सभाहल निर्माण सकियो

२५६२ औं बुद्धजयन्ती

कपिलवस्तु — यस वर्ष रूपन्देहीको लुम्बिनीमा सञ्चालन हुने २५६२ औं बुद्धजयन्ती मूल समारोहका लागि सभाहल निर्माण पूरा भएको छ । त्यसलाई बौद्ध झण्डामा अंकित ५ रंगले रंगाएर चिटिक्क बनाइएको छ ।

सभाहल निर्माण सकियो

भित्र र बाहिरका पर्खाल तथा भित्तामा लगाइएको नीलो, पँहेलो, रातो, सेतो र कलेजी (फिका गुलावी) रंगले गज्जबले बुद्धत्त्वको भाव झल्काएको छ । उक्त हलमा उद्घाटन कार्यक्रम हुनेछ । त्यसमा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि विभिन्न मुलुकका राष्ट्रप्रमुख तथा विशिष्ट पाहुनाको सहभागिता हुनेछ ।

‘३ हजार जना अट्ने हलको स्ट्रक्चर (भौतिक निर्माण) र फिनिसिङ पूरा भइसकेको छ,’ लुम्बिनी विकास कोष प्रोजेक्ट म्यानेजर सरोज भट्टराईले भने, ‘रंगरोगन गरेर सिंगार्ने काम पनि सकिएको छ ।’ यसमा आधुनिक साउन्ड सिस्टम र फायर डिस्टिङ्गरसमेत जडान गरिसकिएको छ । मुख्य प्रवेशद्वारको डिजाइन आकर्षक बनाइएको छ । हलभित्र कुर्सी मात्र राख्न बाँकी रहेको उनले बताए । हलका लागि ३ हजार प्लास्टिकका कुसी ल्याइसकिएको छ । सेनाले लुम्बिनी अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र र संग्रहालयबीचमा अस्थायी प्रकृतिको पक्की हल बनाएको हो । चैत ७ बाट बनाउन थालेको हल एक महिनामै पूरा भएको हो ।

प्रधानमन्त्री कार्यालयले चासो दिएर हल बनाउने प्रक्रिया सुरु गरेको हो । ठेक्का प्रक्रियाबाट लामो समय लाग्ने हुँदा मन्त्रिपरिषद्को फागुन २८ गतेको बैठकको निर्णयबाट हल बनाउन सेनालाई जिम्मा दिइएको थियो । सेनाको विकास निर्माण निर्देशनालय काठमाडौंले लगत इस्टिमेट तयार गरी द्रुत गतिमा काम थालेर पूरा गरेको छ । फलाम, स्टिल र ट्रस्ट प्रयोग गरेर हल बनाइएको छ । माथि जस्तापाता र चारैतिर सिमेन्ट बोर्ड प्रयोग गरिएको छ । हल ८० मिटर लामो, ४० मिटर चौडा छ । भित्र मञ्चसहित ३ हजार कुर्सी सजिलै अट्नेछन् । ‘सेनाले दिन–रात गरेर काम सक्यो,’ लुम्बिनी विकास कोष उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुत्रले भने, ‘यसले लुम्बिनीमा विकासको कामले गति लिने कुराले राम्रो सन्देश जाँदा धेरै खुसी छौं ।’ यो कामसँगै एक–डेढ सातामै धेरै विकासका काम सुरु हुँदैछन्, त्यसले अझ खुसी थप्छ, उनले भने । लुम्बिनी विकास कोषको चालु खर्च शीर्षकबाट ३ करोड ९७ लाखको लागतमा हल तयार भएको हो ।

कोषले सम्झौताको सबै रकम सेनालाई निकासा दिइसकेको छ । सार्वजनिक खरिद ऐन/नियमावली प्रक्रिया अवलम्बन गरेर काम गर्न सक्ने अवस्था नहुँदा ऐन/नियमावलीमा भएको विषेश परिस्थितिको प्रक्रिया अवलम्बन गरी काम थालिएको हो । त्यसकारण बजेट थोरै घट–बढ हुन सक्ने भट्टराईले बताए । वैशाख १७ गते आयोजित मूल समारोहको उक्त कार्यक्रममा प्रम ओली सहभागी हुने कार्यक्रम छ । ०७२ सालमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि हुने बुद्ध जयन्तीको कार्यक्रममा एक दिनअघि बेलुका आएको हावाहुरीले मञ्च बिगारेको थियो । सभास्थल हिलाम्य भएको थियो । रातारात सरसफाइ गरी जेनतेन कार्यक्रम गरियो । अर्को दिनको बुद्ध जयन्तीको कार्यक्रममा प्रम ओलीले लुम्बिनीमा कार्यक्रम गर्न ५ हजार अट्ने सभाहल बनाउने घोषणा गरेका थिए ।

प्रकाशित : वैशाख १०, २०७५ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?