प्यूठानमा विद्युत अनियमित: छिनमै आउँछ, छिनमै जान्छ

दुई दर्जन बढी लिफ्ट खानेपानी आयोजना प्रभावित हुँदा २० हजार उपभोक्ता मारमा 
गिरुप्रसाद भण्डारी

प्यूठान — जिल्लामा विद्युत अनियमित हुँदा जनजीवन प्रभावित भएको छ । स्थानीय उपभोक्ता छिनमै आउने र छिनमै जाने बिजुलीले हैरान छन् ।

प्यूठानमा विद्युत अनियमित: छिनमै आउँछ, छिनमै जान्छ

नेपाल विद्युत प्राधिकरण र झिमरुक जलविद्युत् आयोजनाले तालिका नबनाएरै लोडसेडिङ गर्दा उपभोक्ता हैरानी खेप्न बाध्य भएका हुन् ।


लिप्ट खानेपानी आयोजना पनि प्रभावित छ । नियमित रूपमा खानेपानी आपूर्ति हुन सकेको छैन । गर्मीयामको सुरुवातसँगै मुहान सुकिरहेका छन् । लिफ्टिङ पनि नहुँदा पानीको समस्या चर्किएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ ।


गाउँका मुहान सुक्न थालेपछि लिफ्ट प्रविधिमार्फत पानी आपूर्ति गरिएको थियो । तर बिजुली आउने–जाने समस्याले जिल्लाका सानाठूला गरी दुई दर्जन बढी लिफ्ट खानेपानी आयोजना प्रभावित भएको डिभिजन प्रमुख ग्रीष्म थापाले बताए ।

तिरामा पाङकोट, मर्काबाङ, ढिकावन, डाढ, नयाँगाउँ, उपल्लो सारी, स्वर्गद्वारी कुरुङखोला, बडखोली तुरासा, खैरा सतमुनी, रम्दी, धुबाङ, नारङगे पकला, बृहत् बिजुवार र लुक्का चुजालगायत दुई दर्जन बढी आयोजनाका २० हजार उपभोक्ता प्रभावित भएको कार्यालयले जनाएको छ ।


लिफ्ट खानेपानी आयोजनासँगै सञ्चार, बैंक, वित्तीय संस्था र उद्योग व्यवसायलगायत क्षेत्रमा पनि समस्या भएको छ । ‘छिनमै जाने र छिनमै विद्युत् आउने समस्याले उपभोक्तालाई नियमित पानीको आपूर्ति गर्न सकेका छैनौँ,’ बृहत् बिजुवार साना सहरी खानेपानी उपभोक्ता समिति अध्यक्ष मोहन विष्टले भने, ‘लिफ्ट आयोजना भएकाले बिजुली बिना पानी तान्न सकिँदैन ।’

उनले कुनै दिन बिना सूचना घन्टौँ विद्युत् बन्द हुने समस्याले मोटर चलाउन नसक्दा पानी तान्न बाधा पुगिरहेको बताए । उपभोक्ताले पानी नियमित नभएको गुनासो गरेपछि बिहीबार उपभोक्ता समिति टोली विद्युत प्राधिकरण पुगेको थियो ।


झिमरुक जलविद्युत आयोजनाले वितरण गरेको भन्दा नेपाल विद्युत प्राधिकरणले वितरण गरेको क्षेत्रमा बढी समस्या देखिएको बाग्दुलाका व्यापारी प्रमोद पोखरेलले बताए । अनियमित विद्युतले जिल्ला अस्पतालको सेवासमेत प्रभावित छ ।


एक्सरे मेसिन र प्रयोगशाला सञ्चालनमा बाधा पुगिरहेको जिल्ला अस्पताल बिजुवारका स्वास्थ्यकर्मीले बताए । निजी स्वास्थ्य संस्थामा समेत यस्तै समस्या छ । नेपाल विद्युत प्राधिकरणले कहिलेकाहीँ विद्युत प्रणालीमा आउने समस्याले दिनैभर विद्युत नआएको भएपनि सधैं यस्तो समस्या नहुने जनाएको छ ।


‘हिजोआज हावाहुरीले गर्दा केही समस्या देखिएको छ,’ प्राधिकरण बिजुवार शाखा प्रमुख रमेश बन्जाडेले भने, ‘लामो लाइन भएकाले गडबडी भइराख्छ ।’ उनले रोल्पा, प्यूठान र अर्घाखाँची गरी तीन जिल्लाको बिजुली आपूर्ति हेर्नुपर्दा समस्या भइरहेको बताए ।


‘जिल्लाका पाँच हजार पुराना काठका पोल फेर्नुपर्ने अवस्थामा छन्,’ उनले भने, ‘बजेट अभावले हामीले १ हजार ६ सय वटा मात्र फेरेका छौं ।’ उनले पुराना काठका पोल भाँचिएकाले समस्या भइरहने बताए । ‘जिल्लामा सबस्टेसन छैन,’ उनले भने, ‘अर्घाखाँचीको कुनै कुनामा समस्या भए सबै ठाउँ फल्ट भइहाल्छ ।’ ग्रामीण विद्युतीकरण तीव्र भइरहेको र पहिले विस्तार गरिएका लाइन मर्मतमा रकम नपुग्ने उनले बताए ।


करिब दुई दशकअघिदेखि प्यूठानको झिमरुक खोलाबाट १२ मेगावाट विद्युत उत्पादन भइरहेको छ । प्यूठान, रोल्पा र अर्घाखाँची जिल्लामा करिब ६ मेगावाट विद्युत दैनिक खपत हुँदै आएको छ ।


अरू विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । प्यूठानमा नेपाल विद्युत प्राधिकरण र झिमरुकले झन्डै ४० हजार घरधुरीमा विद्युत आपूर्ति गरेका छन् । जिल्लाका अझै पाँच हजार घरधुरीमा बिजुली पुगेको छैन ।

प्रकाशित : वैशाख १०, २०७५ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?