कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कबड्डी हेर्दै, गर्मी छल्दै

ठाकुरसिंह थारू

नेपालगन्ज — सल्यानी बंगलास्थित आधारभूत विद्यालयमा रात्रिकालीन कबड्डी खेल्ने व्यवस्था मिलाइएको छ । राति ८ बाट सुरु हुने प्रतियोगिता ११ बजेसम्म चल्छ । गर्मी छल्दै कबड्डी हेर्न सर्वसाधारणको भीड लाग्ने गरेको छ ।

कबड्डी हेर्दै, गर्मी छल्दै

‘नेपालगन्जमा गर्मी व्यापक छ । घर बस्न मुस्किल हुन्छ । खुला चौरमा हावा खाँदै कबड्डी हेर्नुको मजा नै बेग्लै,’ स्थानीय अफ्तर हुसेन हलवाई भन्छन्, ‘रात्रिकालीन प्रतियोगिताले गर्मी छल्न निकै राहत दिएको छ ।’ कबड्डी प्रतियोगिता नेपालगन्ज उपमहानगरपालिकाले गरेको हो । मेयर कप नाम दिइएको प्रतियोगितामा १६ टिमको सहभागिता छ । वैशाख १२ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन हुनेछ । यसले साथीभाइसँग भेटको अवसर पनि जुराएको छ । ‘गर्मीका बेला उकुसमुकुस हुन्छ तर खेल तथा मनोरञ्जनले गर्मीलाई बिर्सिन सहयोग गरेको छ ।

गर्मी सुरु भएसँगै नेपालगन्ज तातिएको छ । राति सुत्नसमेत सास्ती छ । सर्वसाधारण राति शीतल हावा खोज्दै घरको छतमा सुत्न थालेका छन् । तर तापक्रम बढेसँगै नेपालगन्जमा सुरु भएको रात्रिकालीन कबड्डीले भने केही राहत पुर्‍याएको छ,’ खेलको समन्वय गरिरहेका नेपालगन्ज उपमहानगरपालिका ४ का अध्यक्ष मो. सफिक बेहना भन्छन्, ‘खेलले मनोरञ्जनसँगै साथीभाइ भेट्ने अवसर जुराइदियो ।’

प्रतियोागिता हेर्न स्थानीय झुम्मिने गरेका छन् । अभिभावकहरू छोराछोरीसहित खेलको आनन्द लिन आउँछन् । आइसक्रिम, चिया, पानीपुरीका स्वादको मजा लिँदै खेल हेर्न सकिन्छ । उक्त प्रतियोगितलाई नेपालगन्जमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिताको मिसनका रूपमा लिइएको छ । २०७५ मा सम्पन्न प्रतियोगितामा कबड्डी खेलका लागि यही प्रतियोगिताबाट १० जना खेलाडी छनोट गर्ने जनाइएको छ । मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष भीम वलीले रात्रिकालीन कबड्डी प्रतियोगितालाई मिसन ८ औं राष्ट्रिय खेलकुद प्रतियोगितासँग जोडिएको बताए । उनले उक्त प्रतियोगिताबाट १० खेलाडी छनोट गरिने जनाए । ‘यो प्रतियोगिता मनोरञ्जनसँगसँगै मिसनसँग पनि जोडिएको छ । त्यसैले यसलाई महत्त्वका साथ लिएका छौं,’ उनले भने, ‘कबड्डीले नेपालगन्जवासीलाई मिसन ८ औं राष्ट्रिय प्रतियोगितासँग पनि जोडेको छ ।

प्रकाशित : वैशाख ११, २०७५ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?