कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रगतिपथमा पूर्वकमलरी

दुर्गालाल केसी

दाङ — घोराही उपमहानगरपालिका १० नारायणपुरकी सरस्वती चौधरीका बुबा वासुदेवको बाल्यकाल अरूको घरमा भेडा गोठालो भएर बित्यो । आमा राधी कमलरी भएरै जीवनका अधिकांश समय बिताइन् । वासुदेव र राधी अर्काको घरमा काम गर्दागर्दै सरस्वतीले जन्म लिइन् ।

प्रगतिपथमा पूर्वकमलरी

सरस्वती भर्खर विद्यालय भर्ना भएकी थिइन्, बुबाको इन्सेफ्लाइटिसबाट मृत्यु भयो । ‘बुबाको मृत्युपछि हामी तीन बहिनी आमासँगै जमिनदारको घरमा काम गर्न थाल्यौं । घरमा बस्न खानेकुरा केही थिएन,’ सरस्वतीले भनिन्, ‘मालिकको घरमा बासी खानेकुरा खान पाइन्थ्यो । हामी तीन बहिनीले त्यही बाँडेर खान्थ्यौं ।’

आमासँगै काम गर्दा भाँडा माझ्न, कपडा धुन सिकिन् । अलि ठूलो भएपछि अर्को घरमा कमलरी बसिन् । कमलरी बसेबापत आमाले केही घरखर्च पाउँथिइन् । सरस्वती चार वर्ष कमलरी बसिन् तर आमा र बहिनीहरूको जीविका चल्ने अवस्था भएन । उनले कमलरी छाडिन् तर उनीहरूको अवस्था झनै नाजुक भयो । पढ्न पाउने सर्तमा उनी पुन: कमलरी बसिन् । विद्यालय भर्ना भइन् तर पढ्ने समय पाइँदैनथ्यो । ‘पढ्न खोज्दा मालिकका छोरी गिज्याउँथे । मेरा च्यातिएका कपडा देखेर हाँस्थे,’ उनले भनिन्, ‘म रुँदैरुँदै बस्थें । जीउ पाल्न कमलरी बसेकाले केही बोल्न सक्ने कुरा हुँदैनथ्यो ।’

पढ्ने रहर भएकाले उनले रातिराति पढेर अध्ययनलाई निरन्तरता दिइन् । मालिककै घर बसेर ७ कक्षा उत्तीर्ण गरिन् । अब भने पढाइमा बाधा पुग्ने भएपछि उनले कमलरी छाडिन् । त्यसपछि आमासँगै मजदुरी गरेर उनले पढाइ अघि बढाइन् । ‘कहिलेकाहीं २० रुपैयाँका लागि बिहान र बेलुका मालिकका कपडा धोइदिन्थ्यौं,’ सरस्वती सम्झिन्छिन्, ‘त्यही पैसाले कापी– कलम किन्थें । मैले पढाइमा रुची राखेको देखेर सबैले गिज्याउँथे ।’ एसएलसीपछि उनले काम खोज्दै पढ्दै गरिन् । विभिन्न संस्थामा काम गर्दै उनले बीएड गरिन् । हाल उनी जनसंख्या विषयमा एमएड पढदैछिन् ।

कमलरी बसेकै बेला घोराही उपमहानगरपालिका १६, रातामाटाकी वसन्ती चौधरीलाई पढाइमा चासो लागिरह्यो । अर्काको घरमा काम गरिरहेका बेला विद्यालय जाने कुरा सम्भव थिएन । कमलरी छाडेर पढ्न खोज्दा पनि छिमेकी उनलाई पढ्न सक्दैनस् भनेर हतोत्साहित गर्थे । अरूको कुरालाई प्रवाह नगरी पढ्न थालेकी वसन्ती अहिले अंग्रेजीमा एमएड पढिरहेकी छन् ।

‘कतिले त पत्याउँदैनन् । कमलरीले पनि यति धेरै पढेको भनेर आश्चर्य मान्छन्,’ उनले भनिन्, ‘पढाइमा हामी पनि सक्षम छौं भन्ने कुरा प्रमाणित गरेका छौं । सबै कमलरीले अवसर पाए यस्तै काम गरेर देखाउन सक्छन् ।’ उनले क्याम्पसको अध्ययनसँगै नेपाल युथ फाउन्डेसनको सहयोगमा १५ महिने इलेक्ट्रिकल सबओभरसियर पढिन् । त्यही पढाइका कारण उनी अहिले विद्युत् प्राधिकरणको फोरम्यानमा जागिरे छन् । बीएड सकेर विवाह गरेकी वसन्तीलाई गाउँघरमा पढेलेखेकी जागिरे बुहारी भनेर सबैले सम्मान गर्छन् । माइती कैलालीको जानकी गाउँपालिकास्थित अमौरामा पनि उनको चर्चा छ ।

छोरी कमलरी बस्नैपर्ने चलन भएकाले लम्की चुहा नगरपालिका ८ गप्का कैलालीकी रीता चौधरी दुई कक्षा पढदापढदै अर्काको घर बस्न दाङ पुगिन् । मालिकको अफ्नै निजी विद्यालय भएकाले एल केजी भर्ना भइन् र ७ महिना काम गरेर पढिन् । काम गर्न गाह्रो भएपछि घर फर्किन् । उनमा सरकारीभन्दा निजी विद्यालय बढी आकर्षण थियो । उनले निजी विद्यालय पढाइदिन अनुरोध गरिन् । बुबाले नसक्ने बताए । काम गरेर भए पनि निजीमै पढ्ने अठोट गरिन् ।

लम्की बजारस्थित निजी विद्यालय सञ्चालकको घर बसेपछि पढ्न पाइने थाहा पाएर त्यहाँ गइन् । दुई वर्ष त्यहाँ बसिन् । लम्कीमा धेरै समय पढाउन नसक्ने अवस्था बुझेपछि उनी विद्यालय सञ्चालककै आफन्तको घर नवलपरासीको परासी बजार पुगिन् । परासीमा पनि निजी विद्यालय सञ्चालक भएकाले रीतालाई पढ्न सजिलो भयो । उनको काम गर्नलाई पहिलो सर्त हुन्थ्यो, निजी विद्यालय पढाइदिनुपर्ने । सोहीअनुसार उनले पढ्ने अवसर पाइन् । साँझ–बिहान मालिकको काम गरिदिने र दिउँसो पढ्ने । ‘घरमा पढ्न नपाइने भएकाले विद्यालयको खाजा समयमा पनि गृहकार्य गर्थें,’ उनले भनिन्, ‘मलाई जसरी पनि पढ्नु थियो । पढ्नकै लागि बाल्यकालभरि कमलरी भएँ ।’

उनले परासीस्थित एउटै मालिकको घरमा काम गरेर ५ देखि १० कक्षासम्म पढिन् । ११ र १२ अर्को मालिकका घर बसेर पढिन् । मिजासिली रीता सजिलै आफूले भनेको काममा मालिक–मालिक्नीलाई फकाउन सक्थिन् । उनले कहिल्यै पढाइ छुटाउन दिइनन् । एसएलसीपछि उनले स्टाफ नर्स पढ्ने लक्ष्य राखेकी थिइन् । ‘मालिकलाई पढाइदिनुपर्‍यो भनें, सुरुमा हुन्छ भन्नुभयो तर खर्च थाहा पाएपछि सकिँदैन भन्नुभयो । पढ्न नपाएकोमा साह्रै दु:खी भएँ,’ उनले भनिन्, ‘रहर लागेको विषय पढ्न नपाए पनि जे पाइन्छ त्यही पढें ।’

१२ उत्तीर्ण उनले कमलरी बस्न पाइनन् । कमलरी मुक्ति अभियान चलिरहेकाले उनी घर फर्किन् । निजी विद्यालयमा शिक्षण गर्दै घरबाट उनले अंग्रेजी र समाजशास्त्रमा बीए उत्तीर्ण गरिन् । अब डिग्री पढ्ने तयारीमा छन् ।

मधुवन नगरपालिका १ टरुवा बर्दियाकी गीता चौधरी ९ वर्षकी थिइन् । भर्खर चार कक्षा पढदै । घरमा कमलरी जाने कुरा चल्यो । गाउँकै जमिनदारकोमा उनी कमलरी भइन् । पढाइ नछाड्ने भनेपछि उनी पढदै काम गर्न पाउने भइन् । साँझ–बिहान काम गरेर विद्यालय जान्थिन् । दिउँसो विद्यालय जाँदा भने उनकी आमा राजकुमारीले काम गरिदिन्थिन् ।

दिनभर विद्यालयमै समय बित्ने भयो । साँझ–बिहान मालिकको घरमा काम गर्नुपर्‍यो । उनले पढ्ने समय नै पाउँदिनथिन् । राति अबेरसम्म बसेर गृहकार्य गर्थिन् । कहिलेकाहीँ विद्यालयमै गृहकार्य सक्थिन् । मालिकले कापी किनिदिन गाह्रो मान्थे । उनी विद्यालयमा परीक्षा गराएर बचेका कापीमा लेख्थिन् । अनेक दु:ख–कष्टका बाबजुद उनले कमलरी बस्दाबस्दै १० कक्षा पास गरिन् । ११ कक्षा पढ्न भने नेपालगन्जमा कमलरी बसिन् । दुई महिना मात्रै बसेका बेला २०६४ मा उनलाई कमलरी मुक्ति अभियानमा लागेका मुक्त कमलरी साथीले फिर्ता बोलाए । उनी घर फर्केर पढ्न थालिन् ।

घर आएपछि उनी आफैं पनि कमलरी मुक्ति अभियानमा लागिन् । पढदापढदै उनले साथी शिक्षकका रूपमा काम गरिन् । १२ कक्षा पढदा उनी कमलरी मुक्तिका लागि साझा मञ्चको जिल्ला अध्यक्ष भइन् । कमलरीको उद्धार र पुन:स्थापनामा सक्रिय भइन् । नेपाली विषय लिएर बीएड उत्तीर्ण गरिसकेकी छन् । अब एमएडको तयारीमा छन् ।

घरमा बुबाआमा छोरी पढेर जागिरे भएकोमा साह्रै खुसी छन् । छोरीलाई बाल्यकालमा कमलरी पठाएकामा गल्ती महसुस गरिएको छ । ‘पहिले घरमा राखेर पढाउन सकेनौं, आफंै मेहनत गरेर पढ्यौ, जागिर खायौ, अहिले पैसा माग्न लाज लाग्छ भन्नुहुन्छ,’ उनले भनिन्, ‘मैले आफैं बुबाआमालाई पैसा दिने गर्छु ।’ कमलरी बस्दा पढ्न सकिँदैन होला भनेर निराश गीता अहिले आत्मविश्वासी छन् । उनी अब आफ्नै क्षमतामा बाँच्न सकिनेमा विश्वस्त छिन् । बलियो इच्छाका साथ मेहनत गरे सफलता प्राप्त गर्न सकिने उनको अनुभव छ ।

दासताबाट मुक्ति पाएपछि उच्च शिक्षा हासिल गरी जीवनमा ठूलो परिवर्तन गर्न सक्ने यी केही प्रतिनिधिमूलक पात्र हुन् । ०५६ माघदेखि दाङको गोबरडिहास्थित खैरा गाउँबाट सुरु कमलरी मुक्ति आन्दोलन अहिले सफलतामा पुगेको छ । सुरुमा ३६ कमलरी मुक्त गरी विद्यालय पठाएकोमा अहिले २ हजार ९ सय ६३ नियमित विद्यालय गइरहेको मञ्चकी केन्द्रीय अध्यक्ष सुनिता चौधरीले जानकारी दिइन् । त्यसमध्ये पाँच जनाले स्नातकोत्तर अध्ययन गरिरहेका छन् । मञ्चका अनुसार हालसम्म पश्चिम तराईमा १२ हजार ८ सय ६९ कमलरीको उद्धार भइसकेको छ । उद्धार हुनेमा सबैभन्दा बढी दाङमा छन् भने कम बाँकेमा छन् ।

प्रकाशित : वैशाख ११, २०७५ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?