कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

चुनढुंगा बोक्ने वैकल्पिक मार्ग

प्यूठान नगरपालिकाको गेजबाङदेखि दाखाक्वाडीसम्म १० किलोमिटर नयाँ बाटो

प्यूठान — प्यूठान नगरपालिकाको दम्ती–बाग्दुला–बिजुवार हुँदै दाखाक्वाडीसम्म झिंमरुक नदी किनारैकिनार चुनढुंगा ओसार्न नयाँ सडक ट्रयाक खोलिएको छ । साँघुरो सडकमा बढी भारका ट्रिपर गुडाउँदा जाम, धूलो, धूँवा, दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीयबाट गुनासो आएपछि शुभश्री अग्नि सिमेन्ट कम्पनीले चुनढुंगा ओसार्न नयाँ सडक बनाएको हो ।

चुनढुंगा बोक्ने वैकल्पिक मार्ग

सडक डिभिजन कार्यालय देवीस्थानले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) कै क्षेत्र भएर नयाँ सडक निर्माण गरिएको कम्पनीका प्रतिनिधि लीला गिरीले बताए । ‘१० मिटर चौडा भएको लगभग १० किलोमिटर बाटोको काम पूरा गरेका छौं,’ उनले भने, ‘वैकल्पिक सडकबाट ट्रिपर गुडाउँदा स्थानीयको गुनासो आउने छैन ।’ कम्पनीले सडक निर्माण गर्दा कुनै/कुनै स्थानमा खेत पर्ने स्थानीयले अवरोध गरे पनि अन्य क्षेत्रमा सहज रूपमै निर्माण भएको गिरीले बताए । कम्पनीले झन्डै ९० लाख रुपैयाँ खर्च गरेको गिरीले बताए । उनका अनुसार दुई दिनपछि बाग्दुलाबाट वैकल्पिक सडक हुँदै दाखाक्वाडीसम्म चुनढुंगा बोकेका ट्रिपर गुडाउने तयारी भएको छ । दम्तीसम्म नै सडक निर्माण पूरा भए पनि गेजबाङमा पहिलेको सडकबाट कहाँबाट जोड्ने भन्ने कुराको टुंगो नलागेकाले पहिलो चरणमा बाग्दुलाबाट वैकल्पिक सडक हुँदै ट्रिपर गुडाइने गिरीले बताए ।

भालुबाङ–प्यूठान सडकको बाग्दुला–बिजुवार, दाखाक्वाडी क्षेत्रको सडक साँघुरो हुँदा गाडी पास गर्न निकै समस्या भएकाले वैकल्पिक सडक योजना अघि सारेको प्यूठान नगरपालिका प्रमुख अर्जुनकुमार कक्षपतीले बताए । उनले चुनढुंगा बोकेका ट्रिपर वैकल्पिक मार्गबाट गुडेपछि सवारी जाम हट्ने आशा नगरवासीले गरेको बताए । ‘साँघुरो सडकमा धेरै गाडी चल्दा छिनछिनमै हुने जामको निकै सकस थियो,’ कक्षपतीले भने, ‘त्यसैले वैकल्पिक सडक निर्माणमा पहल गरेका हांै ।’ उनले स्थानीयको गुनासोपछि जिल्ला प्रशासनमा चुनढुंगा कम्पनीका प्रतिनिधिसहित बसेको सर्वपक्षीय बैठकले चुनढुंगा ओसार्न वैकल्पिक सडक बनाउने सहमतिअनुसार बाटो बनाएको बताए । नगरपालिका क्षेत्रमा बढी समस्या भएकाले नयाँ सडक निर्माणमा अगुवाइ गरेको प्रमुखले बताए । ‘सडकले दोहोरो फाइदा गर्नेछ,’ कक्षपतीले भने, ‘पहिलो नदी नियन्त्रण गरी उर्वर भिंmमरुक फाँट कटान बचाउँछ । दोस्रो बजारको सवारी चाप कम हुनेछ ।’

प्यूठानको बजार क्षेत्र बिजुवार–बाग्दुलाको सवारी चापलाई ध्यान दिई कार्यालयले धेरै वर्षअघिदेखि झिंमरुक करिडोरको कुरा गरेको सडक डिभिजन कार्यालय देवीस्थान प्यूठानका प्रमुख सुरेश न्यौपानेले बताए । ‘अहिले चुनढुंगा कम्पनीले सडक निर्माण गरेको छ,’ न्यौपानेले भने, ‘हामीले ४६ करोड लागतको डीपीआर तयार पारेर स्वीकृतिका लागि विभागमा पठाएका छौं । अर्को वर्ष बजेट परे टेन्डर गरेर काम थाल्ने योजना छ ।’ उनले झिंमरुक नदी किनारैकिनार ग्रिनरोड निर्माण गर्दा झिंमरुक नियन्त्रण गर्न पाँच मिटर अग्लो लञ्चिङ तार जालीसमेत लगाउने गरी डीपीआर तयार भएको बताए । २०४४ मा खोलिएको भालुबाङ–प्यूठान सडक फराकिलो बनाउने ठोस योजना अहिलेसम्म कार्यान्वयन नहँुदा जामको समस्या देखापरेको कार्यालयले जनाएको छ । ०६५/६६ मा वटासिल कालोपत्रे गर्दासमेत साँघुरै सडकमा काम भएको थियो । सडक ऐन ०३१ ले व्यवस्था गरेको जिल्ला सडकको सेन्टरबाट दायाँ/बायाँ १५ मिटर रहनुपर्ने व्यवस्थासमेत अहिलेसम्म कायम भएको छैन । साँघुरो सडकमा गाडी जाम भएपछि स्थानीयले वैकल्पिक सडक माग गरेका हुन् ।

प्रकाशित : वैशाख १०, २०७५ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?