३ सय परिवारलाई ३ धारा

परासी — नगरपालिका भन्नेबित्तिकै स्थानीयका न्यूनतम आवश्यकता, शिक्षा, स्वास्थ्य र खानेपानीको सुलभ उपलब्धता हुने बुझिन्छ । पश्चिम नवलपरासीको बर्दघाट सिमलटाँडीवासीलाई गाउँ नगरपालिका हुँदा खानेपानी मिल्ने, बिजुली बल्ने र विकासले गति लिने आशा लागेको थियो । तर उनीहरूको यो आशा आशामै सीमित भएको छ ।

३ सय परिवारलाई ३ धारा

पिउने पानीका लागि दिन बिताउनुपर्ने अवस्था छ । बर्दघाट १६ सिमलटाँडी र शीतल बस्तीमा अहिले खानेपानीको हाहाकार छ । ३ सय घर रहेको यो बस्तीमा २ सार्वजनिक र एउटा निजी धाराबाहेक अरू छैन । सार्वजनिकमा पानी आउने/नआउने कुनै ठेगान हुन्न । बिग्रिएमा महिनौं मर्मत नहुँदा थप समस्या पर्छ ।

एक ग्राग्री पानीका लागिसमेत घण्टौं कुनु पर्ने अवस्था भएपछि स्थानीय काकाकुल बनेको रीना गुरुङले बताइन् । खानेपानीजस्तो अत्यावश्यक वस्तुको चरम अभाव छ । एक ग्रागी पानीका लागि घण्टौं कुर्नुपरेपछि परिवारका एक जनाको काम पानी खेप्नमै बित्ने गरेको छ । सिमलटाँडी र शीतलबस्तीमा असारदेखि फागुनसम्म मात्र धारामा प्रशस्त पानी आए पनि सुख्खा मौसममा भूमिगत सतह घटेपछि धारामा समेत पानी आउन छाड्छ । गाउँमा रहेको धारामा पानी आउन छाडेपछि अहिले करिब १ घण्टा समय खर्चिएर खजुरा खोला तरेर सेखुवानी गाउँ एक गाग्रो पानीका लागि धानुपर्ने स्थानीयले बताए । पानी अभावले स्थानीय नुहाउन, कपडा धुन तथा बस्तुलाई खुवाउनसमेत खोला धाउनुपर्ने बाध्यता छ । पानीको भरपर्दो स्रोत नहुँदा तरकारी तथा अन्य खेती गर्नसमेत स्थानीयले पाएका छैनन् । खानेपानी हाहाकार हुँदा महिला बढी प्रभावित छन् ।

मगर, गुरुङ र मुस्लिम समुदाय बसोबास रहेको यस स्थानमा अधिकांश पुरुषले बाहिरी काम र महिलाले चुलोचौको गर्ने हुँदा पानीको जोहो गर्नु पनि महिलाकै काँधमा आउँछ । गाउँलेले घर निर्माण गर्ने बेलामा पानी प्रयोग गर्न प्रतिट्यांकर ४ हजारसम्म मूल्य तिरेर काम चलाउनुपरेको छ । स्थानीयले भूमिगत जलको प्रयोग गरेर बोरिङ गाडेर पानी निकाल्न सकेमा खानेपानीसँगै सिँचाइ पनि गर्न सकिने आशा गरेका छन् । जिल्ला खानेपानी डिभिजन कार्यालयले यसअघि शीतल बस्तीमा ३ हजार लिटर बराबरको खानेपानी ट्यांकी निर्माण गरे पनि ओभरहेडमा मोटरले पानी तान्न नसकेपछि स्थानीय थप चिन्तित बनेका छन् ।

नगरपालिका प्रमुख धीरज शर्माका अनुसार शीतल बस्तीमा पानीको अभाव रहेकाले तत्कालै योजना निर्माण गरेर अहिले काम भइरहेको छ । ‘पानी अभाव भएको कुरा सही हो, जहाँ समस्या त्यहाँ समाधान पनि हुने भएकाले अहिले नगरबाट शीतल बस्तीमा गुणस्तरीय पिउने पानीका लागि योजना निमार्णाधीन रहेकाले केही समयमै स्थानीयका घरघरमा पिउने पानीका धारा पुग्नेछन् ।’

प्रकाशित : वैशाख १३, २०७५ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?