कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

कृषिजन्य उत्पादन सन्तोषजनक

बुटवल — मुलुकमा सबैभन्दा बढी उपयोग हुने खाद्यान्न धान हो । प्रदेश ५ मा धानसँगै तेलहनको उत्पादनमा अगाडि छ ।योसँगै यहाँ समग्र कृषि उत्पादन सन्तोषजनक रहेको तथ्यांक सार्वजनिक भएको छ । यहाँको आर्थिक उपार्जन माध्यम कृषि बनेको छ ।

कृषिजन्य उत्पादन सन्तोषजनक

प्रदेशको कुल उत्पादनमा कृषिले ४५ दशमलव ६ प्रतिशत योगदान दिएको छ । जुन देशको कुल कृषि उत्पादनको १८ दशमलव ४ प्रतिशत हो । सरकारले सार्वजनीक गरेको स्थितिपत्रअनुसार प्रदेश ५ धान र तेलहन उत्पादनमा देशमै पहिलो नम्बरमा छ । माछा उत्पादनमा दोस्रो स्थानमा भने दूध र मासु उत्पादनमा तेस्रोमा छ । नवलपरासीको त्रिवेणीदेखि बर्दियाको राजापुरसम्म फैलिएको ६ जिल्लाको समथर भाग अन्नको भण्डारका रूपमा छ । पहाडि जिल्ला पाल्पाको माडी, अर्गली र रामपुर, प्यूठानको बिजुवार जस्ता खेतीयोग्य फाँटका कारण पनि प्रदेश कृषिमा अगाडि रहेको हो ।

‘दाङ, बाँके, बर्दिया, कपिलवस्तुु, रूपन्देही, नवलपरासी खाद्यान्न उत्पादनमा नमुना जिल्ला हुन्,’ प्रादेशिक आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले भने, ‘भरपर्दो सिँचाइ हुने हो भने यो प्रदेश अन्नको भण्डारका रूपमा विकास हुन्छ ।’ दाङ जिल्लालाई तेलहनको पकेट एरिया तथा रोल्पा, रुकुम तथा प्यूठानलाई बीउबिजन उत्पादन केन्द्रको रूपमा विकास गर्न सकिने उनले बताए । पशुपालन, मत्स्यपालन, मौरीपालन, कुखुरापालन र अस्ट्रिचपालनमा पनि यो प्रदेशले अग्रणी भूमिका खेलेको छ । पशुपालनतर्फ भैंसीको संख्यामा पनि पहिलो स्थानमा छ । गाईपालनमा तेस्रो स्थानमा रहेको छ । मकै र आलु उत्पादनमा चौथोमा छ ।

अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानमा कफी उत्पादन हुने गरेको छ । ‘भरपर्दो सिँचाइ सुुविधाको व्यवस्था भए खाद्यान्नसँगै नगदे बाली उत्पादन पनि बढाउन सकिन्छ ।’ प्रादेशिक आयोगका उपाध्यक्ष श्रेष्ठले भने । सिँचाइका लागि प्रदेशमा हाल भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना र सिक्टा सिँचाई आयोजना जस्ता राष्ट्रिय गौरवका आयोजना सञ्चालनमा छन् । कालीगण्डकी तिनाउ डाइभर्सन गरी रूपन्देही, नवलपरासी र कपिलवस्तुका खेतीयोग्य जमिनमा सिचाई सुविधा पुर्‍याउनेबारे अध्ययन भएको छ । नौमुरे जलविद्युत् आयोजनाबाट समेत कपिलवस्तुमा सिँचाइ विस्तार गर्न सकिने छ । सिँचाइ सुविधा भए कफी, अदुवा जस्ता नगदे उखु, तरकारी र मसलाजन्य वस्तुहरूको उत्पादन पनि बढाउन सकिनेछ । मुख्यमन्त्री शंकर पोखरेल यी आयोजना सकिँदा कृषि उत्पादनको भण्डार मात्र होइन अन्न निर्यात गर्ने अग्रणी प्रदेश बन्ने बताउँछन् । यसका लागि सरकारको नीति कार्यक्रममै सिँचाइका सम्भावित आयोजनाको प्रारम्भिक अध्ययन र कृषिको व्यावसायीकरण र उत्पादनमा आधारित अनुदानलाई प्राथमिकतामा राखेको उनले जनाए ।

यो प्रदेश १७ हजार ८ सय १० वर्गकिमिमा फैलिएको छ । यसमध्ये ४ लाख ४ हजार ५ सय ४१ हेक्टर खेतीयोग्य जमिन छ । जुन यस प्रदेशको कुल भूभागको २२ दशमलव ७ प्रतिशत हो । क्षेत्रका हिसाबले भने धेरै खेतीयोग्य जमिन भएको प्रदेशमा यो तेस्रो नम्बरमा पर्छ । ३८ लाख २० हजार मानिसहरू कृषि काममा संलग्न छन् । यसरी हेर्दा प्रदेश २ पछि सबैभन्दा धेरै मानिसहरू कृषि कार्यमा संलग्न रहेको प्रदेश यही हो ।

विश्लेषक युवराज कँडेल प्रदेशलाई कृषि उत्पादनमा नमुना बनाउने हो भने तराईको खेतीयोग्य भूमिको प्लटिङ हटाउनुका साथै पहाडको बाँझोपन रोक्नुपर्ने बताउँछन् । तराईमा मात्रै सुविधा थोपर्दा पहाडको धेरै जनसंख्या तराईमा झरेको छ । यसले पनि अहिले राम्रो रहेको कृषि उत्पादन केही वर्षमा घट्न सक्ने उनले बताए । यसो हुन नदिन सुविधासहित नागरिकलाई पहाडमा फर्काउनुपर्छ ।

प्रकाशित : वैशाख ९, २०७५ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?