीसी, पीताम्बर रिजाल, टीका सानु, कल्पना गुरुङ, सुशीला थापा, राजु विक लगायतका कलाकारहरूले विभिन्न प्रस्तुति गरेर सहयोग पुर्‍याएका थिए ।

मावि बाल विकास घोराही, मावि रझेना घोराही र दीप सेकेन्डरी स्कुल तुलसीपुरका विद्यार्थीले पनि विभिन्न सांगीतिक प्रस्तुति गरेर विद्यालयलाई सहयोग गरेका थिए । सबैको सहयोगले विद्यालयमा शैक्षिक विकास गर्न सहज भइरहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुदन चौधरीले बताए । यसअघि पनि विद्यालयले स्मृति वृक्ष अभियान थालेको थियो । विद्यालयमा फूलैफूलको बगैंचा बनाउन सबैलाई फूल रोप्न आहवान गरिएको थियो ।

उक्त अभियान अहिलेसम्म पनि प्रभावकारी रूपमा चलिरहेको छ । कुनै पनि व्यक्तिले आफ्ना प्रिय मानिसको नाममा वृक्ष रोप्ने र उक्त बिरुवा बचाउन विद्यालयलाई हजार रुपैयाँ सहयोग गर्ने गरिएको छ । यही अभियानबाट विद्यालय प्रांगणमा फूलबारी तयार भएको छ । अहिलेको अभियानबाट पनि राम्रै सफलता मिलिरहेको अध्यक्ष चौधरीले बताए ।

प्रकाशित : वैशाख ९, २०७५ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?