कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

बारीको पाटामा किरिया

अग्निपीडितको बिचल्ली

तिराम (प्यूठान) — सरुमारानी गाउँपलिका ६ ठाँटीओडारका कमल थापा बारीको पाटामा हजुरबुबाको किरिया बसेका छन् । बिहीबार दिउँसो आगलागीमा परेर ७५ वर्षीय हजुरबुबा रेवतबहादुरको मृत्यु भएको थियो ।

बारीको पाटामा किरिया

शुक्रबार सदगद सके । हजुरबुबासँगै घरगोठ नष्ट भयो । बेसहारा बनेपछि बारीको पाटामा बस्नुपरेको हो ।


‘आफन्तले यहीँ बारेर ओत लाग्ने झुप्रो बनाउने भनेका छन्,’ कमलले भने, ‘बाहिरै बसेर भए पनि संस्कारअनुसार गरिरहेका छौं ।’ अलपत्र अवस्थामा हजुरआमासहित १२ जनाको परिवार छ । खुला आकाशमुनि दिन काट्न मुस्किल परेको उनीहरूले बताए । पतिको मृत्युपछि अचेत भएकी वृद्धा देउकीको शुक्रबार साँझ होस् खुलेको थियो ।


त्यसपछि नातिसँगै बारीमा किरियामा बसेकी हुन् । आगो लागेका बेला उनी बाख्रा चराउन गएकी थिइन् । फर्किंदा सबै जलिसकेको थियो । ‘जंगलबाट फर्किएपछि बाख्रा बाँध्ने खोरमा श्रीमानको शव थियो,’ उनले भनिन्, ‘आगोबाट भैंसी बचाउन गोठमा गएका बेला मुस्लोमा पर्नुभएछ ।’


उक्त दिन छिमेकी स्थानीय कुलो सफा गर्न गएका थिए । त्यही बेला आगलागी भएकाले बचाउने कोही नभएर मृत्यु भएको उनले सुनाइन् । संस्कारअनुसार १३ दिन कुना बारेर किरिया बस्नुपर्छ । समस्याले गर्दा ९ दिन मात्र बस्ने परिवारबीच सल्लाह भएको उनले बताइन् ।


‘संस्कारअनुसार किरियापुत्री बाहिर बस्न नहुने हो,’ कमलकी पत्नी मनीले भनिन्, ‘घरगोठ नभएपछि कहाँ बस्नु ?’ जंगल छेउको बस्ती भएकाले खुला स्थानमा रात बिताउँदा वन्यजन्तुबाट आक्रमणको डर भएको उनले बताइन् । बिहीबार अपराह्न कमलको घरबाट सल्केको आगोले कमल, दीपक, निमबहादुर, यमबहादुर थापा र धनबहादुर मरछ्याङदी मगरको घरगोठ जलेका थिए । आगोले दर्जनभन्दा बढी पशुचौपाया जलेका थिए ।


बस्ती सबै जलेर नष्ट भएपछि अग्निपीडितको बिचल्ली भएको वडाध्यक्ष तुलबहादुर रोकाले बताए । नजिक ओत लाग्न विद्यालयसमेत नभएकाले पीडित बारीमा बस्नुपरेको रोकाले बताए । गाउँपालिका, जिल्ला प्रशासन र अन्य संघसंस्थाले उपलब्ध गराएको राहत प्रयोग गरी १/२ दिनमा ओत लाग्ने टहरा बनाउने उनले सुनाए ।


स्थानीय ५ घरको सम्पत्ति नोक्सान भएको जिल्ला प्रहरी प्रमुख राजेन्द्र पोख्रेलले बताए । उनका अनुसार पशुचौपाया, अन्नपात, लत्ताकपडा गरी ७० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।


आगो कसरी लाग्यो नखुलेको प्रहरीले जनाएको छ । अग्निपीडितलाई नेपाल रेडक्रस सोसाइटी, उद्योग वाणिज्य संघलगायत अन्य संघसंस्था राहत लिएर घटनास्थलमा शुक्रबार साँझ पुगेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर घिमिरेले बताए ।


घिमिरेसँगै सांसद दुर्गा पौडेल, जिल्ला समन्वय समिति संयोजक केशवराज आचार्य प्रदेश सांसद कृष्णध्वज केसीसहितको टोली पुगेको थियो । ‘नगद र केही खाद्यान्न लत्ताकपडा पीडित परिवारलाई प्रदान गरेका छौं,’ घिमिरेले भने, ‘पीडितको धेरै बिचल्ली भएकाले थप राहतका लागि पहल गरिरहेका छौं ।’ उनले सबै विवरण गृह मन्त्रालयमा पठाएर थप राहतको माग गर्ने बताए ।

प्रकाशित : वैशाख ९, २०७५ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?