गुँड बनाउन चटारो

बच्चा कोरल्ने ठाउँ रोजीरोजी पाउने हुँदा चराका लागि नेपाली भूमि आकर्षित
मनोज पौडेल

कपिलवस्तु — लुम्बिनी उपवनको थाई मन्दिरनजिक रूखमा कटुस टाउके मुरलीचराले गुँड धमाधम लगाउँदै छ । यी चरीका जोडी रूखमा दिनभर सामसुम गरिरहेका देखिन्छ । बचेरा हुर्काउने झिँजाझिँजी र खरपातले गुँड बनाउन उनीहरू दिनभर व्यस्त छन् ।

गुँड बनाउन चटारो

चितवन निकुञ्जमा पनि स्वर्गचरीले गुँड बनाउन थालेको छ । उनीहरू दिनभर नजिकको वन बुट्यान चहारेर घुर र खरपात ओसार्छन् । अन्य गृष्मकालीन आगन्तुक चरा पनि बच्चा कोरल्न नेपाल पसिसकेका छन् । फेबु्रअरी अन्त्यदेखि आउन थालेका धेरै पाहुना चरा अब बच्चा कोरल्ने सुरमा छन् । ‘सुरुमा कटुसटाउके मुरली चरा आयो,’ वरिष्ठ चराविद् हेमसागर बरालले भने, ‘अहिलेसम्म ३७ भन्दा बढी प्रजातिका चरा नेपाल भित्रिसके ।’ बचेरा कोरल्ने राम्रो वातावरण र मौसम भएकाले यतै आएका हुन् । अबको साता १० दिनभित्र थप १०/१२ प्रजातिका चरा आउने चराविद्को अनुमान छ ।

यहाँ ५० प्रजातिका चरा बच्चा कोरल्न आउँछन् । यी आएर सबैभन्दा पहिला गुँड लगाउने ठाउँ, वातावरण, खानेकुरालगायत बुझेर बच्चा हुर्काउने ठाउँ रोज्छन् । यहाँ रूख, नदी–खोलाका किनार र खेतबारी चराको पहिलो रोजाइ हुन्छ । वसन्त ऋतुसँगै भारत, श्रीलंका, दक्षिण–पूर्वी एसियाका थाइल्यान्ड, म्यानमार र मलेसियाका विभिन्न ठाउँबाट चरा आएका हुन् । उनीहरू ३/४ दिनदेखि साता/दस दिन लगाएर नेपाली भूमि छिर्छन् । बच्चा हुर्काएर पुन: उतै बच्चासहित फर्कन्छन् । ‘सबैभन्दा ढिलो अफ्रिकी सबसहारन क्षेत्रबाट जुरे कोइली आउँछ,’ बरालले भने, ‘त्यो पनि अप्रिल अन्त्यदेखि मे पहिलो सातासम्म आई गुड बनाउन थालिहाल्छ ।’

‘नेपाल आएर चराले अब त गुँडका लागि ठाउँ खोजी गरिसके,’ अर्का चराविद् हठन चौधरीले भने, ‘रोजेको ठाउँमा खरपात बटुलेर गुँड बनाउन थाले ।’ जंगलमा नयाँ पालुवा र प्रशस्त चराका चिरबिर सुरु भइसकेका छन् । गाँजले सुनचरी र राजचरीले चितवन राष्ट्रिय निकुञ्ज र लुम्बिनी वन क्षेत्रमा गुँड लगाई फुल पार्न बसिसकेका छन् । चरालाई गुँड बनाउन ३ साताजस्तो लाग्ने उनले सुनाए ।

हिउँदमा उत्तरबाट नेपाल आएका चरा उतै फर्केपछि गृष्ममा दक्षिणबाट चरा आउने गर्छन् । रानी चरी, कुक्कु, कोइली, नीलपुछ्रे मुरली चरा, चित्रक पिट्टा, गाजले पिट्टा र लालचुच्चे ठेउवाले गुँड बनाउने ठाउँ हेरर चाँजोपाँजो मिलाउन थालेका छन् । यसपाला छिटो चरा आगमन सुरु भयो, चराविद् दिनेश गिरीले भने, ‘कोइलीकै १४ प्रजाति भित्रिसके ।’
नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ ले गुँड नबनाउने र अरूकोमै फुल पारेर बच्चा हुर्काउनसमेत अरूलाई नै सुम्पने स्वभावका हुन्छन् । अरू चराले आफ्ना बचेरासँगै कोइलीका बचेरा पनि हुर्काइदिन्छन् ।

‘वैशाख तेस्रो सातासम्म सबै चराले गुँड लगाइसक्छन्,’ चराविद् सोम जिसीले भने, ‘साउन दोस्रो सातासम्म बचेरा हुर्काइसक्छन् ।’ बच्चा हुर्काउन सानाले कम र ठूलाले बढी समय लिने सरिसृप विशेषज्ञ प्रो. करनबहादुर शाहले बताए ।

विदेशमा अहिले दिन र रात बराबरी हुने तर नेपालमा रातभन्दा दिन लामो हुने भएकाले बढी समय चर्न पाउने हुँदा यता आउने गरेको उनी बताउँछन् । बच्चा कोरल्ने ठाउँ चराले रोजीरोजी पाउने हुँदा पनि आकर्षित भएका हुन् ।

अनुकूल मौसम र खानाको खोजीमा बसाइँसराइ गर्ने क्रममा ऋतु परिवर्तनसँगै नेपाल आएका हुन् । यहाँका चितवन, बर्दिया, शुक्लाफाँटा, पर्सा र बाँके राष्ट्रिय निकुञ्जमा बच्चा कोरल्न आएका छन् । त्यस्तै कोसी टप्पु, शिवपुरी जंगल र अन्नपूर्ण संरक्षण क्षेत्र पनि चराका लागि उपयुक्त बासस्थान मानिएको छ ।

अधिकांश तराई, केहीले मध्य–पहाड तथा न्यून प्रजाति उच्च हिमाली भेगमा घुलमिल हुन्छन् । उनीहरू असोज–कात्तिकतिर फर्कन्छन् । नेपालमा मात्रै ८ सय ८७ प्रजातिका चरा पाइन्छ ।

प्रकाशित : वैशाख ११, २०७५ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?