न्यायाधीश भेट्दा जिज्ञासाको ओइरो

सुरुमा बोल्न अकमकिएका सर्वसाधारण पछिबाट खुलेरै गफिए
माधव अर्याल

पाल्पा — रम्भा गाउँपालिका ३ का अध्यक्ष थमनबहादुर गाहा पहिलोपटक जनताको गुनासो सुन्न गाउँमै न्यायाधीश भेट्दा अचम्म परे । उनले यस्तो मौका अहिलेसम्म नजानेको र नदेखेको न्यायाधीशलाई नै सुनाए ।

न्यायाधीश भेट्दा जिज्ञासाको ओइरो

न्यायाधीशका विषयमा बोल्न हुन्न, मानहानि लाग्छ भन्ने बुझेका उनले प्रश्न राख्न पनि तर्सिएको उनले भने, ‘यसरी आफ्नै गाउँमा आएर जनताको कुरा सुन्दा त अचम्म लाग्यो ।’ सुरुमा बोल्न अकमक परेका उनी पछिबाट खुलेरै कुरा सके ।

रम्भा गाउँपालिकास्तरीय महिला सञ्जालकी अध्यक्ष कुविजा बस्याल पनि गाउँवासीसँग यसरी न्यायाधीश आएर जनताका गुनासा सुनेको देख्दा अचम्म परिन् । ‘यस्तो मौका अझ धेरैलाई बोलाएर दिनुपर्ने थियो,’ उनको सुझाव छ, ‘पहिले कहिल्यै यसरी न्यायाधीशलाई गाउँमै पाएका थिएनौं ।’ उनका अनुसार जनताले गाउँमै अदालत पाएको जस्तो महसुस भएको छ । अदालतले अदालती प्रक्रियाबारे जानकारी दिन रम्भा ३ पीपलडाँडामा सचेतना अभियान चलाएको हो ।

कानुनी ज्ञानका विषयमा जानकारी गराउन आयोजित ‘समुदायसमक्ष अदालत’ कार्यक्रमका सहभागीले दुर्गम गाउँ, बस्ती र पिछडिएको समुदायले न्याय खोज्ने अदालती प्रक्रिया झन्झटिलो रहेको गुनासो गरे । गाहा र बस्याल मात्र होइन कार्यक्रममा उपस्थित २५ भन्दा बढीले जिल्ला न्यायाधीश शंकरराज बरालसमक्ष अदालतका झन्झटिला प्रक्रिया र कानुनी ज्ञानबारे प्रश्न राखे । सुरुमा बोल्न डराएका उनीहरू न्यायाधीश बरालले ढुक्क भएर आफ्ना कुरा राख्न आग्रह गरेपछि हौसिएका थिए । विगतमा न्यायाधीशप्रति डर, त्रास रहेकाले यसलाई हटाउन गाउँका जनतासमक्ष आफैं सहभागी हुन आएको उनले जानकारी दिएपछि सहभागीले खुलेरै कुरा गरे ।

सहभागीले कानुनी ज्ञान नबुझ्दा मुद्दा सुरुदेखि अधिवक्ता मात्र होइन सरकारी वकिललाई समेत पैसा दिनुपरेको गुनासो गरे । पीडितहरू अदालतसम्म पुगे पनि त्यहाँ पुगेर आफ्ना कुरा राख्न नसक्दा झनै पीडामा पर्ने गरेको गुनासो उनीहरूको थियो । स्थानीयस्तरमा हुने समस्याका साथै अदालती झन्झटिला प्रक्रियाबारे खुलेर प्रश्न राखे । स्थानीय तहमा पुगेको अधिकार र कानुनी प्रक्रियाका विषयमा पनि उनीहरूले जिज्ञासा राखेका छन् ।

‘अदालतमा गयो भने धेरै पैसा लाग्छ, झन्झटिलो प्रक्रिया छ भन्ने भ्रम छ,’ रम्भा २ की टीकामाया चौहानले भनिन्, ‘यसरी गाउँमा आएर अदालतबारे जानकारी गराउँदा धेरै ज्ञान लिने मात्र होइन अचम्म लागेको छ ।’

अदालत टोली आफ्नै गाउँघरमा आएर न्याय लिन अदालतसम्म आउन आग्रह गरेपछि रम्भा गाउँपालिकाका विभिन्न वडाका स्थानीय उत्साहित भए । अदालतले प्रदान गर्ने सबै सेवा सुविधा र कानुनी ज्ञानबारे जानकारी दिन प्राय: सबै सेवा दिने कर्मचारीको टोली गाउँ पुगेको थियो । वडाध्यक्ष, न्याय समिति सदस्यलेसमेत न्यायाधीशसमक्ष खुलेर जिज्ञासा राखे । अदालतले गर्ने काम, मुद्दाको प्रक्रिया, अदालतले उपलब्ध गराउने नि:शुल्क सेवालगायत विषयमा न्यायाधीश बरालले जानकारी दिए । ‘अदालतले नि:शुल्क मात्र होइन, दोभाषेको समेत व्यवस्था गरेकाले निर्धक्क भएर न्याय लिन आउनुहोला,’ उनले थपे । अदालतका स्रेस्तेदार सुवर्ण खनालले जनतासँग निकट हुँदै जनतामा अदालतप्रतिको आस्था र विश्वास बढाउन जनताको घरदैलोमा आइपुगेको बताए ।

सर्वसाधारणले अझै पनि आफूहरू अदालत जान डराउने गरेको न्यायाधीशसमक्ष गुनासो गरे । न्यायको पहँुचमा पुगे पनि आर्थिक अभाव भए अदालतले वैतनिक वकिलको व्यवस्था गरेको छ ।

जिल्ला न्यायाधिवक्ता राजेश्वर अर्याल, सहायक जिल्ला न्यायाधिवक्ता विष्णुप्रसाद भट्टराईले अधिकार लिने क्रममा आउने न्यायिक समस्या समाधान गर्न न्यायालय आउनुपर्ने बताए ।

प्रकाशित : वैशाख २८, २०७५ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?