कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

समताको ५० औं विद्यालय

कम शुल्कमा गुणस्तरी शिक्षा

रोल्पा — ‘सबैका लागि शिक्षा’ मूल नारासाथ रोल्पामा समता शिक्षा निकेतनले ५० औं विद्यालयका रूपमा सञ्चालन सुरु गरेको छ । चालु शैक्षिक सत्रबाट नर्सरीदेखि कक्षा १ सम्म सुलभ शुल्कमा गुणस्तरीय शिक्षा दिने उद्देश्यले सदरमुकाम लिबाङमा सोमबार समता सुरु गरिएको हो ।

समताको ५० औं विद्यालय

गमलामा राखिएको फूलमा जल सिञ्चन गरेर विद्यालयको संयुक्त रूपमा सुरु गर्दै रोल्पाका प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसी र नगरपालिका प्रमुख पूर्ण केसीले कानुन र ऐनभित्र रहेर विद्यालय सञ्चालन गर्नुपर्ने बताए । ‘सुलभ शुल्कमा स्तरीय शिक्षा प्रदान गर्ने चर्चा कमाएको समता शिक्षा निकेतनले रोल्पामा पनि विद्यालय सुरु गरेकोमा खुसी हुनु पर्नेछ,’ कार्यक्रमका प्रमुख पाहुना प्रजिअ एमसीले भने, ‘तर समयअनुसार उचित प्रकारको शिक्षा प्रदान गर्नुपर्छ ।’ नगरप्रमुख केसीले चर्चाजस्तै विद्यालयले कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने सुन्दा खुसी लागेको बताए ।

विद्यालयका निर्देशक दीपक सञ्जेलले गरिब र आर्थिक अभावका बालबालिकालाई गुणस्तरी शिक्षा दिने योजनाले यहाँ आएको बताए । उनले अति गरिब र सहाराविहीन बालबालिकालाई नि:शुल्क पढाउने योजना पनि सुनाए ।

रोल्पासँगै समता फाउन्डेसनले ३३ जिल्लामा एकैपटक विद्यालय सुरु गर्न लागेको हो । यसअघि अन्य जिल्लामा विद्यालय सञ्चालन भइसकेका छन् । फाउन्डेसनले केही वर्षअघि सार्क राष्ट्रका भारत, पाकिस्तान र बंगलादेशमा पनि विद्यालय सञ्चालन गराएको छ । समाजसेवी उत्तम सञ्जेलले सुरु गरेको समता शिक्षा मुलुकभित्रैका कलाकार, सहयोगी र चन्दाको सहयोगले चल्दै आएको छ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यलगायतले समताका लागि आर्थिक सहयोग जुटाउँछन् । चालु शैक्षिक सत्रबाट रोल्पा, प्यूठान, रुकुम, सल्यानलगायतमा समता सुरु गरिएको हो ।

विद्यालयका अनुसार पहिलो वर्ष हरेक कक्षामा एक/एक सयभन्दा बढी विद्यार्थी भर्ना भएका छन् । हरेक वर्ष कक्षा वृद्धि गर्दै जाने योजना रहेको निर्देशक सञ्जेलले जनाए । विद्यालयले नाम लेख्दा १ सय ५० र पढाइ शुल्क मासिक १ सय रुपैयाँ लिने बताएको छ । कम शुल्कमा गुणस्तरीय पढाइ हुने आशाले जिल्लाका गरिब तथा आर्थिक अवस्था न्यून अभिभावक निकै खुसी देखिएका छन् । सुरुमा भाडामा घर लिएको उक्त विद्यालयले ५ वर्षपछि आफ्नै शैलीको भवन निर्माण गर्ने योजना छ ।

प्रकाशित : वैशाख ११, २०७५ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?