कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुक्दै कर्णालीको भँगालो

कमल पन्थी

बर्दिया — गत वर्षको साउन अन्तिम साता कर्णालीमा आएको बाढीले लालमटियामा बालुवा र ढुंगा थुप्रियो । त्यसकारण पानीले निकास नपाएपछि कर्णालीको भँगालो सुक्दै गएको छ । बर्दिया निकुञ्जभित्रको लालमटिया हुँदै बग्ने २५ किमि लामो गेरुवामा पानी सुक्दै गएपछि वन्यजन्तुसमेत प्रभावित भएका छन् ।

सुक्दै कर्णालीको भँगालो

पानी अभावमा अत्तालिएका वन्यजन्तु मध्यवर्ती क्षेत्रमा पस्न थालेका छन् । ठूलो संख्यामा वन्यजन्तु दिनहुँ निकुञ्जबाहिर आउन थालेपछि स्थानीय त्रसित छन् । ठाकुरबाबा नगरपालिकास्थित मोतीपुरका बासिन्दा मतिराम शाहीले निकुञ्जबाट दैनिक हात्ती, बाघलगायत वन्यजन्तु बस्तीमा आउन थालेको उनले बताए । सूर्यपटुवास्थित शिव सामुदायिक वनको पोखरीमा पर्याप्त पानी भएकाले ७ गैंडाको बासस्थान भएको छ ।

यहाँ गैंडालगायत हात्ती, बाघ, चित्तल पानीका कारण आउने गरेको संरक्षणकर्मी परशुराम चौधरीले बताए ।जनावरको विचरणलाई मध्यनजर राख्दै चोरी सिकार हुन नदिन युवाहरू परिचालित भएको उनको भनाइ छ । बर्दिया निकुञ्जसँग जोडिएका डल्लास्थित शिव सामुदायिक वन पर्छ । ८ वर्षअघि कर्णालीमा आएको बाढीले पर्याप्त बग्ने गेरुवा नदीको पानीले धार परिवर्तन गरेपछि स्रोत सुक्दै गएको हो । अहिले पश्चिम कर्णालीमा पर्याप्त पानी भए पनि निकुञ्जसँग नजोडिएका कारण जनावरलाई समस्या भएको हो । निकुञ्ज प्रशासनले भने जनावरका लागि पानी व्यवस्थापनको निकास दिन सकेको छैन । यसैगरी गेरुवा नदीमा विचरण हुँदै आएको माछा, डल्फिन र गोही देखिन छाडेका छन् ।

पर्याप्त पानीको अभावमा गेरुवामा बासस्थान रहेका ती जलचर जनावर शून्य जस्तै भएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । पानी सुक्ने क्रम बढेपछि गेरुवा नदी र आसपास क्षेत्रका जलचर, उभयचर, पक्षीलगायत जनावर प्राय: विस्थापित भइसकेका छन् । यसअघि गेरुवामा दुई डल्फिन मनाउ र गोलाघाटमा विचरण गर्दै आएको निकुञ्जले जनाएको छ । बाघको बासस्थान रहेको कर्णालीको गेरुवा तटीय क्षेत्र स्रोत सुक्दै गएपछि सहजै देखिन छाडेको चराविज्ञ एवं पथ प्रदर्शक राम शाहीले बताए । खौराहा खोला हात्ती, गैंडा, बाघको आहाल बस्ने ठाउँ थियो ।

पानी सुक्दै गएपछि मध्यवर्ती क्षेत्रमा जंगली जनावर बाहिरिन लागेको गेरुवा गाउँपालिका ४ का बलबहादुर सोनाहा बताउँछन् । ‘गेरुवामा पानी छैन,’ उनले भने, ‘स्रोत सुकेपछि जंगली जनावर गाउँघरमा पस्न थालेकाले त्रास बढेको छ ।’

कर्णालीको धार परिवर्तन हुने लालमटियामा गिट्टी र बालुवाले थुनेका कारण गेरुवा नदीमा पानी सुकेको निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रीविनोद दाहाल बताउँछन् । ‘पानी सुकेकै कारण जनावर बाहिर निस्केका होइनन्,’ उनले भने, ‘थुनिएको ठाउँबाट गिट्टी र बालुवा हटाउने तयारीमा छौं ।’ कहिलेसम्म हटाउने हो अझै टुंगो भने लागेको छैन । जनावरलाई पानीको व्यवस्था गर्न निकुञ्जको ७ ठाउँमा सोलार प्लान्ट जडान गरे पनि पर्याप्त छैन । गेरुवामा थुनिएका ढुंगा, बालुवा चाँडै नहटाए जंगली जनावर पानी नपाएपछि विस्थापित हुने जोखिम रहेको निकुञ्जका कर्मचारी बताउँछन् ।

प्रकाशित : वैशाख ९, २०७५ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?