१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पुल रोकिँदा स्थानीय चिन्तित

अन्योलमा स्याउँलीघारी पुल
गिरुप्रसाद भण्डारी

प्यूठान — झिंमरुक गाउँपालिकास्थित तुसारा र लिबाङका पक्की पुल निर्माण थालिएपछि स्थानीय खुसी थिए । ठेकेदारले पहिलो वर्ष दुवैतर्फको पिलर ठड्याएकाले उनीहरूलाई पुल नबन्ला भन्ने कुनै शंका भएन ।

पुल रोकिँदा स्थानीय चिन्तित

तर, बीचको पिलर निर्माण गर्नेक्रममा लागत अनुमानअनुसारको माटो नभेटिएको भन्दै काम गर्न नसकीने जनाएर ठेकेदारले काम रोकेपछि स्थानीय निरास बनेका छन् ।

झिंमरुक गाउँपालिकाको मच्छिढाँडस्थित खोलामा मच्छि–ढाँड–तुषारा–स्याउँलीघारी पक्कीपुल निर्माण पूरा गर्ने म्याद सकिएको एक वर्ष बितिसक्यो । थप गरिएको १ वर्ष पनि सकिन लाग्यो । काम थाल्नुको साटो अझै इस्टिमेटमै अल्झिएको छ । पहिलोपटक माटो परीक्षण प्रतिवेदनअनुसार पिलर उठाउने स्थानमा दलदले माटो भेटिएपछि ठेकेदारले जिससलाई चिठी लेखेर काम रोकेको थियो ।

त्यसपछि जिससमार्फत पुन: माटो परीक्षण गर्न लगाएको हो । अहिले पनि इस्टिमेटअनुसार माटो नभेटिकाले निर्माण गर्न नसकिने भनेर ठेकेदारले काम रोकिँदा स्थानीय दु:खी छन् । ‘पुल निर्माण चाडै होस् भनेर धेरैपटक जिसस कार्यालयमा धायौं,’ तुरासाका झगबहादुर जीसीले भने, ‘अझै अन्योलमै छ ।’ उनले जसरी पनि स्याउँलीघारीमा पक्की पुल बनाउन स्थानीयको सरकारसँग माग रहेको बताए । ‘हिजोआज काम रोकिएको छ,’ उनले भने, ‘जिल्ला प्रशासन र जिससको कार्यालयमा प्रमण्डल जाने तयारी थालेका छौ ।’ धेरै वर्षको पर्खाइपछि यस क्षेत्रमा बन्न थालेको पुल अन्योल भएपछि स्थानीय चिन्तित भएका हुन् ।

‘बीचमै पुलको काम रोकिँदा सबै निरास छौं,’ स्थानीय पदम खड्काले भने, ‘सम्बन्धित निकायले यसतर्फ विशेष चासो दिनुपर्छ ।’ जिससले इस्टिमेट परिवर्तन गरेरै भए पनि पुल बनाउन विभागसँग सहजीकरण गरिदिनुपर्ने उनको भनाइ छ । ‘प्राविधिक कुरा गाउँलेले जान्दैनन् अप्ठ्यारा पक्ष सबै मिलाएर पुल चाँडै बन्नुपर्छ भन्ने हाम्रो माग हो,’ खड्काले भने । उनले पहिले यो ठाउँमा ठूलो दह भएको बूढापाकाले बताएअनुसार पिलर राख्ने भनेर खनेको स्थानमा पानीसहितको लेदोमाटो निस्कने गरेको देखेको बताए ।

इस्टिमेटअनुसार ६ मिटर गहिराइ जाँदा निकै दलदल भेटिएकाले फिलर राख्न नसकिने निर्माण व्यवसायीको भनाइ छ । पुल निर्माणको जिम्मा ३ करोड ५६ लाखमा नीलगिरि/आँशु जेभी निर्माण सेवाले लिएको छ । ‘हामीले यो डिजाइनअनुसार काम गर्न नसकिने भनेर धेरैपटक समन्वयमा पत्र लेख्यौं,’ निर्माण व्यवसायी नविन श्रेष्ठले भने, ‘कार्यालयले पुन: माटो परीक्षण गर्‍यो । तर काम गर्न सकिने अवस्था भएन ।’ आफूहरूले अहिलेसम्म पुल निर्माण गरेको अनुभवअनुसार अहिलेकै इस्टमेटमा बनाए पिल्लर भासिने उनी बताउँछन् ।

माटो परीक्षण गर्न आएको टोलीको गल्तीले गर्दा आफूहरूले लाखौं रुपैयाँ क्षति व्यहोर्न परेको श्रेष्ठले बताए । लाखौंका निर्माण सामग्रीले खोलामै अलपत्र अवस्थमा रहेको उनले सुनाए । ‘तीन वर्षदेखि छडलगायत धेरै सामान साइडमा तयारी अवस्थमा राखेका छौं,’ उनले भने, ‘तर काम गर्ने अवस्था छैन ।’ उनले जिससमा दोस्रोपटक गरिएको इस्टिमेटअनुसार पनि काम गर्न नसकिने लिखित पत्र बुझाउने तयारी गरेको बताए । जिल्ला प्राविधिक कार्यालय प्रमुख इन्जिनियर चन्द्र शाहले पुल निर्माण व्यवसायीले काम गर्न नसकिने भनेर रोकेको कुरा कार्यालयमा जानकारी आएको बताए ।

प्रकाशित : वैशाख ११, २०७५ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?