कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अधिकांश विद्यार्थी निजीबाट आए

अधिकांश नयाँ निजी विद्यालय छाडेर आउने छन्
माधव अर्याल

पाल्पा — शैक्षिक वर्षको सुरुवातमै रामपुर नगरपालिका ५ स्थित रामतुल्सी माविमा ३ सय ५० नयाँ विद्यार्थी भर्ना भए । तानसेन नगरपालिकाको जनता माविमा २ सय ७५ भर्ना भइसके । तानसेनकै देववाणीमा ९० विद्यार्थी नयाँ आए । तानसेन ९ दमकडा माविमा पनि ९० जना नै नयाँ थपिएका छन् । माथागढीको दिव्यज्योति मावि कसेनीमा पनि १ सय ५० भन्दा बढी भर्ना भइसकेका छन् ।

अधिकांश विद्यार्थी निजीबाट आए

यी केही विद्यालयमा विद्यार्थी भर्नाका उदाहरण हुन् । यीबाहेक रामपुरको दरैठाँटी मावि, गंगा माविलगायतमा विद्यार्थी भर्ना हुने क्रम बढेको छ । निजी विद्यालय छाडेर सामुदायिक भर्ना हुने केही वर्षयता लहर नै चलेको छ । कतिपय निजी विद्यालयले विभिन्न खाले भ्रम छरिदिँदा सामुदायिकमा भर्ना हुन नजाने समस्या पनि छ ।

‘विभिन्न खालका भ्रम फैलाइदिएपछि सिभिल इन्जिनियरिङमा कोटा नै पुगेको छैन,’ दमकडा माविका शिक्षक जीवन आचार्यले भने, ‘४८ जनाको कोटामा ३५ मात्र भर्ना भएका छन् ।’ निजी र सामुदायिकको चर्को प्रतिस्पर्धा छ । अब्बल सामुदायिकमा विद्यार्थीको चाप बढदो छ । कतिपय सामुदायिकमा अंग्रेजी माध्यमको गुणस्तरीय पढाइ हुने भएपछि विद्यार्थी सरकारीमा पढ्न गएका हुन् । जिल्लाका केही सरकारी विद्यालयमा बोर्डिङ छाडेर आउनेको हरेक वर्ष संख्या बढ्दो छ ।

रामपुरको बेझाडस्थित रामतुल्सी माविमा १ हजार ६ सय विद्यार्थी पुगे । १ हजार ३ सय ५० भर्ना भए । यीबाहेक अन्य प्राविधिक विषय पढाइ हुन्छ । प्रधानाध्यापक बालकृष्ण लम्सालका अनुसार निजी विद्यालय नै नभएको समयमा ४ सय विद्यार्थी भएको यस विद्यालयमा अहिले हात्तै बढेर १ हजार ६ सय पुगेको हो । सामुदायिक विद्यालय पनि अब्बल छन् भन्ने उदाहरण हो यो ।


‘विद्यालय वरिपरि ३/४ निजी विद्यालय छन्,’ प्रअ लम्सालले भने, ‘प्रत्येक वर्ष नयाँ बढेका बढ्यै छन् ।’ यसवर्ष ३ सय ५० नयाँ विद्यार्थी आउँदा उनी अचम्मित छन् । उनीहरू अधिकांश निजीबाट आएका हुन् । यहाँ हरेक वर्ष कम्तीमा ५० जना निजी छाडेर आएको उनले बताए । लेकको बस्तीबाट बसाइँसराइका साथै निजी विद्यालय अध्ययन गर्न आउँछन् ।


सीटीईभीटीअन्तर्गतको बाली विज्ञान पढाइ हुन्छ । यहाँ अध्ययन गर्न भनसुन गरेर आउने वातावरण बनेको छ । अंग्रेजी माध्यममा नर्सरीदेखि १० कक्षासम्म पढाइ हुन्छ । ‘विद्यालयलाई विश्वास गरेर पढ्न आउने हुन्,’ उनले भने । एसईई पासपछि कृषि विज्ञान पढाइ हुन्छ । यस्तै ११ र १२ मा विज्ञान पनि पढाइन्छ । सदरमुकाम तानसेनको जनता नमुना माविमा पनि १ हजार ८ सय विद्यार्थी छन् । नर्सरीदेखि कक्षा १० सम्म अंग्रेजी माध्यममा पढाइ हुन्छ । हरेक वर्ष कम्तीमा २ सयभन्दा बढी निजीबाट आउने गरेका हुन् । ‘विगतदेखि नै विद्यार्थी र अभिभावकले माया गरेको विद्यालय बनेको छ,’ प्रअ मेघराज पौडेलले भने, ‘निजी छाडेर आउनेको संख्या सयभन्दा बढी भयो ।’ तानसेनमा नाम चलेका निजी विद्यालय छाडेर कक्षा ८ र ९ मा आउने गर्छन् । ‘नेपाली र अंग्रेजी दुवै माध्यममा पढाइ हुन्छ,’ उनले भने । यस वर्ष कतिपय विद्यार्थी राख्न सक्ने अवस्था नभएर फर्काउनुपर्‍यो । भौतिक पूर्वाधार, शिक्षक संख्या कमीलगायतका कारण आएजति सबै भर्ना गर्न सकिँदैन ।


रामपुरको दरैठाँटी माविमा १ हजार विद्यार्थी छन् । तीन वर्षअघिसम्म ४ सय मात्र भएकामा अहिले संख्या थपिएको हो । नजिकका बोर्डिङ छाडेर यहाँ आउने हरेक वर्ष ५० जना हुन्छन् । कतिपय अझै भर्ना हुन बाँकी छन् । ‘विद्यार्थीले पढाइ राम्रो देख्यो र अभिभावकले विश्वास गर्‍यो भने हुँदोरहेछ,’ प्रअ सुन्दरप्रसाद देवकोटाले भने, ‘विद्यार्थी, अभिभावक र शिक्षकको सहयोगले विद्यालय सुध्रियो र संख्या पनि बढेको छ ।’ पछिल्लो एसईई नतिजाले पनि केही अब्बल सामुदायिक विद्यालयमा भर्ना हुन आउने विद्यार्थी संख्या बढेको हो । रामपुरको गंगा माविमा ७ सय विद्यार्थी छन् ।

नर्सरीदेखि कक्षा ८ सम्म अंग्रेजीबाट पढाइ थालेपछि निजी विद्यालयबाट समेत आकर्षण बढेको छ । ५ वर्षअघिसम्म ३ सय विद्यार्थी थिए । विद्यालयले नतिजामा सुधार गरेकाले आकर्षण बढेको प्रअ देवराज देवकोटाले बताए । विद्यार्थी र अभिभावकले विद्यालयलाई पत्याएकाले नै संख्या बढेको हो । ‘शैक्षिक वातावरण राम्रो गराउँदै लगेका छौं,’ उनले भने, ‘त्यसमाथि सबै विद्यार्थी र अभिभावकको विश्वास पनि जित्न सक्नुपर्ने रहेछ ।’ पश्चिममा भने थोरै विद्यार्थी भए पनि प्रभात माविको नतिजा हरेक वर्ष राम्रो छ । यहाँबाट शतप्रतिशत विद्यार्थी पास हुन्छन् ।


‘हाम्रो विद्यालयको कार्यक्षेत्र थोरै भए पनि पढाइ गुणस्तरीय छ,’ प्रअ रमेश भट्टराईले दाबी गरे, ‘त्यसैले सबैले विश्वास गरेको अवस्था छ ।’ जिल्ला प्रशासन, शिक्षा विकास तथा समन्वय इकाइ अधिकृत महेन्द्र सुवेदीले जिल्लाका केही विद्यालयमा विद्यार्थी संख्या र पढाइको गुणस्तर बढेकाले आकर्षण पनि भएको बताए । उनका अनुसार सामुदायिक विद्यालयमा पढाइको गुणस्तर बढदै गएकाले अभिभावकको आकर्षण बढेको छ । ‘शिक्षक, विद्यार्थी, अभिभावकको सम्बन्ध राम्रो भयो भने पढाइको गुणस्तर पनि सुध्रिन्छ भन्ने देखिएको छ,’ उनले भने, ‘त्यसैले प्रत्येक वर्ष भर्ना अभियानमा आकर्षण बढ्ने गरेको छ ।’

प्रकाशित : वैशाख २६, २०७५ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?