कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

३ सातादेखि निकुञ्जमा आगो

हुरी र तातो लुका कारण आगो नियन्त्रणमा समस्या
कमल पन्थी

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जको बबई उपत्यकाबाट तीन साताअघि सुरु डढेलो पूर्व–पश्चिम राजमार्ग वरिपरि फैलिएको छ । डढेलोसँगै चलेको हावाले निकुञ्ज आसपास गाउ‘मा धूँवाले समस्या भएको छ । जंगलभित्र मह काढ्ने, घाँस–दाउरा र चोरी सिकार गर्नेले आगो लगाएको आशंका निकुञ्ज सुरक्षार्थ खटिएकाले गरेका छन् ।

३ सातादेखि निकुञ्जमा आगो

आगो लगाउनेको अहिलेसम्म पहिचान हुन सकेको छैन । हुरी र तातो लुका कारण आगो नियन्त्रण गर्न निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेना, कर्मचारी र सर्वसाधारणलाई हम्मे परेको छ । सेना, कर्मचारीलगायतले जोखिम मोलेर धेरै ठाउँमा आगो निभाएको प्रमुख संरक्षण अधिकृत मनोज शाहले बताए ।

बर्सेनि गर्मीयाममा डढेलोले निकुञ्जमा ठूलो क्षति गर्दै आएको छ । संरक्षण क्षेत्रको दर्जनभन्दा बढी ठाउँ आगोले खाएको छ । दमकल नपुग्ने विकट क्षेत्रमा डढेलो नियन्त्रणमा समस्या भएको शाहले जनाए ।

डढेलो उत्तरको चुरे पहाडबाट सुरु भई दक्षिणी क्षेत्रमा बढी फैलिएको उनले बताए । उत्तरी र पूर्वी भेगमा बढी डढेलो लागेकाले नियन्त्रणमा लिन समस्या भएको हो । राजमार्ग आसपास बस्ती धूँवाले ढपक्कै ढाकेको छ । निकुञ्जका धेरैजसो जंगलमा आगोको लप्का देखिन्छ ।

मध्यवर्ती क्षेत्रको भुरीगाउँ, कर्मला, सैनावार, मैनावार, औरीलगायत गाउँ धूँवाले ढाकेको स्थानीयले बताए । धूँवाका कारण सर्वसाधारणलाई दैनिकीमै समस्या परेको ठाकुरबाबा १ का दीपबहादुर खत्रीले बताए । धूँवाले श्वासप्रश्वासबाट प्रभावितलाई थप समस्या छ । धूँवाले दिउँसोभन्दा साँझ–बिहान बढी असर गरेको स्थानीयले बताए । जंगलको आगोले मानवसँगै जंगली जनावरलाई पनि समस्या परेको छ । जंगली जनावर अन्यत्र विस्थापित भएको निकुञ्जले जनायो । स्थानीय परेवाओडारदेखि लालमटियासम्म डढेलोको असर छ ।

ठूलो डढेलो लाग्दा जंगली जनावरको क्षतिबारे कुनै विवरण नआए पनि वासस्थान फेर्दै अन्यत्र जाने गरेको निकुञ्जले जनायो । निकुञ्ज सुरक्षाका लागि तैनाथ सेना, कर्मचारी चोरी सिकार नियन्त्रण युवा अभियानलगायतको संयुक्त टोलीले वनपथ सफा गर्दै नियन्त्रण गर्ने प्रयास गरेका छन् । धेरै विकट ठाउँमा डढेलो लागेका कारण नियन्त्रण प्रयास भने विफल बन्दै गएको छ ।

प्रकाशित : वैशाख ११, २०७५ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?