विदेशिने बढेको बढ्यै

गाउँमा महिला, वृद्धवृद्धा र केटाकेटी मात्रै
उर्वर भूमि बाँझिँदै
गिरुप्रसाद भण्डारी

प्यूठान — जिल्ला प्रशासनमार्फत मेसिनले लेखेर राहदानी जारी गर्न थालेको ५ वर्ष भयो । कार्यालयको तथ्यांकअनुसार यस अवधिमा जिल्लाबाट झन्डै २० हजारले राहदानी लिए । धेरै युवा कामको खोजीमै राहदानी बनाएर विदेश गएका छन् । केही काम गर्दै शैक्षिक योग्यता बढाउन भन्दै परदेशिएका हुन् ।

विदेशिने बढेको बढ्यै

तथ्यांक हेर्दा राहदानी बनाएर तेस्रो मुलुक जानेको संख्या बर्सेनि बढेको बढ्यै छ । प्रशासनको तथ्यांकअनुसार ०६८/६९ मा ६ सय ५३, ०६९/७० मा १ हजार ६ सय २६, ०७१/७२ मा ६ हजार ६ सय ६६, ०७२/७३ मा २ हजार ९ सय ४९, ०७३/७४ मा ४ हजार ९ र ०७४/७५ को ७ महिनामा २ हजारले राहदानी लिएका छन् । भारत र तेस्रो मुलुक जानेले गर्दा जिल्लाका गाउँमा वृद्धवृद्धा र केटाकेटी मात्र घरमा भेटिन्छन् । पढेलेखेका पनि स्वदेशमै रोजगारी नपाइने, राजनीति अस्थिरतालगायत वितृष्णाले रोजगारीका लागि युवा विदेशिने क्रम बढ्दै गएको जिल्लाका जानकार बताउँछन् ।

स्थानीय तहको निर्वाचन भएर जनप्रतिधि आएपछि पनि राहदानी बनाउन आउनेको संख्यामा कुनै कमी नआएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर घिमिरेले बताए । ‘स्वदेशमै केही गर्न सकिन्छ भन्ने युवालाई अनुभूति दिलाउन सकिएको छैन,’ उनले भने, ‘धेरैजसो २० देखि ३० वर्ष उमेर समूहका युवा राहदानी बनाउन आउँछन् ।’ उनले यी युवालाई रोक्ने कार्यक्रम नल्याएसम्म समृद्धिको कुरा गरेर मात्र देश अघि नबढ्ने बताए । पछिल्लो समयमा राहदानी बनाउन आउने महिलाको संख्यामा समेत ह्वात्तै बढेको घिमिरेले बताए । ‘दैनिक प्रशासनमा नागरिकता बनाउने युवा प्रायले राहदानीको लागि फारम भर्छन्,’ उनले भने, ‘देखासिकीले पनि विदेशिने बढिरहेका छन् ।’ छिमेकीको छोराले विदेश गएर फुसले छाएको घरलाई जस्तापाताले छाएको देखेपछि अभिभावकले नै छोरा/छोरीलाई ऋण खोजेर विदेश पठाउने चलन बढ्दै गएको घिमिरेको अनुभव छ । जिल्लाबाट बर्सेनि ६ हजारको संख्यामा राहदानी बनाएर बाहिरी मुलुक र झन्डै ६०/७० हजार काम खोज्दै भारत जाँदा गाउँ सुनशान बन्दै गएको गैरसरकारी संस्था महासंघ जिल्ला अध्यक्ष रमेशकुमार श्रेष्ठले बताए । भारत जाने ५/७ महिनामा आउने जाने क्रम भइरहे पनि तेस्रो मुलुक जाने कम्तीमा ३ वर्ष स्वदेश नफर्कंदा गाउँका उर्वर भूमि खनजोत गर्ने जनशक्ति नभएकाले बाँझिँदै गएको छ ।

‘गाउँमा कार्यक्रम लिएर जाँदा महिला, केटाकेटी र बूढाबूढी मात्र भेटिन्छन्,’ उनले भने, ‘काम गर्ने युवा नहँुदा विकास निर्माणका योजनाहरू प्रभावकारी बन्न सकेका छैनन् ।’ ‘भोकालाई एक छाक खाना होइन जीउने जुक्ति सिकाउनुपर्छ’ भन्दै उत्पादनसँग जोडिएका कार्यक्रम लिएर गाउँ पुग्छौं, श्रेष्ठले भने, ‘काम गर्ने जनशक्ति नहुँदा समस्या भएको छ ।’

गाउँमा बस्नेले खेती गर्न छाडेर नेपालगन्ज र बर्दियाका बजारबाट आउने चामल किनेर खाने चलन बढ्दै गएको छ । पछिल्लो समय विदेशमा गएर २/४ लाख कमाउने र जिल्लाको व्यापारिक केन्द्र बिजुवार, बाग्दुला, जुम्रीतिर घर–घडेरी किन्ने ‘फेसन’ जस्तै भएको पत्रकार महासंघ जिल्ला शाखा उपाध्याक्ष एलबी थापा बताउँछन् । ‘पहिले एसएलसी दिएर भारत जाने चलन थियो’, उनले भने, ‘हिजोआज प्लस टु दिएर पासपोर्ट बनाउने चलन बढेको छ ।’

प्रकाशित : वैशाख १३, २०७५ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?